आजका वयस्क भोलिका ज्येष्ठ नागरिक | Khabarhub Khabarhub

आजका वयस्क भोलिका ज्येष्ठ नागरिक



आज १ अक्टोबर, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यो दिवस सन् १९९१ मा मनाउन थालिएको हो । विगत वर्षहरूमा विविध कार्यक्रमहरूका साथ मनाउने गरिएकोमा यस वर्ष कोभिड-१९ को महामारीको कारण जेष्ठ नागरिकहरूलाई भेला गराई कार्यक्रम गर्न सकिने अवस्था भएन ।

यससम्बन्धी प्रायः सबै कार्यक्रमहरू विद्युतीय माध्यमबाट आयोजन भएका छन् ।

अक्टुवर १ आम ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण दिन हो । यस सन्दर्भमा आआफ्नो घरमा रहनुभएका सबै ज्येष्ठ नागरिकहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु । घरमा हुनुभएका ज्येष्ठ नागरिकको उचित स्याहारसुसार र सम्मानका लागि उहाँहरूका परिवारजनमा हार्दिक अपिल पनि गर्दछु ।

संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १४ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पारित गरेको हो । जसअनुसार, संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ मा इन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को आरम्भ गरेको हो । नेपालले सन् १९९६ मा यो दिवस मनाउन थालेको हो । यस वर्ष हामीले तीसौँ दिवस मनाइरहेका छौँ ।

यस वर्ष ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारी : बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ ?’ भन्ने रहेको छ । विश्वव्यापीरूपमा ज्येष्ठ नागरिकसम्बन्धी तीन वटा दिवसहरू मनाइन्छन्- विश्व अल्जाइमर चेतना दिवस (२१ सेप्टेम्बर), अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) र ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस ( १५ जुन) ।

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हक उल्लेख गरिएको छ । उक्त धारामा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनिएको छ । यो संवैधानिक हक प्रचलनका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ जारी भएको छ । यस ऐनको प्रस्तावनामा ‘ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने; निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्ने तथा निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने’ कुरा लेखिएको छ ।

हामी आज जतिसुकै दन्तुरुस्त युवा भए पनि एउटा कालखण्डमा वृद्ध हुनै पर्छ भन्ने प्राकृतिक सत्य आत्मसात गर्न सक्यौँ भने आफ्नो घरमा ज्येष्ठ नागरिकलाई अपार सम्मान गर्न जान्ने छौँ ।

यस अतिरिक्त ऐनको दफा ३ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने, दफा ४ मा ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्ने र दफा ५ मा ज्येष्ठ नागरिकले मर्का परेमा उजुरी दिनसक्ने कानूनी व्यवस्था छ ।

दफा ६ मा ज्येष्ठ नागरिकले सम्पत्ति आफूखुसी गर्न पाउने, दफा १७ मा ज्येष्ठ नागरिक कल्याण कोष स्थापना हुनुपर्ने र दफा २५ मा ज्येष्ठ नागरिकलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यी संवैधानिक र कानूनी व्यवस्था हुबहु कार्यान्वयन हुनुपर्छ । यसका लागि हामीले बलियो ढङ्गले आवाज उठाउनुपर्छ ।

जीवन नयाँ भएर जन्मिन्छ र पुरानो भएर अस्ताउँछ । प्रकृतिको नियम यही हो । ज्येष्ठ नागरिक भनेको ज्ञान, सीप र अनुभवहरूको अमूल्य भण्डार हो । यसो भन्नुमा कुनै अत्युक्ति ठहरिने छैन । ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनकालमा कयौँ उकाली-ओराली पार गरी अमूल्य अनुभव हासिल गरेका हुन्छन् । ज्येष्ठ नागरिकले नै संसारको जीवनशैलीलाई निरन्तता दिइरहेका हुन्छन् ।

विश्व ब्रह्माण्डको सृष्टिको नियमअनुसार मानिस जन्मेपछि मर्नुपर्ने प्राणी हो । सृष्टिको यो नियम सबै प्राणीमा लागु हन्छ । हामी मानिस भएर जन्मियौँ । बाल्यावस्था, किशोरावस्था र युवावस्था हुँदै वृद्धावस्थामा पुग्छौँ । जन्मेको जमिन एक दिन छाडेर अनन्तमा विलीन हुन्छौँ । यस अर्थमा हामी सबैको जीवनकालको एउटा हिस्सा ज्येष्ठ नागरिकका रूपमा बित्छ ।

आजको वयस्क पुस्ताले आफ्नो घरका र समाजका ज्येष्ठ नागरिकको सम्मान गर्न सके आजको बाल्यपुस्ताले पनि सिक्छ र अनन्त भविष्यसम्म हस्तान्तरण हुँदै जान्छ । आज हामीले आत्मसात गर्नैपर्ने जडी कुरा यही हो ।

हामी आज जतिसुकै दन्तुरुस्त युवा भए पनि एउटा कालखण्डमा वृद्ध हुनै पर्छ भन्ने प्राकृतिक सत्य आत्मसात गर्न सक्यौँ भने आफ्नो घरमा ज्येष्ठ नागरिकलाई अपार सम्मान गर्न जान्ने छौँ । यही भावनाले हामीलाई वृद्ध हजुरबाआमा, आमाबुबा र आफ्नो समाजका सबै वृद्धवृद्धालाई सम्मान गर्न उत्प्रेरित गर्नेछ ।

‘मातृ देवो भवः, पितृ देवो भवः’ भन्ने हाम्रो परम्पराको मार्मिक छ । यसले हामीलाई हाम्रा अग्रजहरूको महत्व बुझाउँछ । सन्तान जन्मिँदा आमाबाबुको आँखामा जुन खुसी देखिएको हुन्छ, त्यसको आवश्यकता बुढेसकालमा झन् बढी हुन्छ । सन्तानले बुझ्नुपर्ने सत्य यही हो ।

हाम्रो धर्मले आमाबाबुको स्याहारसुसार र पालनपोषण गर भनेको छ । वृद्धवृद्धाहरू हाम्रा घरका देउता हुन् । यिनले नै हामीलाई जन्माए, अनेक कष्ट सहेर हुर्काए । यिनले हामीलाई पालनपोषण गरे, पढाए, बढाए । यो एउटा प्राकृतिक कर्ममात्रै होइन, खुसी भविष्यको अपेक्षा पनि हो ।

वर्तमान समयमा हामी नेपालीलाई पश्चिमा संस्कृतिको हावाले छोएका कारण आफ्नो संस्कार बिर्सिएको जस्तो देखिन थालेको छ । घरमा वृद्ध आमाबाबु एक्ला हुन थालेका छन् । युवाहरू एकल परिवार रुचाउन थालेका छन् । छोराबुहारी र नातिनातिना विदेशमा हुने र वृद्ध आमाबाबु स्वदेशमा एक्लै हुनेको संख्या निरन्तर बढ्दो क्रममा छ । हजुरबाआमा र नातिनातिना बीचको आत्मीयता दुर्लभ हुन थालेको छ ।

आमाबाबुलाई सम्झिने छोराबुहारी भए साता वा महिनामा एकपटक हैसियतअनुसार मोबाइल फोन वा ल्यापटपमा मुखामुख कुरासम्म हुन सक्छ । विदेशमा हुने छोराबुहारी आमाबाबुका लागि आर्थिक अनुदानका स्रोतमा सीमित हुन थालेका छन् । पारिवारिक निटकता र प्रेम कमजोर हुँदै गएको छ ।

फलस्वरूप ज्येष्ठ नागरिकहरूको जीवन निरस र उराठलाग्दो हुन थालेको छ । उनीहरू घरमै अपहेलित हुन थालेका छन् ।

आजको वयस्क पुस्ताले आफ्ना साना छोराछोरीलाई जसरी माया गरेको छ, त्यसरी नै हिजो हामीलाई हाम्रा आमाबाबुले गरेका थिए भन्ने कुरा आत्मसात गरे पनि काफी हुनेछ ।

ज्येष्ठ नागरिकहरूले पनि समयले ल्याएको परिवर्तन आत्मसात गर्न आवश्यक छ । हिजोको कुरा आज हुँदैन, आजको कुरा भोलि हुँदैन भन्ने बुभ्mनुपर्छ । समय गतिशील छ । समयअनुसार चल्न सिक्नुपर्छ । सिकाउने काम चाहिँ वयस्क सन्तानकै हो । वयस्क सन्तानले हाम्रा पुर्खाको गौरवगाथा भुल्नु हुँदैन ।

हामी पनि वृद्धावस्थामा पुग्छौँ र हाम्रा छोराछोरीबाट टाढा हुन सक्छौँ भन्ने कुरा आजै हृदयङ्गम गर्नुपर्छ । यर्थाथमा ज्येष्ठ नागरिक नै पुस्ता हस्तान्तरणका कडी हुन् । जसरी हिजोका युवा आजका ज्येष्ठ नागरिक हुन् । यही रितले निरन्तरता पाउने हो ।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ ले त ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्य रक्षाको बाटो नै बदल्न थालेको छ । शरीरको रोगप्रतिरोध क्षमता बढाउने सीप पनि ज्येष्ठ नागरिकमा हुन्छ । बेसार, अदुवा, टिमुर, ज्वानो, पिपला, गुर्जो, पारिजात, तुलसी आदिको महत्व हामीले हाम्रै पूर्वजबाट थाहा पाएका हौँ । यसैगरी भावी पुस्तामा हस्तान्तरण हुँदै जान्छ ।

आजको वयस्क पुस्ताले आफ्नो घरका र समाजका ज्येष्ठ नागरिकको सम्मान गर्न सके आजको बाल्यपुस्ताले पनि सिक्छ र अनन्त भविष्यसम्म हस्तान्तरण हुँदै जान्छ । आज हामीले आत्मसात गर्नैपर्ने जडी कुरा यही हो । आजको वयस्क पुस्ताले आफ्ना साना छोराछोरीलाई जसरी माया गरेको छ, त्यसरी नै हिजो हामीलाई हाम्रा आमाबाबुले गरेका थिए भन्ने कुरा आत्मसात गरे पनि काफी हुनेछ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना !

(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : ३१ बजे

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित

‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली– विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य

आज विश्व सहरीकरण दिवस

काठमाडौं– सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन– गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज

घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका