सहज होलान् त रसुवागढी र तातोपानी नाका ! | Khabarhub Khabarhub

सहज होलान् त रसुवागढी र तातोपानी नाका !


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही साता बुधबार अपराह्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चाकर्मीहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । मन्त्री लेखराज भट्ट निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी उपस्थित भए ।

मन्त्री ढिला हुनुको कारणबारे उनको सचिवालयका एक सदस्यसँग जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयबाट अचानक मिटिङका लागि खबर आएकोले त्यता जानु परेको बताए । ढिलो उपस्थित भए पनि कार्यक्रममा मन्त्री भट्टले एउटा खुसीको खबर सुनाए- केरुङ र तातोपानी नाका एक साताभित्र खुल्छन् र अवस्था सहज बन्छ ।

कोरोना भाइरस संक्रमण फैलिन थालेपछि चिनियाँ पक्षले गत माघ १५ गतेदेखि बन्द राखेको रसुवागढी (केरुङ) नाका असार २२ मा खुलेको थियो । एक जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमण देखिएपछि फेरि भदौ १६ मा बन्द भएको नाका गत साता बुधबार, असोज ७ गते, सीमित मात्रामा खुलेको थियो ।

फेरि केरुङ सडकमा चीनतर्फ पहिरो गएर आइतबार बिहानदेखि नाका बन्द भयो । नेपालको पहलमा दुई पक्षीय छलफलपछि बिहीबार चिनियाँ पक्षले पहिरो पन्छाएर नाका खुला गरेको हो । बिहीबारै केही गाडी नेपाल प्रवेश गरेका छन् ।

अन्तरक्रियामा मन्त्री भट्टले परराष्ट्र मन्त्रालयमा भएको छलफलअनुसार एक सातासम्ममा रसुवागढी र तातोपानी नाका पूर्ण क्षमतामा खुल्ने बताए । उनले यस विषयमा चिनियाँ पक्षसँग भएका छलफल सकारात्मक रहेको जानकारी गराए ।

आवश्यकताअनुसार सडक मर्मतसम्भार गर्न पनि सरकारको तयारी रहेको उनले जानकारी गराए । उनका अनुसार चिनियाँ पक्षले खोजेअनुसार नाकामा स्वास्थ्य प्रोटोकल कार्यान्वयन हुनेछ ।

रसुवागढी र तातोपानी नाकाबाट आउनुपर्ने कम्तीमा १२ सय कन्टेनर अड्किएको व्यापारीहरूको भनाइ छ । करिब नौ महिनादेखि अड्किएका ती कन्टेनर अहिलेको नियन्त्रित नाकाबाट पार भइसक्न अझै छ महिनासम्म लाग्नेछ । मन्त्री भट्टका अनुसार भने बढीमा आगामी साता भरिमा दुवै नाका सहज हुनेछन् ।

मन्त्री भट्टले लामो लकडाउनमा पनि आपूर्ति व्यवस्था सहज गर्न सकेको बताए । उनका अनुसार पेट्रोलियम पदार्थको अभाव हुन पाएन । अन्तर्राष्ट्रिय कारणले भाउ केही बढ्यो तर घटेको पनि छ । अहिलेको पेट्रोलियम पाइपलाइन लोथरसम्म विस्तार भएपछि भाउ घट्नेछ ।

दाल र तेलमा १५ देखि २० प्रतिशसम्म भाउ बढ्यो तर चामल घटेको छ । भारतले नियन्त्रण गरेकाले प्याजको भाउ बढेको हो तर भारत प्याज निर्यात गर्न तयार भएको छ ।

तरकारीमा भाउ केही बढेको मन्त्री भट्टले बताए । नेपाली किसानको उत्पादनको वितरण प्रणाली व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ थियो । वितरण प्रणाली व्यवस्थित नहुँदा कहिलेकाहीँ तरकारी र दूध खेर जाने गरेको उनले बताए ।

बजार अनुगमनमा सबै निकायहरू सक्रिय रहेको र आफू समेत लागेको मन्त्री भट्टले बताए । उनका अनुसार नेटवर्किङ व्यापार नियमन गर्ने तयारी भएको छ । निजी क्षेत्रका व्यवसायीका संस्थाहरूसँग छलफल र सहकार्यमा काम भइरहेको पनि मन्त्री भट्टले बताए ।

उनले निर्माण सामग्रीमा पनि गुणस्तर अनुगम भइरहेको र मापदण्ड नपुगेकोमा कारबाही भएको बताए । अनुगमन र कारबाहीमा धेरैजसो साना व्यवसायी पर्ने गरेको र ठूलाले पहुँचको भरमा उन्मुक्ति पाउने गरेको भन्ने आरोप मन्त्री भट्टले अस्वीकार गरे ।

उनले ठूलालाई कारबाही नगर्न शक्तिकेन्द्रबाट दबाब आउने गरेको भन्ने कुरा पनि अस्वीकार गरे । उनले भने, ‘मैले जिम्मेवारी सह्मालेको १० महिना भयो, एउटा पनि दबाब आएको छैन ।’

मन्त्री भट्टका अनुसार धान र गहुँमा तोकिएको न्युनतम समर्थन मूल्यले किसानलाई फाइदा भएको छ । उता उखुमा पनि धेरै किसानले भुक्तानी पाएका छन् । अहिले चार वटा चिनीमिलसँग समस्या छ । तिनका मालिकलाई उपस्थित गराउन गृह मन्त्रालयलाई पत्रचार भएको छ । खासगरी श्रीराम र लुम्बिनी चिनीमिलमा बढी समस्या छ ।

मन्त्री भट्टका अनुसार सरकारद्वारा सञ्चालित उद्योगहरूमा समस्या छ । उद्योगहरू रुघ्ण छन् । पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा एउटा टोलीले यस्ता उद्योगहरूको बारेमा अध्ययन गर्दैछ ।

कार्यक्रमम मन्त्री भट्टलाई सोधिएको एउटा प्रश्न थियो— कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटमा मन्त्रालय विभाजन गरेर मन्त्री थप्ने कुरा आएको छ, यो कुरा के हो ?

जवाफ मन्त्री भट्टले यसबारे आफूले पनि सञ्चार माध्यमबाटै थाहा पाएको बताए । उनले मन्त्रिपरिषदमा यस विषयमा छलफल नभएको र मन्त्रालय विभाजनसम्बन्धी विषय पार्टी र सरकारसँग सम्बन्धित हुने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : २१ बजे

स्काभेटर दुर्घटनाका घाइतेको हेलिकप्टरमा उद्धार

खलङ्गा– दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा

घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा !

काठमाडौं – एक मेडिकल सञ्‍चालकले सरकारी अस्पतालबाट भुक्तानी पाउन घुस

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा- पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको

विश्लेषक ‘फेल’ भएको देश….

धरानको ब्लाष्ट टाइम्स दैनिकमा तीन वर्ष काम गरेर सुरु भएको

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने