काठमाडौं – कोरोना भाइरसको महामारीले मुलुक नै आक्रान्त भइरहँदा प्रहरी नेतत्वलाई भने हतियारको मोह छाएको छ ।
फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध नभइरहँदा प्रहरी नेतृत्व भने हतियार खरिदमा अग्रसर भएको छ ।
हतियार खरिदका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएसँगै प्रहरी प्रधान कार्यालयले आर्थिक वर्षको अन्तिममा वाटर क्यानन, नौ एमएमको पेस्तोल र सटगन खरिदको तयारी गरेको हो।
भीडमाथि पानीको फोहोरा हान्न वाटर क्यानन किन्न लागेको प्रहरीले अश्रुग्यास र रबरका गोलीसमेत प्रहार गर्ने सटगन किन्न लागत मूल्यांकन सुरु गरेको छ ।
तर प्रहरीका लागि आवश्यक पर्ने अन्य न्यूनतम पूर्वाधारमा खासै ध्यान नदिकन हतियार खरिदमा जोड दिइएको भन्दै सरकारको आलोचना समेत भएको छ ।
पूर्वसुरक्षा अधिकारीहरुले सरकारले परिस्थितीअनुसार प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन् ।
प्रहरी कार्यलयहरुमा अझै पनि शौचालय, खानेपानी तथा अहिलेको महामारिकोबेला मास्क, पञ्जा जस्ता आधारभूत आवश्यकता नै पूरा नभइरहेको बताइरहँदा हतियार खरिदको निर्णय उपयुक्त नभएको भन्दै आलोचना सुरू भएको हो ।
प्रतिक्रिया