न्यूयोर्क – हिमाली क्षेत्रको भेडी गोठालेको जनजीवनबारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘अ डे इन दि हिमालयन सेफर्ड’ले अमेरिकाको सिकागोमा प्रथम पुरस्कार जित्न सफल भएको छ ।
सिकागोमा गत अगष्ट २८ र २९ तारिखसम्म चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘अ डे इन दि हिमालयन सेफर्ड’ ले प्रथम पुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए ।
निर्णायक मण्डलद्वारा उक्त डकुमेण्ट्री सो फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै सो बापत प्रदान गरिने ‘अलदारी अवार्ड’ सहित उत्कृष्ट डकुमेन्टी फिल्म अवार्ड समेत गरी २ वटा प्रदान गरिएको छ ।
आयोजकले लसएन्जलसको एक फिल्म फेष्टिभलमा समेत आफनो वृत्तचित्र एक हप्तासम्म प्रदर्शन गर्न लागेको तामाङले जानकारी दिए ।
पत्रकारिता क्षेत्रमा समेत सक्रिय तामाङले र्निदेशनले गरेको वृत्तचित्र ‘अ डे इन दी लाइफ अफ अ हिमालयन सेफर्ड’ले अमेरिकाको विभिन्न फिल्म फेष्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जित्न सफल भएको छ ।
उनले धादिङ जिल्लाको रुबी भ्यालीभेगको भेडापालनलाई आधार बनाएर २० मिनेटको सर्ट फिल्म बनाएका हुन्।
यसअघि पनि उनको सर्ट फिल्मले अमेरिकाको न्युजर्सीमा भएको ‘नेवार्क सर्ट फिल्म’फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ जितेको छ । यस्तै, गत वर्ष २०१९ को अगस्टमा सम्पन्न भएको टोरेन्टो सर्ट फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म’ र ‘बेस्ट म्युजिक’ अवार्ड हात पारेको उक्त डकुमेण्ट्रीले अमेरिकाकै ओहायोमा २०१८ मार्चमा आयोजित ‘कोलोनी इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री’को फस्ट रनरअप पनि अवार्ड हात पारेको थियो ।
ट्रियोन इन्टरनेसनल फिल्म फेस्टिभल, सेट इन्टरनेशनल फिल्म फेष्टिबल लण्डन, हड्सन भ्याली फिल्म फेटिबल, न्यूयोर्क, कान्सस सिटी अण्डरग्राउन्ड फिल्म फेष्टिबल र अष्ट्रेलियन इन्डिपेन्डन इन्टरनेसनल फिल्म फेष्टिभललगायतमा उक्त वृत्तचित्र प्रदर्शन भैसकेको छ ।
२० मिनेटको उक्त सर्ट फिल्ममा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ, जो आफ्ना हजुरबुबा र बाबुको पदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् । कठिन भूगोल र मौसमको चुनौतीसंग कहिले मितेरी लगाउँदै र कहिले जुद्धै खरिमान आफ्ना भेडाको स्याहारसुसार गर्छन् । र, जति नै गाह्रो भए पनि आफ्नो पेशामा गौरव महसुस गर्छन् ।
उनले भेडापालनबाटै पत्नी, दुई छोरा र एक छोरीसहितको परिवारको जीविकोपार्जन गरिरहेका छन् । ‘उनी एक यस्ता बाबु हुन्, जो आफ्ना सन्तानले आफ्नै पदचिह्न पछ्याउलान् या अरू नै पेसा, व्यवसायमा आबद्ध होलान् भन्ने द्विविधामा छन्,’ निर्देशक तामाङले भने, ‘ पुर्खाको निशानी र सन्ततिको भावी बिहानीलाई संयोजन गर्न खोजिरहेका छन् , खरिमान ।’ उनले त्यहॉको थुप्रै खरिमानहरुको जीवनलाई डकुमेण्ट्रीमा न्याय गर्ने प्रयास गरेको बताए ।
निर्देशक तामाङ आफ्नो सर्ट फिल्मले पाएका अवार्डहरूमा गौरव गर्छन् र यसका माध्यमबाट हराउँदै गएको हिमाली भेगको पशुपालन व्यवसायको पक्षमा माहोल बनोस् भन्ने चाहन्छन् ।
‘तथापि, बढ्दो आधुनिकीकरणसँगै यो व्यवसाय असामान्य बन्दै गएको छ’। निर्देशक तामाङ भने, भेडागोठालाहरूका लागि केही राम्रो गर्न सकिएलाकी भन्नेमा आशा लागेको छ ।’
रुविभ्याली मुलकको संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि आधुनिक सुविधाहरूबाट वञ्चित छ । सोही परिवेशमा जन्मे, हुर्केका भएकाले पनि निर्देशक तामाङ आफ्नो फिल्मलाई जीवन्त बनाउन सफल छन् ।
संयोग त के भने बैभवशाली अमेरिकामासमेत आफ्नो प्रिय संस्कृतिको जगेर्ना गर्न संकल्पित उनका बाबु र हजुरबुबा पनि सोही क्षेत्रमा भेडापालनमा संलग्न थिए । फिल्मका माध्यमबाट नेपाली तामाङ समुदायको संस्कृति र परम्पराको सौन्दर्य विश्वसामु पुर्याउने तामाङको सोच छ ।
प्रतिक्रिया