लकडाउनमा गाउँ फर्केकालाई वनका फलफूलले भुलायो « Khabarhub

लकडाउनमा गाउँ फर्केकालाई वनका फलफूलले भुलायो


२० जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन् ।

विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ । बालबालिकादेखि पाका उमेरका मानिसको चहलपहलले चाडपर्व आएझैँ भएको धवलागिरि गाउँपालिका–७ ताकमका नरनाथ आचार्यले बताए ।

‘कामविशेषले शहरबजार गएकाहरु गाउँमा आएका छन् । अहिले बन्दाबन्दीले गर्दा सबै घरमै छन्’, उनले भने, ‘काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन् ।’

पछिल्लो समय गाउँका बस्ती सुनसान, खेतबारी र बाटाघाटा झाडीमा परिणत भएका थिए । गोठाला र खेतालाका गीत सुन्न छोडिएको थियो । पँधेरामा पानी खाने र पोखरीमा पौडी खेल्ने बालबालिका थिएनन् ।

वनका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो चराचुरुङ्गीको आहारामा सीमित थिए । भुइँमा झरेर कुहिनुको विकल्प थिएन । कोरोनाले काफल, ऐसेलु, चुत्रो, तिजु, जानमान्द्रोको झ्याङमा लुकामारी गर्ने अवसर जुराएको ताकमका विनोद घर्तीको भनाइ छ ।

‘जङ्गलमा काफल ऐसेलु खान पाउँदा बाल्यकालको याद आइरहेको छ’, उनले भने, ‘साथीभाइसँग भेट भएको छ । कोरोनाको डर भए पनि गाउँको लामो बसाइँ रमाइलै भएको छ ।’

वर्षौंदेखि शहरमा अर्काको खटनपटन, प्रदूषण र कोलाहलमा व्यस्त दैनिकी गुजारेकाहरु आमाको प्रेमिल काखमा रमाउन पाएझैँ खुशी लागेको उनले बताए ।

वसन्त ऋतु प्राकृतिक हिसाबले रमाइलो र सुन्दर मानिन्छ । यही याममा जङ्गलमा धेरै प्रकृतिका फलफूल पाक्छन् । शहर बजारमा जङ्गली फलफूल चाख्न महँगो मूल्य तिर्नुपर्छ ।

गाउँमा फर्किएकाहरु रुखमै चढेर आफैँ टिपेर ताजा फलफूल खान पाएका छन् । किशोरदेखि युवा र पाका उमेरका मानिस घरायसी, खेतबारी र दाउरा घाँस काट्नुका साथै जङ्गली फलफूल खाएर लकडाउनको समय कटाइरहेका ताकमका सुमन केसीले बताए ।

बेनीमा अध्ययन गर्ने घर्ती र केसी लकडाउन भएयता गाउँमै छन् । विगतका वर्षमा गाउँघरमा दशैँ तिहारको समयमा मात्र चहलपहल हुन्थ्यो । भूकम्प र नाकाबन्दीको समयमा पनि गाउँमा धेरै मानिस पुगेका थिए । ‘अहिले ऐसेलु र काफल उपभोग हुन नसकेर भुइँमा झरेर कुहिनुपर्ने अवस्था छैन’, ताकमकी आरती आचार्यले भने, ‘दुःखमा सम्झिने गाउँ नै रहेछ ।’

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ३ : ३८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि