यस्तो छ 'सीसीएमसी'ले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना | Khabarhub Khabarhub

यस्तो छ ‘सीसीएमसी’ले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत योजना तयार पारेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानेबारे छलफल भएपछि समितिलाई योजनाबारे सघन छलफल गरेर मन्त्रिपरिषद्‍मा ल्याउने जिम्मा पनि दिइएको छ ।

विभिन्न ६ चरणमा ७० दिनमा लकडाउन खोल्ने गरि समितिले तयार पारेको योजना अहिले विभिन्न तहमा छलफलका क्रममा छ ।

सीसीएमसीले पछिल्लोपटक थपिएको जेठ ३२ सम्मको लकडाउन सकिएपछिका ७० दिनभित्र आंशिक र सम्पूर्णरुपमा लकडाउन खोल्ने गरी स्वरुप तयार पारेको छ ।

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तनको खाँचो रहेको सीसीएमसीको निष्कर्ष छ ।

सीएमसीले तयार पारेको योजनामा असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ ।

पहिलो चरणमा कृषि क्षेत्र खुकुलो बनाउने सीएमसीको कार्ययोजना छ । प्रस्तावअनुसार सुरक्षात्मक उपायहरू अपनाएर सामाजिक दूरी कायम गर्दै दूध, अन्नबाली, तरकारी फलफूलको बिक्री वितरण, बस्तुभाउ, सम्पूर्ण कृषिजन्य उत्पादन आंशिकरूपमा खुला गरिने छ ।

त्यस्तै दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउन दिइने सीएमसीको योजनामा छ ।

सुरुवाती (प्रथम) चरणमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा भने रोक नै लगाइने छ ।

सुरुवाती दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको मोडालिटीलाई दोस्रो चरणमा लैजानुपर्ने सीएमसीको निष्कर्ष छ ।

दोस्रो चरणमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्न सकिने मोडालिटी सीएमसीले तयार पारेको छ । उक्त चरणमा जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिइने सीएमसीको कार्ययोजनामा उल्लेख छ । धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस चरणमा पूर्णरूपमा बन्द गरिनेछ ।

तेस्रो चरणमा कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र, निजी सवारी साधन सञ्चालन गर्न सुरु गर्न सकिने सीएमसीले प्रस्ताव गरेको छ ।

सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गर्न सहज हुने सीएमसीले उल्लेख गरेको छ । तेस्रो चरणको कार्ययोजनामा बाह्यतर्फको हवाइ उडान र सार्वजनिक यातायात सेवा पनि सुरु गर्न सकिने सीएमसीले प्रस्ताव गरेको छ ।

तेस्रो चरणको कार्ययोजनाको अनुभवको आधारमा चौथो चरणको मोडालिटीमा जान सकिने सीएमसीको प्रस्ताव छ ।

चौथो चरणमा बैंक तथा वित्तीय संस्था, खेलकुदसँग सम्बन्धित संस्था, अस्पतालसँग सम्बन्धी सेवा, सूचना तथा सञ्चारसँग सम्बन्धित सेवाप्रदायक संस्था, कार्यालयहरू, फेन्सी पसल, व्युटिपार्लर, कपाल काट्ने केन्द्र सैलुन आदि खोल्न दिइने सीएमसीको योजनामा छ ।

विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू भने चौथो चरणको मोडालिटी सफल भइसकेपछि पाँचौं चरणमा मात्रै खोल्ने पाइने छ ।

घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम पनि चौंथो चरणको मोडालिटी सफलीभूत भइसकेपछि सुचारु गर्ने सीएमसीको प्रस्ताव छ । यद्यपि राष्ट्रिय गौरवका केही आयोजना अहिले पनि सूचारु नै छन् । कामदारहरू बाह्य सम्पर्कमा नपुगे पनि आन्तरिक काममा रोकावट छैन ।

सीएमसीले ‘लुज डाउन’को रणनीति अनुसार कोभिडको सङ्क्रमणको अवस्था हेरेर सुरुमा जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न प्रस्ताव गरेको छ ।

त्यसरी क्षेत्र छुट्टयाउँदा कोभिड–१९ को प्रकोप नियन्त्रण गर्न सजिलो हुने सीएमसीले अनुमान गरेको छ ।

जनजीवन र आर्थिक गतिविधीको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको मोडालिटी परिवर्तन गर्नुपर्ने सीएमसीको निष्कर्ष छ । राष्ट्रिय भण्डारणको वर्तमान अवस्था, आयातमुखी नेपाली अर्थतन्त्र, दैनिकी चलाउन अपर्याप्त राष्ट्रिय उत्पादन, वैदेशिक रोजगारीबाट ठूलो श्रमशक्ति फिर्ता हुने सम्भावना, खाद्य सङ्कट निम्तने यूएनको प्रक्षेपण, भारतले आयातमा नियन्त्रण गर्न सक्नेलगायतको मौजुदा अवस्था आकलन गर्दै सीएमसीले मोडालिटी हेरफेरको प्रस्ताव गरेको छ ।

सीएमसीले हालसम्मको कोरोनाभाइरस सङ्क्रमणको अवस्था र सङ्क्रमितहरूको सङ्ख्याको आधारमा दुई प्रकारका जिल्ला छुट्टयाएर मोडालिटी लागु गर्न पनि प्रस्ताव गरेको छ ।

चुनौतीको ६ आकलन

नेपाली सेना सम्मिलित सीएमसीले लकडाउन खुकुलो गर्दा आइपर्ने ६ बुँदामा चुनौती आकलन गरेको छ ।

सीएमसीले प्रक्षेपण गरेका चुनौती

–सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने

–भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरूको चाप बढ्ने, गैर नेपालीहरूको आवामगन बढेर सुरक्षा चुनौती थपिन सक्ने

–स्वास्थ्य क्षेत्रमा कामको चाप बढ्न जाने, स्वास्थ्य सामग्रीलगायत जनशक्तिमा कमी हुन जाने

–वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्कंदा तत्काल थप क्वारेन्टिनको व्यवस्था र रोजगारीलगायत खाद्य सामग्रीको आपूर्तिमा असर पर्ने

–मानिसको चहलपहल बढ्दै जाँदा संक्रमणको मात्रा बढ्न सक्ने, जनमानसमा त्रासको वातावरण सिर्जना हुने

–बढ्दो सङ्क्रमण र समुदाय स्तरमा समेत सङ्क्रमण फैलिएकाले ‘लुज डाउन’मा जाँदा कुनै पनि बेला भयावह स्थिति सिर्जना हुने

 

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ४६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका