विज्ञहरू भन्छन् : यति सुस्त पीसीआर परीक्षणले कोरोना रोकथाम हुँदैन | Khabarhub Khabarhub

विज्ञहरू भन्छन् : यति सुस्त पीसीआर परीक्षणले कोरोना रोकथाम हुँदैन


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस परीक्षणका लागि तीन महिनामा देशभरका विभिन्न स्थानमा आरटी पीसीआर (रिजर्भ ट्रान्स्क्रिप्सन–पोलिमरेज चेइन रियाक्सन) विधि सेवा विस्तार गरेको भने पनि विज्ञहरू भने परीक्षणको गति सुस्त रहेको बताउँछन् ।

उनीहरूका अनुसार कोरोना भाइरस संक्रमण भए नभएको थाहा पाउन पीसीआर विधिबाट परीक्षण अनिवार्य छ । आरडिटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मा भर परेर संक्रमण रोक्न सकिँदैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा माघ १३ गते सुरु भएको कोरोना भाइसरको परीक्षणको आरटी पीसीआर विधिको सेवा विस्तार अहिले टेकुसहित देशभरका १७ स्थानमा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेवा विस्तार भए पनि वैशाख २२ गते सम्ममा १३ हजार ६४० वटा नमूनामात्र आरटी पीसीआर विधिबाट परीक्षण गरिएको छ । तीमध्ये हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरटी–पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षणका लागि नमूना संकलन गरिँदै, फाइल तस्वीर

सोमबार देशभरका १७ प्रयोगशाला मध्ये ११ वटा प्रयोगशालामा २२५ वटा नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

सोमबार कोशी अस्पताल विराटनगरमा ६० वटा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा २७ वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ वटा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा १४ वटा, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा १४, वीर अस्पताल, काठमाडौंमा ११, काठमाडौं विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलमा ४ वटा, पाटन अस्पताल ललितपुरमा एउटा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा एउटा, भेरी अस्पताल नेपालगञ्जमा ५६ वटा र सेती प्रादेशिक अस्पतालमा १३, नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

यस्तै, सेती प्रादेशिक अस्पताल धनगढीमा ५८, भेरी अस्पताल नेपालगञ्जमा ४५, कोशी अस्पताल विराटनगरमा ३४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटा गरी १४४ वटा नमूनाको नजिता आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

स्वास्थ्य मन्त्रालयको यो तथ्यांक हेर्दा देशभर आरटी पीसीआर विधिबाट दैनिक मुश्किलले ४ सय नमूना परीक्षण भएको देखिन्छ ।

नेपालमा कोरोना परीक्षणको गति सुस्त भएको विज्ञहरू बताउँछन् ।

अमेरिकामा इबोला भाइरसको औषधि पत्ता लगाएका नेपाली जीवाणु वैज्ञानिक डा. सुदीप खड्काले नेपालमा भइरहेको कोरोना परीक्षणको गति सुस्त भएको बताए ।

‘नेपालमा अहिले पीसीआर विधिबाट भइरहेको कोरोना परीक्षणको अवस्था निकै सुस्त हो,’ डा. खड्काले खबरहबसँग भने, ‘यस्तै गतिमा परीक्षण हुने हो भने नेपालमा महामारी फैलिनुअघि संक्रमित कम देखिन्छन् ।’

कोरोना विशेष अस्पतालमा कार्यरत चिकित्सकहरू पनि अहिलेको अवस्थामा नेपालमा पीसिआर विधिबाट कोरोना परीक्षण निकै कम भएको बताउँछन् ।

‘नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण निकै कम भएको छ,’ टेकु अस्पतालका एक चिकित्सकले भने, ‘कोरोना संक्रमणको वास्तविक अवस्था बुझ्न पीसीआर विधिबाटै धेरै भन्दा धेरै गर्नुपर्छ ।’

संक्रमित पहिचान गर्न पीसीआर अनिवार्य

नेपालमा कोरोना भाइरसको आशंका गरिएका तथा कोरोना संक्रमित क्षेत्रका व्यक्तिहरूको परीक्षण र्‍यापिड डाइग्नोस्टि टेष्ट (आरडीटी) विधिबाट पनि गर्ने गरिएको छ ।

आरडीटीबाट सोमबार सम्ममा ५० हजार ८५५ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

आरडीटी किटमार्फत कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरिँदै, तस्वीर– रासस

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबार १ हजार ३८२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षणमा एण्टीबडी पोजेटिभ देखिएका व्यक्तिको फेरि पीसीआर विधिबाट परीक्षण गरेर आउने नतिजालाई आधिकरिक मान्ने गरेको छ ।

आरडीटी परीक्षणमा कोरोनाको एण्टीबडी पोजेटिभ देखिएको र पीसीआरमा रिपोर्ट नेगेटिभ आएका केही घटनाहरू पनि छन् ।

स्वास्थ्य मन्त्रालयले आरडीटी विधिबाट गरिने परीक्षणको नतिजा भने सार्वजनिक गर्ने गरेको छैन । आरडीटी विधिबाट परीक्षण गरेर सही नतिजा आउन नसक्ने जीवाणु वैज्ञानिक खड्का बताउँछन् ।

‘आरडीटी विधिबाट गरिएको परीक्षणमा संक्रमितको शरीरमा कोरोनाको एण्टीबडी बनिसकेको छैन भने त्यो व्यक्तिलाई कोरोना पोजेटिभ देखिने सम्भावना न्युन हुन्छ,’ डा. खड्काले भने, ‘कोरोना संक्रमितको शरीरमा एन्टिबडी उत्पादन हुन एक सातादेखि एक महिनासम्म पनि लाग्न सक्छ । त्यसैले, आरडीटी विधिबाट मात्र परीक्षण गर्दा संक्रमित व्यक्ति आफूमा कोरोना छैन भनेर खुलमखुला हिँड्न सक्छ र उसले समुदायमा संक्रमण फैलाउन सक्छ ।’

नेपालमा कोरोना संक्रमितहरूमा लक्षण नै नदेखिएकाले पनि आरडीटीबाट परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा कोरोना छैन भनेर यकिन गर्न नमिल्ने डा. खड्काको भनाइ छ ।

‘आरडीटी परीक्षणले कोरोनाको एण्टीबडीको अवस्था देखाउँछ, शरीरमा कोरोना भाइरस छ कि छैन भनेर पहिचान गर्दैन, पीसीआरले भाइरस छ कि छैन भनेर पहिचान गर्छ,’ डा. खड्काले भने, ‘नेपालमा आरडीटी भन्दा पीसीआर विधि कोरोना पहिचानको भरपर्दो उपाय हो ।’

डा. खड्काका अनुसार व्यक्तिमा कोरोना संक्रमण भएको दुई–तीन दिनमै पत्ता लगाउन पीसीआर विधिबाटै परीक्षण गर्नुपर्छ ।

यस्तै, कोरोना निको भइसकेका व्यक्तिलाई पनि पीसीआर विधिबाट परीक्षण गर्दामात्र अवस्था थाहा हुन्छ । आरडीटी विधिले संक्रमित निको भए, नभएको थाहा हुँदैन ।

आरडीटी विधिबाट मात्र कोरोना परीक्षण गरिएका व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने डा. खड्काको भनाइ छ ।

पोर्टेबल पीसीआर मेसिनमा कोरोना भाइरस परीक्षण गरिँदै

डा खड्काले भने, ‘कुनै गाउँ वा क्षेत्रमा कोरोना फैलिएको हुनसक्छ भनेर आरडीटी परीक्षण गर्दा एकजनामा मात्र पनि कोरोनाको एण्टीबडी पोजेटिभ देखियो भने त्यहाँ तुरुन्त पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।’

दक्षिण कोरियामा संक्रमण फैलिने बित्तिकै व्यापक परीक्षण गरिएकाले नै कोरियालाई कोरोना नियन्त्रणमा सफलता मिलेको डा. खड्काको बुझाइ छ । जापानमा कोरोना संक्रमण सुरुवाती चरणमा कम र पछि व्यापकरूपमा देखिएको र जापानलाई कोरोना नियन्त्रण गर्न सकस परेको डा. खड्का बताउँछन् ।

नेपालमा पनि कोरोना भाइरस फैलन नदिन पीसीआर विधिबाट परीक्षण व्यापक बनाउन डा. खड्काको सुझाव छ । उनका अनुसार आरडीटी विधि समुदायमा मनिटरिङ गर्नमात्र हो, व्यक्तिमा संक्रमण छ कि छैन भनेर यकिन गर्न होइन ।

टेकु अस्पतालका एक चिकित्सकका अनुसार नेपाल अहिले कोरोनाको बिरामी पहिचान गर्ने अभियानमा छ तर यसका लागि पीसीआर विधि नै आवश्यक पर्छ ।

नेपाल कोरोनाका संक्रमित पहिचान गर्ने क्रममा रहेकाले आरडीटी परीक्षण किटभन्दा पनि पीसीआर परीक्षण किट खरिदमा जोड दिनुपर्ने उनको तर्क छ ।

‘नेपालमा पीसीआर परीक्षणको किट कम छ तर सरकारले पीसिआरभन्दा बढी आरडीटी विधिको किट खरिदमा बढी जोड दिइरहेको छ,’ ती डाक्टरले भने, ‘संक्रमितको खोजीमा लागेको समयमा पीसीआर परीक्षण बढाउन जोड दिनुपर्छ ।’

जीवाणु वैज्ञानिक डा. खड्काका अनुसार लकडाउन खोल्ने समयमा भने जोखिम वा न्युन जोखिम क्षेत्र पहिचान गर्न आरडीटी विधिबाट समुदायमा परीक्षण गर्न सकिन्छ ।

‘आरडीटी विधिबाट सम्भावित संक्रमितको परीक्षण गरेर संक्रमित देखिएका ठाउँलाई लकडाउन गर्न र संक्रमित नदेखिएका क्षेत्रमा लकडाउन खोल्न सकिन्छ,’ डा. खड्काले भने, ‘लकडाउन खुला गरिएका स्थानमा फेरि एक वा दुई सातामा समुदायमा कोरोना परीक्षण गरेर मनिटरिङ गर्न सकिन्छ ।’

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ३७ बजे

जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गर्ने तयारी

डायलायसिस सेन्टर स्थापनामा एक करोड बढी सहयोग

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

म्याग्दीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छौँ,

प्रधानमन्त्रीले आज कांग्रेस नेताहरूसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा