कोभिड–१९ नियन्त्रण : नेतृत्वको लिटमस परीक्षा | Khabarhub Khabarhub

कोभिड–१९ नियन्त्रण : नेतृत्वको लिटमस परीक्षा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गत महिना यो शताब्दीकै भयानक त्रासदी भएर फैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ सँग जोडिएको एउटा समाचार भाइरल भयो । ‘न्युजिल्याण्डकी प्रधानमन्त्री संसारमै सम्भवत सबैभन्दा प्रभावशाली राजनेता हुन् ।’

यो महामारीले मध्य जेठसम्ममा संसारका २०० भन्दा बढी राष्ट्रमा फैलिएर ३ लाख ७५ हजार व्यक्तिको ज्यान लिइसकेको छ । स्थानीय निकायदेखि केन्द्रीय सरकारसम्म, नगरप्रमुखदेखि सरकार प्रमुखसम्म र सामान्य क्लबदेखि विश्व स्वास्थ्य सङ्गठनसम्म संसारका सबै नेतृत्व पङ्क्तिमा रहेका नेता, कार्यकर्ता र सर्वसाधारण कोरोनाको रोकथाम र नियन्त्रण गर्ने कार्यमा जुटेका छन् । यस्तो विषम परिस्थितिसँग जुझ्ने कार्यमा हरेक नेताले आफ्नो योगदान गरेका छन् । यो पृष्ठभूमिमा भाइरल भएको समाचारले एउटा प्रश्न सिर्जना गर्छ–‘के त्यस्तो जादु गरिन् त ४८ लाख जनसङ्ख्या भएको टापु राष्ट्रकी ती प्रमुख कार्यकारीले ?’

सञ्चारमाध्यमहरूले लेखेका छन्– प्रधानमन्त्री ज्यासिन्डा आर्डेन्सले परिस्थितिको मिहिन आकलन गरिन् । उनले आफ्ना नागरिकको भित्री कष्ट र मर्म जरैदेखि बुझिन् । हरेकको दुःख र संकटको आर्तनादमा सहानुभूतिको लेप लगाइन् । जनताले उनको फेसबुकमार्फत गरिएको प्रत्यक्ष प्रसारणमा सरकार प्रमुखमात्र देखेनन्, काखको नानी स्याहार्दै गरेकी र पसिनाले लथपथ भएको लुगा लगाएकी ३९ वर्षीया राष्ट्रमाता पनि देखे ।

यो दृष्टान्तमा अध्येताहरूले राजनेतामा हुनुपर्ने एउटा विशेष चरित्र स्पष्ट देखे । डा. विश्वनाथ प्रेमले शब्द कुँदेको र शिशिर योगीले गाएको एक गीतमा यस्तो चरित्रको उल्लेख गरिएको छ । उक्त कालजयी गीतमा यस्तो नायकको खोजी गरिएको छ–

‘पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै सरी अरूको जो बुझ्छ त्रित्री मर्म’

यसरी आर्डेन्सको उदाहरणले डा. प्रेमले लेखेका शब्दले सर्वव्यापी र सर्वमान्य नेतृत्व कौशलको सिद्धान्त बोकेका रहेछन् भन्ने प्रमाणित गरेको छ ।

अहिलेको प्रलयकारी संक्रमणजस्तै सन् १९९७ मा थाइल्याण्डबाट सुरु भएको चरम आर्थिक संकटले विश्वव्यापी रूप लिएको थियो । खासगरी दक्षिणपूर्वी एशियाका मुलुकहरू यो चपेटामा नराम्ररी फसेका थिए । यो विषयलाई जोडेर ‘संकटमा नेतृत्व’ शीर्षकमा प्रवचन दिँदै भर्खरै सेवाबाट अवकाश लिएका फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसले एक प्रवचनमा भनेका थिए– ‘संकट भनेको नेताको दर्जा र हैसियत छुट्याउने एउटा उत्कृष्ट अवसर हो । यो यस्तो भट्टी हो जसले एउटा नेताको चरित्रलाई इस्पात बनाउँछ । संकटसँगको मुठभेटमा अल्लारे ठिटो र धैर्यवान पुरुष सर्लक्क छुट्टिन्छ ।’

रोमन साम्राज्यको पतन लेखेर ख्याति कमाएका इतिहासविद इडवार्ड गिबन (१७३७–१७९४) को एउटा अभिव्यक्ति यहाँ सान्दर्भिक हुन्छ । ‘समुद्रमा अकस्मात आएका आँधीबेहरी र तुफान सक्षम जहाज चालकका पक्षमा हुन्छ ।’

सम्भवत धेरै कम नेतागण या उनका अनुयायीले यो अति महत्वको विषय बुझेका होलान् । कुनै एउटा निर्दिष्ट गन्तव्य बनाएर हिँडेको पानीजहाज नचिताइएको आँधीबेहरी वा तुफानको भुमरीमा फस्यो भने सामान्य जहाज चालकले त्यो आपतकालीन स्थिति कसरी सामना गर्ला !

यहीँनिर फिलिपिन्सका पूर्व राष्ट्रपति रामोसले भनेको कुरा चरितार्थ हुन्छ । जुन चालकले जहाजलाई संकटको भुमरीबाट उद्धार गरी सकुशल किनारमा पुर्‍याउँछ त्यो चालक सक्षम श्रेणीमा गणना हुन्छ । यसका लागि आँधीबेहरीले ल्याएको वायुवेगको पहिचान गरी त्यही दिशामा जहाज लैजानु पर्ने हुन्छ ।

सक्षम चालकको कुशलताको अर्को पाटो ‘गन्तव्य परिवर्तन’ हो । तुफानको चपेटामा परेको थाहा पाउनासाथ चालकदलको प्रमुखले गन्तव्य परिवर्तन गर्ने निर्णय लिन सक्नुपर्छ । अब जहाजका यात्रुको सुरक्षित अवतरण नयाँ गन्तव्य हुन्छ र तुफानपूर्वको गन्तव्य गौण हुन जान्छ ।

स्पष्ट छ कि एकातिर कोरोना कहरमा आफ्ना नागरिकको जीवन र सुरक्षालाई गन्तव्य बनाउने सरकारप्रमुख वा अन्य नेताहरू ‘विश्वकै प्रभावशाली’ बनेर अखबारको शीर्ष समाचारमा उदाए । अर्कातिर केही नेताहरू भने गन्तव्य परिवर्तन गर्न नसकी वा आफ्नो राजनीतिक अभिष्टको शिकार भई गलत रणनीति अपनाएका कारण हजारौँ नागरिकको मृत्युवरण जोगाउन सकेनन् भनेर आलोचित भएका छन् ।

कतिले यसका कारण आफ्नो राजनीतिक पूँजी झार्दै बचेखुचेको लोकप्रियता पनि गुमाउँदै गएका छन् । यो दोस्रो खेमामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, स्पेनका सरकार प्रमुख पेड्रो सानचेज, इन्डोनेशियाका राष्ट्रपति जोको विदोदो, ब्राजिलका जाई बोल्सोनरो र नेपालका प्रधानमन्त्री केपी ओली पनि पर्दछन् ।

यसरी कोभिड–१९ को दूरगामी प्रभावबारे हृदयङ्गम नगरी सतही दृष्टि गर्नाले नियन्त्रणको लागि शीघ्र निर्णय नगर्नाले आज अमेरिका, स्पेन, इटाली, बेलायतजस्ता समृद्ध मुलुकहरू कोरोनाको कहालीलाग्दो चपेटमा परेका छन् । तालिका १ मा प्रशंसित र आलोचित नेतृत्व शैलीको झलक दिने केही मुलुकका विवरण प्रस्तुत गरिएको छ ।

सर्वाधिक चर्चाको विषय भएको न्युजिल्याण्डकी प्रधानमन्त्रीको नेतृत्वशैलीको चुरो शिशिरले गीतमा भनेको जस्तो नागरिकको मर्म बुझेर सोही अनुसारको कर्म गर्नुरहेको छ । उनका स्पष्ट, सिलसिला मिलेका तर्कहरू र सान्त्वना दिने सारगर्भित मन्तव्यमा सर्वसाधारणले आफू समाहित भएको पाए ।

आमसञ्चार विषयको औपचारिक अध्ययन गरेकी आर्डेन्सले आफ्नो क्षमताको भरपूर उपयोग गरिन् र जनता र राष्ट्रमा न्युनतम क्षति हुने दिशामा कदम चालेर विश्वव्यापी लोकप्रियता कमाइन् ।


जर्मनीकी चान्सलर डा. एन्जेला मर्केलले विज्ञान (क्वान्टम केमेस्ट्री) मा विद्यावारिधि गरेकी छिन् । उनले कोभिड–१९ सँग लड्ने रणनीति बनाउँदा यसै वैज्ञानिक पृष्ठभूमिको भरपूर उपयोग गरिन् ।

निर्जीव भए पनि सजीवको जस्तो विशेषता बोकेको कोरोना भाइरससँग जोडिएका विषयवस्तु नितान्त मौलिक र सूक्ष्मजीव विज्ञानको पछिल्लो अध्ययन अनुसन्धानसँग जोडिएका छन् । कतिपय सवालमा वैज्ञानिकहरू पनि निश्चिन्त हुन नसकेको स्थिति छ ।

खोपको आविष्कारमा सारा विश्व लागेको छ । यो विषयवस्तुको चुरो बुझेकी डा. मर्केलले आफ्नो राजनीतिलाई विज्ञानको अघि होचो बनाउने रणनीति लिइन् । यसकारण उनले सफलता हासिल गरिन् र जनतामाझ उनको लोकप्रियताको पारो अझै अकासियो ।

भियतनामजस्तो विकासशील देशले अपनाएको आंशिक लकडाउन तथा अन्य विशिष्ट पहलहरू भने सराहनीय छन् । उदार कम्युनिस्ट शासन पद्धति भएको मुलुक भएकोले त्यहाँ प्रतिबन्धका सीमाहरू मिच्ने काम भएनन् जसको परिणामस्वरूप अहिले भियतनामले लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । यसमा राजनीतिक नेतृत्वको अहम् भूमिका रहेको छ ।

आम जनसमुदायले पनि रोकथामको लागि गरिएको आह्वान गम्भीरतापूर्वक अनुशरण गरे । नजिकैको सिङ्गापुरले पनि यस्तै विशिष्ट नीति अवलम्बन गर्‍यो र कोभिड–१९ को ठूलो कहरबाट जोगिएको छ ।

भारतका प्रधानमन्त्रीले १ अरब ३७ करोड जनतालाई पूर्णबन्दीको स्थितिमा राखेको दुई महिनाभन्दा पनि बढी भएको छ । लोकतान्त्रिक मुलुक भएकाले यो कार्य चीन या भियतनाममा जस्तो सजिलो थिएन । उनले पूर्णबन्दीको न्वारान समेत गरी ‘जनता कर्फ्यू’ भनेर जनतालाई आश्वस्त पार्न सके । चौथोपटक गरिएको पूर्णबन्दीको ‘लकडाउन ४.०’ भनी नामकरण गरे । मोदीका यी कदमको प्रशंसा उनका अमेरिकी समकक्षीले समेत गरे ।

विधिको विडम्बना ! स्रोतसाधन र अर्थतन्त्रमा रोल नं १ कहिलिएको सम्पन्न मुलुक संयुक्त राज्य अमेरिका कोभिड–१९ त्रासदीको मारमा पर्ने मुलुकमा पनि पहिलो हुन पुगेको छ ।

कोरोना कहर सामिप्यको एउटा महत्वपूर्ण पाठ भनेको सबल नेतृत्व, प्रत्युपन्न मति र दूरदर्शी नीतिनिर्माण हरेक समस्यासँग जुझ्ने सबैभन्दा बलिया आधारहरू रहेछन् भन्ने प्रमाणित भएको छ । दोस्रो, स्वास्थ्य, कृषि उत्पादन, आपूर्ति व्यवस्था, रोजगारी, अनलाइन शिक्षण सिकाइ आदि कठिन परिस्थितिमा सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरू रहेछन् भन्ने हो ।

विज्ञहरूको राय अँगाल्ने र विज्ञानसम्मत निर्णय गर्ने राष्ट्रहरू यस महामारीबाट छिटो उम्किन सकेका वा उम्किने तरखरमा देखिएका छन् । यस प्रकरणमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प नराम्रोसँग चुके । अमेरिकाको सञ्चारमाध्यम सीएनएनले राष्ट्रपतिलाई लक्षित गरी यस्तोसम्म विवेचना गर्‍यो–‘राष्ट्रपति महोदय, यो समय कोरोनाको संक्रमणको जाँच गर्नेमात्र नभई नेतृत्वको परीक्षा लिने पनि हो ।’

रसायन विज्ञानको पढाइमा लिटमस परिक्षण भन्ने एक परम्परागत विधि छ । कुनै तरल पदार्थमा रातो वा निलो लिटमस कागतको टुक्रा डुबाउँदा परिवर्तन भएको रङबाट अम्ल वा क्षार छुटिन्छ । फिलिपिन्सका पूर्वराष्ट्रपतिले भनेको जस्तो ‘संकट’ को सामना भनेको नेताको लागि एक लिटमस परीक्षण हो ।
दुर्भाग्य ! अमेरिकाजस्तो शक्तिशाली राष्ट्रका राष्ट्राध्यक्ष पनि यो परीक्षणमा ‘क्षार’ को कित्तामा पुगेका छन् ।

कोरोना त्रासदीको अर्को शिकार स्पेन भएको छ । त्यहाँ हालसम्ममा २७ हजार सर्वसाधारणको मृत्यु भइसकेको छ । इरान र इटलीको बेहाल देखेको स्पेनले समस्यालाई कम आकलन गर्नु नै दुर्भाग्य भएको छ । त्यहाँका राष्ट्राध्यक्ष पेट्रो सानचेज अनिर्णयको बन्दी भएको र प्रतिकार्यका कदम चाल्न ढिलाइ गरेको कारणले यो क्षतिलाई स्पेनको पछिल्लो इतिहासमा एक नाटकीय कालरात्रिको रूपमा चित्रण गरिएको छ ।

नेपालको सन्दर्भमा इडवार्ड गिबनले भनेको जस्तो संकटमा राजनेताको गन्तव्य परिवर्तन भएको देखिएन । पूर्णबन्दीको सूचना पाएलगत्तै पूर्वप्रधानमन्मन्त्री झलनाथ खनालले आत्मसंस्मरण लेख्ने योजना सार्वजनिक गरे ।

नेपालको कायापलट गर्ने सपना देखेर जनयुद्धमा होमिएका नेकपाका अध्यक्ष प्रचण्डले पूर्णबन्दीको समय सदुपयोग भन्दै ‘आफ्नै निवास परिसरमा साइकल कुदाएको’ श्रव्यदृश्य सामग्री सार्वजनिक गरे ।

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लकडाउनको फुर्सद प्रयोग गर्न कप्युटरमा चेस खेल्ने गरेको अन्तर्वार्ता दिए । अहिलेलाई झट्ट सुन्दा ठीकै लागे पनि भोलिको पुस्ताले नेताको यस्तो कुरा पढ्दा नेतृत्वले उचित निर्णय लिन नसकेको नै हो भन्ने ठम्यायो भने उनीहरूलाई ग्लानि हुनेछ । यस्तो भए अदूरदर्शी व्यक्तिलाई नेता बनाएकोमा उनीहरूले आफ्ना पूर्खालाई धिक्कार्ने छन् ।

कोभिड–१९ को सन्दर्भमा नेपालको दुर्भाग्य हुनुपछिका विभिन्न कारकमा यी प्रतिनिधि दृष्टान्तहरू पर्दछन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को रोकथाम र प्रतिकार्यका लागि सम्प्रेषण गरेको दस्तावेज ‘कोभिड–१९ रणनीतिक पूर्वतयारी र प्रतिकार्य योजना’ होस् या विश्वव्यापी विपद वा महामारीको जोखिम न्युनीकरणका लागि तयार पारिएको ‘सेन्दाई फ्रेमवर्क’ होस्, यी दस्तावेजमा यस्तो अकल्पनीय र त्रासदपूर्ण समयमा नेता, पेशाविद, संस्था वा सरकारी निकायको के भूमिका हुन्छ भन्ने कुरा स्पष्ट लेखिएको छ ।

हाम्रा राज्य संयन्त्रहरू र नेताका सल्लाहकारहरूको पहुँच यस्ता रणनीतिक कागजातमा नभएको होइन तर समाजको अगुवाइ गर्ने बिल्ला भिरेका हामी सबै अर्कमण्यताको खोल ओडेर ‘निरोको बाँसुरी’ को सादृश्य मञ्चनमा लागेका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफू बिरामी अवस्थामै भारतका प्रधानमन्त्रीले आयोजना गरेको सार्क मुलुकहरूको बैठकमा सहभागी भए । चीनबाट विशेष जहाजमा विद्यार्थीहरू ल्याइए । यी केही कार्यलाई सकारात्मकरूपमा हेरिएको भए पनि मन्त्रालयका एक प्रवक्तालाई कोभिड–१९ को पछिल्लो जानकारी एकतर्फीरूपमा सम्प्रेषण गर्न लगाएर प्रधानमन्त्री लगायतको पार्टीको सर्वोच्च निकाय भने अध्यादेश ल्याउने, पार्टी फुटाउने, कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन बाँड्नेजस्ता भद्दा राजनीतिक अभिष्टका मार्गचित्र कोर्नमा नै अल्मलिएको आरोप लागेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । यो विश्व महाव्याधिको सामाजिक–आर्थिक र वातावरणीय असर अब छिट्टै देखिन थाल्नेछन् । कोभिड–१९ को ठूलो संकट टरिरहेको यो लाभको समयलाई नेतृत्वले सदुपयोग गर्नु पर्ने हो । विडम्बना ! नेतृत्व अझै पनि त्यो ठूलो संकटको बेवास्ता गरिरहेको छ ।

राजनीतिक परीक्षा शतप्रतिशत अंक ल्याएर उतीर्ण गर्नुपर्ने परीक्षा हो । त्यसमा पनि जनता र राष्ट्रले सारा विश्वको नै गन्तव्य परिवर्तन गर्न सक्ने त्रासदी खेपेको बेला परिस्थिति र जनताको ‘भित्री मर्म र चुरो कुरो’ बुझ्न नसक्नु राजनीतिक परीक्षामा शून्य अंक ल्याएर अनुत्तीर्ण हुनु हो भन्दा अतिशयोक्ति नहोला ।

कोरोना कहर सामिप्यको एउटा महत्वपूर्ण पाठ भनेको सबल नेतृत्व, प्रत्युपन्न मति र दूरदर्शी नीतिनिर्माण हरेक समस्यासँग जुझ्ने सबैभन्दा बलिया आधारहरू रहेछन् भन्ने प्रमाणित भएको छ । दोस्रो, स्वास्थ्य, कृषि उत्पादन, आपूर्ति व्यवस्था, रोजगारी, अनलाइन शिक्षण सिकाइ आदि कठिन परिस्थितिमा सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरू रहेछन् भन्ने हो ।

कोरोना कहरको कहालीलाग्दो वर्तमान अझै हाम्रासामु भएकाले नेतृत्वगणलाई सच्चिन र ग्रेस मार्क ल्याएरै भए पनि विश्वविद्यालयले निर्धारण गरेको उत्तीर्ण प्राप्तांक ल्याउने अवसर भने बाँकी नै छ भन्नुमा दुईमत नहोला ।

(डा. भुजु र कट्टेल रिसोर्सेस हिमालय फाउन्डेसनसँग आबद्ध छन् । यस्तै डा. खतिवडा र बजिमय नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग । प्रस्तुत विचारहरू लेखकहरूका निजी हुन् ।)

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  २ : ४७ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस