३८ वर्षपछि पेशा फेरेका श्रेष्ठ कालिज पाल्दै « Khabarhub

३८ वर्षपछि पेशा फेरेका श्रेष्ठ कालिज पाल्दै



नवलपरासी– नवलपरासीपूर्व कावासोतीका ७३ वर्षीय मित्रलाल श्रेष्ठले पाडाको मासु काट्न छाडेको झण्डै ६ महिना भयो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले लकडाउन गरेपछि श्रेष्ठले पाडा काटेर बेच्ने पेशा छाडे ।

‘३८ वर्ष भन्दा बढी मैले पाडा काटेर बेचेँ’, श्रेष्ठले भने, ‘हिजोआज पाडा काट्ने व्यवसायबाट राम्रो आम्दानी छैन । श्रेष्ठका ३ छोरा छन् । तीन छोरामध्ये कान्छो अर्जुनकुमार श्रेष्ठ बैदेशिक रोजगारको शिलशिलामा लामो समय विदेश बसे ।

माइलो छोरा सशस्त्र प्रहरीमा छन् । जेठो छोरोले अहिले पनि मासु व्यवसाय गरिरहेका छन् ।

मित्रलाल श्रेष्ठ

पाडाको मासु बिक्रीबाट उबेला राम्रो कमाइ हुने गरेको उनी बताउँछन् । मासुको मूल्य त पर्ने नै भयो, त्यो सँगै छाला र हाडखोरको छुट्टै मूल्य । ‘तर हिजोआज न त छालाको मूल्य छ, न त हाडखोरको ?’ उनले भने । पहिले पहिले एउटै राँगाको छालालाई १६ सय रुपैयाँसम्म बिक्री गरे श्रेष्ठले । उनले हाडखोरलाई प्रतिकिलो १७ रुपैयाका दरले बिक्री गर्ने गर्थे । तर छाला उद्योग बन्द भएकाले बिक्री हुन छाडेको उनले बताए ।

हिजोआज हाड छालाको मूल्य नपर्ने हुँदा मासु मात्रै बेचेर कमाइ हुन छाड्यो । ३८ वर्षसम्म मासु काटेर बेच्दा उनलाई सन्तोष मिलेकै थियो । जिउँदो पाडा हेरेरै उनले यतिकिलो मासु हुन्छ भन्ने अड्कल लगाउन सक्छन् । अहिले उनी उमेरले पनि बृद्ध हुँदै गए । त्यसैले यो पेशाप्रति मन मर्दै गएको थियो ।

सात आठ वर्ष विदेश बसेर फर्किएपछि हालै उनको कान्छो छोरा अर्जुनले कृषि फर्म सञ्चालन गर्ने सोंचे । कावासोतीकै अर्का युवा दीपेशकुमार अर्यालसँग मिलेर ‘एकीकृत कृषि तथा पशुपंक्षी केन्द्र’ दर्ता गरे ।

आफ्नो घरबाट झण्डै १२ किलोमिटर उत्तर हुप्सेकोट गाउँपालिका ४ झाँतेमा २ विगाहा भन्दा बढी क्षेत्रफलको जग्गामा जंगली पंक्षी कालिज पाल्न थाले । २५ लाख भन्दा बढी लगानीमा सञ्चालन गरिएको फर्ममा हालसालै कालिजका डेढ सय चल्ला हाले । दुई चार वटा बाहेक अरु राम्रैसँग हुर्किए ।

कालिज अब बिक्री गर्ने तयारीको अवस्थामा पुग्न लागेको छ । पोथी कालिजबाट अण्डा कोरलेर बच्चा उत्पादन गर्ने सोंच उनीहरुको छ । प्रारम्भिक चरणमा भएकाले आम्दानी हुने गरी उत्पादन हुन थालेका छ्रैनन् । अण्डा कोरलेर बच्चा उत्पादन गरेपछि आम्दानी बढाउँदै लैजान सकिन्छ भन्नेमा उनीहरु ढुक्क छन् । तीनै छोराहरुको साथमा मित्रलाल कालिजसँगै रमाउन थालेका छन् ।

यो पंक्षीका बारेमा छोराहरुले गुगल, यूट्यूब हेरेर अध्ययन गर्ने गरेका छन् । तर मित्रलाल भने कालिजकाबारेमा धेरै कुरा बताउने भइसकेका छन् ।

नेपालमा रिङ्नेक, पोक्रास, लुईंचे, मुनाल, चिलिमे, डाँफे, चिर, मयुर जस्ता विभिन्न प्रजातिका कालिज पाइन्छन् । त्यसमध्ये एक हो, रिङनेक प्रजातिको कालिज । त्यहि कालिजको रेखदेख, दाना दिने काममा रमाइरहेका छन्, मित्रलाल । सिकाइकै प्रक्रियामा हो, तर गर्दै जाँदा यसबाट राम्रो हुन्छ भन्ने लागेको छ, मित्रलालले भने ।

हावापानी र प्राकृतिक बासस्थान भएकाले पनि यो ठाउँ कालिजका लागि उपयुक्त रहेको उनीहरुको ठम्याई छ । पहाडको खोँच, जंगलको छेउ । फर्मसँगै कहिल्यै पानी नसुक्ने झरनाखोलाको पानी । मित्रलालकाअनुसार यहाँ ब्यवसायिक रुपमा हाँसपालन पनि गर्न सकिने अवस्था छ ।

चार महिनाअघि पोखराबाट ल्याएको चल्ला बिक्री हुने अवस्थामा पुगेका छन् । बिक्री हुने अवस्थाको कालिज २ किलोसम्म हुन्छ । कालिज बिक्रीयोग्य भएपछि प्रतिगोटा ३ हजारदेखि ३५ सय रुपैयाँका दरले स्थानीय बजारमा नै खपत हुने गर्दछ । कालिज अहिले सबैभन्दा बढी रुचाइएको मासुमा पर्ने गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : १० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि