नेकपा विवाद : राष्ट्रपति भेट्न प्रचण्ड-माधव र झलनाथ शीतल निवासमा | Khabarhub Khabarhub

नेकपा विवाद : राष्ट्रपति भेट्न प्रचण्ड-माधव र झलनाथ शीतल निवासमा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता शीतल निवास पुगेका छन् ।

प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्डसँगै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव कुमार नेपाल शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने बुझिएको छ ।

आजै अध्यक्षद्वयबीच निर्णायक वार्ता पनि हुँदैछ । स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुनेछ ।

आजको वार्ताले यसबारे निकास नदिए पार्टी विभाजनको चरणमा प्रवेश गर्ने स्रोतको भनाइ छ ।

जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका शीर्ष नेताहरू विवाद मिलाउन भन्दा पनि आ-आफ्नो शक्ति देखाउन क्रियाशिल हुँदा शनिबार बस्ने भनिएको दुई पक्षको बैठकसमेत हुन सकेन ।

प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आ-आफ्नो कित्ता स्पष्ट गर्न निर्देशन दिइसकेका छन् । उनीइतरको समूहले ओलीलाई कारबाही गर्नेसम्मको तयारी गरेको छ ।

शनिबार बिहान तथा साँझसम्म पटकपटक भएका प्रचण्ड-नेपाल समूहको बैठकले विधि र पद्धतिभन्दा बाहिर गएर प्रधानमन्त्रीले धम्क्याउन थालेको र युवाहरूलाई प्रदर्शनमा उतार्न थालेकाले अब स्थायी कमिटी बैठकलाई निरन्तरता दिएर आवश्यक निर्णय गर्ने तयारी गरेको छ ।

उक्त सूचना पाएलगत्तै प्रधानमन्त्री ओली अझ उत्तेजित बन्दै मन्त्रीहरूलाई अब आफू वारपारको चरणमा प्रवेश गर्न लागेको र त्यसमा को कुन समूहमा लाग्ने भनेर आ-आफ्नो बाटो स्पष्ट गर्न मन्त्रीलाई निर्देशन दिएका छन्।

शनिबार साँझ मन्त्रीहरूसँग भएको आकस्मिक बैठकमा ओलीले आफूविरूद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरूद्धसमेत महाअभियोग लगाउनेसम्मको तयारी भएपछि संसद् अधिवशेन अन्त्य गरिएको बताएका थिए ।

स्रोतकाअनुसार सहमति नभए प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णयअघि नै पार्टी फुटाउन सहज हुने गरीको राजनीतिक दलसम्बन्धी अध्यादेश अघि बढाउनेसम्मको तयारीमा छन् ।

त्यसैको तयारीस्वरूप ओलीले तीन दिनअघि यही असार १७ गते राति कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटसमेत गरेका छन् । उक्त भेटमा सत्तासमीकरणका विषयमा छलफल भएको हुन सक्ने भन्दै ओली इतरको समूह अझ सशंकित भएको छ ।

यद्यपि कांग्रेसले भने उक्त भेट सत्तासमीकरणका विषयमा नभइ संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा भएको प्रष्ट्याएको छ ।

स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तीमा ३० जना प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन्।

यसअघि ओली र दाहालबीच शुक्रबार साढे तीन घन्टा भएको छलफलमा दुबै जना आ-आफ्नो अडानमा कायम रहे पनि छलफल सकारात्मक रहेको बताइएको थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छाड्नै पर्ने दबाब दिएका छन् ।

ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

तर, मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिदै आएका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : ३८ बजे

आजको कार्टुन : बाघलाई अनुहार देखाउने ऐना चाहियो

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ

कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या