डायलायसिस सेन्टर स्थापनामा एक करोड बढी सहयोग | Khabarhub Khabarhub

डायलायसिस सेन्टर स्थापनामा एक करोड बढी सहयोग


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलायसिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलायसिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।

तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाला इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले राससलाई जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलायसिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलायसिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा ६ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेसनलगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०–५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर छ । दमौली अस्पतालमा सात वटा उपकरणमार्फत मिर्गौला पीडितलाई सेवा दिइएको छ । यसअघि चारवटा उपकरणमात्रै सञ्चालन रहेकामा तीन वटा नयाँ उपकरण थप गरिएको छ ।

केन्द्रमा तीन वटा नयाँ उपकरण आएपछि पालो पर्खिएर बसेका २१ जनालाई समेत डायलायसिस सेवा दिन थालिएको केन्द्रका इञ्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।

उनले भने, ‘उपकरण थप नहुँदा सेवा दिन सक्ने अवस्था थिएन, तीन वटा नयाँ उपकरण आएपछि पालो कुरेका सबैलाई सेवा दिइएको छ । हाल केन्द्रबाट ५५ जनाले डायलायसिस सेवा लिइरहेका छन् ।’ पण्डितका अनुसार ४९ जनाले हप्ताको दुई पटक, पाँच जनाले हप्ताको तीन पटक र एक जनाले हप्ताको एक पटक डायलायसिस सेवा लिइरहेका छन् ।

विसं २०७२ साल मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट विसं २०८० कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ ।

युनिटमा हालसम्म दुई सय २८ जनाले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् ।

 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ७ : १२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि