काठमाडौं– मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले सुदुरपश्चिम–११ ले जितेको छ ।
धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई पराजित गर्दै सुदुरपश्चिम– ११ ले उपाधि उचालेको हो । सुदुरपश्चिमले घरेलु दर्शकको साथ पाउँदा १–० गोल अन्तरले थ्रीस्टारलाई स्तब्ध पार्यो ।
आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा गोल गरे ।
सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम–११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।
उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । बलियो टोली थ्री स्टारले भने १० लाख १ रुपैयामा चित्त बुझाएको छ । सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया