काठमाडौं– नोबल कोरोना भाइरस (कोभिड १९) ले अहिलेसम्म विश्वका २ सयभन्दा बढी मुलुक प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण नेपाल लकडाउन भएको १० दिन भएको छ ।
लकडाउनले नेपाली जनजीवनको सबै क्षेत्र ठप्प छन् । यस्तो बेला दैनिक काम गरेर गुजारा चलाउने मानिसहरूमा झन् बढी असर परेको छन् ।
विश्वभर खेल गतिविधि पनि ठप्प छ । ठूला प्रतियोगिता रोकिएका छन् । नेपाली खेलकुद बन्द नहुने कुरै भएन । विश्व खेलकुदको नियमित तालिकामा परेको जस्तै असर नेपाली खेलको तालिकामा पनि परेको छ ।
नेपाल खेल व्यावसायिकतामा निकै पछाडि छ । नेपाली खेलाडीहरू यसको मर्कामा गर्ने गरेको जानकारहरू बताउँछन् । नेपालमा अन्य खेलभन्दा फूटबल बढी हुन्छ । राजधानीमा हुने ए, बी र सी डिभिजन लिगदेखि मोफसलका प्रतियोगिताहरू खेलाडीको आम्दानीका स्रोत हुन् ।
देशमा खेलगतिविधि रोकिँदा खेलाडीहरूमा यसको प्रत्यक्ष असर देखापरेको छ ।
दैनिक शारीरिक अभ्यास गर्नुपर्ने खेलाडीहरू घरमा थुनिएका छन् । मैदानमा भिडेर आर्जन गर्ने खेलाडीहरू घरमा निष्क्रिय बस्नु पर्दा आर्थिक समस्याले सताउने नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ बताउँछन् ।
खेलाडीहरू घरमा थन्किँदा उनीहरूको दिनचर्या मात्रै नभई परिवारमै असर गर्ने गुरुङ बताउँछन् । ‘यो समय निकै कठिन भएको छ । यसले खेलाडीहरूलाई धेरै असर गर्छ,’ गुरुङले भने, ‘अहिले घरमा बस्नु रोगबाट सुरक्षित रहनु हो तर आर्थिक रूपमा नेपाली फूटबलरहरूलाई पछिसम्म समस्या पर्छ ।’
नेपाली फूटबल टोलीका अनुभवी खेलाडी विक्रम लामा अहिलेको बाध्यात्मक अवस्थथाले खेलाडीमा असर गर्ने बताउँछन् ।
‘खेलाडीहरूलाई प्रत्यक्ष असर गर्छ । आर्थिक समस्या हुन थालेको छ । खेलाडी र क्लबबीच तीन–चार महिनाको मात्रै सम्झौता भइरहको छ,’ लामाले भने, ‘यसले नेपाली फूटबलको विकासमा असर गर्छ । हामीले खेलाडी जोगाउन सकेनौँ भने कसरी फूटबल अगाडि बढ्ला !’
कोरोनाको महामारी बढेसँगै युरोपका कतिपय क्लबहरूले आफ्ना खेलाडीको तलब कट्टा गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आएको छ ।
नेपालका अधिकांश ए डिभिजन लिग क्लबहरूले भने सम्झौता गरिसकेका छन् । अहिले अधिकांश फूटबल खेलाडीहरू अहिले बेरोजगारजस्तै छन् । नेपालका क्लबहरूले तीन–चार महिनाभन्दा बढी खेलाडी राख्न नसकेपछि खेलाडीले आर्थिक समस्या झेल्नु पर्ने जानकारहरू बताउँछन् ।
सामान्यतया क्लब र खेलाडीबीचको सम्झौता एक वर्षको हुन्थ्यो । अहिले सम्झौता घटेर केही महिनामा सिमित भएको छ । सम्झौताको अवधि घट्नु दुःखद भएको एक जानकार बताउँछन् ।
क्लबहरूसँग खेलाडीको वर्षभरिको सम्झौता गर्ने प्रणाली बलियो बनाउनु पर्नेमा खेलाडी लामा बताउँछन् ।
‘खेलक्षेत्र उकास्न खेलाडी राम्रो हुनु पर्छ, खेलाडी राम्रो हुन संघ र क्लबहरूले सहमतिका साथ मिलेर काम गर्नु पर्र्छ,’ लामा भन्छन्, ‘अहिलेको सिस्टम नै कमजोर छ ।’
पूर्वकप्तान गुरुङ फुटबलमा अधिकांश मध्यमवर्गीय परिवारका खेलाडी आउने भएकाले पनि समस्या हुने गरेको बताउँछन् । गुरुङ भन्छन्, ‘खेलाडीको आम्दानी खेल गतिविधि नै हो । खेल ठप्प भएपछि समस्या हुने भयो । त्यसै पनि धेरै नेपाली फूटबलरहरू मिडिल क्लासबाट आएका हुन्छन् त्यस्तो अवस्थामा घरमा बसेर कतिसम्म खान पुग्छ र ?’
लामो समय फूटबल खेल हुन नसके खेलाडी संकटामा पर्ने कुरा अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि स्वीकार्छन् ।
एन्फा आफैँसँग खेलाडीका लागि प्याकेज घोषणा गर्ने क्षमता पनि नभएको बतएका छन् । अध्यक्ष शेर्पा देश नै आर्थिक समस्याबाट ग्रुज्रिरहेकाले सरकारले नै केही राहतको प्याकेज दिनु पर्ने बताउँछन् ।
‘हो, हाम्रा खेलाडी आज कमाएर भोलि खाऊँ भन्ने पनि छन् । यसमा हामीले केही गर्न सक्ने अवस्था छैन्,’ अध्यक्ष शेर्पाले भने, ‘सरकारले कोरोना भाइरसका कारण निम्तिएको समस्यासँग जुध्न नयाँ आर्थिक निति ल्याउने भन्ने सुनेको छु । कुनै प्याकेज आयो भने हामी पनि फिफा एएफसी र राखेपसँग छलफल गरेर कुनै प्याकेज घोषणा गर्न सक्छौँ ।’
खेल नहुँदा क्लबले तलब दिन नसक्ने शेर्पा बताउँछन् । खेलाडीहरू भने एन्फाले क्लबसँग एक वर्षको सम्झौता अनिवार्य गराउन सके खेलाडीले आर्थिक समस्या भोग्नु नपर्ने बताउँछन् ।
‘खेलाडी र क्लबबीचको सम्झौता एन्फाले नियमन गर्न नसकेको मान्नु पर्छ । काम चलाउजस्तो मात्रै भयो । लामा भन्छन्, ‘यसले न खेलाडीको व्यक्तिगत विकास भयो न खेलको ।’
समस्याका बीच मैदान उत्रिँदा नतिजा राम्रो नआउने लामाको भनाइ छ । उनले भने, ‘व्यावसायिक बन्दै अगाडि बढ्नु पर्छ । मैदान उत्रिसकेपछि खेलाडी फ्रि भएर खेल्ने वातावरण बन्नु पर्छ । हामीले युरोप अमेरिकाको जस्तो सुविधा खोजेको होइन ।’
नेपालका शीर्ष डिभिजनका क्लबहरूले तीनदेखि चार महिनाको सम्झौता हुँदा महिनाको २०–२५ हजार देखि १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।
प्रतिक्रिया