रंगशाला नै रणभूमि बनेपछि…! « Khabarhub

रंगशाला नै रणभूमि बनेपछि…!



काठमाडौं– सोमबार दिउँसो ३ बजेका लागि साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल शुरु भएको थियो ।

मनाङ र मछिन्द्रबीचको खेलमा दर्शक अहिलेसम्मकै सबैभन्दा धेरै थिए । यस सिजनको लिगमा मनाङ र मछिन्द्रबीचको खेल सबैको चासोको विषय थियो । कारण स्टार खेलाडीको जमघट रहेको मछिन्द्र र साविक विजेता मनाङले कस्तो खेल्लान भन्ने नै हो ।

तर, यसमा यो सिजनमा मनाङबाटै १२ जना खेलाडी मछिन्द्रमा आएकाले पनि यसलाई सबैले विषेश चासोका रुपमा लिएका थिए ।

आजको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले गोल गरे भने मछिन्द्रका लागि सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले गोल गरे । ९० मिनेट र थप गरिएको ५ मिनेटको समयमा २–२ गोलको बराबरीमा खेल सकियो ।

त्यतिमा केही शारीरिक खेल भएपनि दर्शकहरुका लागि भने खल्लो भएको थिएन । तर, म्याच रेफ्रि सर्वण कुमार तामाङले जब खेल सकिएको ‘हुइसिएल’ बजाए तब मैदानमा केही फरक ‘खेल’ शुरु भयो ।

जुन  लिग हेर्न आएका दर्शक, म्याच अफिसियल, खेलाडी र मिडियाकर्मी कसैले पनि अपेक्षा गरेका थिएनन् । खेल मैदानमा एकाएक खेलाडीबीच हात हालाहालको अवस्था देखियो ।

झगडाको शुरुवात मनाङका अनुभवी खेलाडी जगजित श्रेष्ठ र दीपक राईबाट भएको थियो । जगजितले खेल समापनको हुइसेल बजेपछि मछिन्द्रका दीपकमाथि मुक्का प्रहार गरेका थिए । जगजितले हिर्काएपछि किन हानेको भनेर फर्किएका दीपकलाई पुनः जगजितले हातपात गरेका थिए ।

जगजित तिनै खेलाडी हुन् जोे खेलको ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दीपक पनि खेलको ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

लगत्तै मछिन्द्रका विजय धिमाल मैदान प्रवेश गरेका थिए । त्यसपछि एक–एक गर्दै दुवै क्लबका खेलाडी र प्रतिनिधि समेत मैदानमा एक अर्काकाविरुद्ध खनिएका थिए ।

झगडा ठूलो हुने अवस्था आएपछि मैदान छेउबाट खेल हेरिरहेको नेपाल पुलिस र सुरक्षा गार्डहरु मैदान प्रवेश गरेका थिए । स्थिति नियन्त्रण गर्न प्रहरी र सुरक्षा गार्डलाई हम्मेहम्मे परेको थियो ।

म्याच रेफ्रि र असिस्टेन्ट रेफ्रिहरुलाई बचाउन पनि सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । दुवै क्लबका खेलाडीलाई प्रहरी ‘स्कटिङ’ मा ‘ड्रेसिङ’ रुमसम्म ल्याएका थिए ।

झगडा पुनः नब्यूतियोस् भनेर दुवै क्लबको ड्रेसिङ रुम अगाडि प्रहरी र सुरुक्षा गार्ड लाइनमै बस्दै क्लबका प्रतिनिधि र अफिसियललाई बाहिर पठाइएको थियो ।

टेलिभिजनमा लाइभ भइरहेको बलियो दुई टोलीबीचको खेल रणभूमिमा परिणत हुनु राम्रो संकेत होइन् । खेल मैदानको रणसंग्राम कसैले अपेक्षा गरेका पनि थिएनन् । सब्स्टीच्युट खेलाडीका रुपमा बेञ्चमा रहेका मनाङका गोलकिपर अशोक बरालले मैदान प्रवेश गरेपछि उनलाई तत्काल रातो कार्ड दिइएको थियो ।

रंगशालामा प्रहरीको प्रवेश हुनु हुँदैन । तर, नेपालमा जहाँ खेल हुन्छ त्यहाँ प्रहरीको सुरुक्षा फौज हुन्छ । एन्फाले परिचालन गरेको सुरुक्षा गार्डको टोली भएपनि त्यो अपर्याप्त हुँदा प्रहरी नै मैदान प्रवेश गरेका थिए ।

खेल पछि सञ्चारकर्मीसँग बोलेका मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले नहुनु पर्ने घटना घटेको बताए ।

‘मैदानमा जे भएको थियो । त्यो दुई जना खेलाडी (जगजित श्रेष्ठ र दिपक राई) थाहा छ । त्यहाँ जे हुन गयो । त्यो अनुसाशनहीन काम हो,’ प्रशिक्षक कटुवालले भने ।

तर, विपक्षी टोली मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने गैर जिम्मेवार अभिव्यक्ति दिए । उनले मैदानमा के भयो त्यो आफूले जानकारी नपाएको बताए । ‘मैले खासै देखिन । म ‘बल्क’ गरिरहेको थिए,’ प्रजापतिले भने ।

खेलमा फरक माहोल बनाएका जगजित श्रेष्ठ टोलीले खेल अगाडि गरेको ‘वामअप’ गरेका थिएनन् । तर, उनी खेलको ६७ औं मिनेटमा नाइजेरियन खेलाडी भिडाल लुइसको स्थानमा प्रवेश गरेका थिए ।

जगजित बारे प्रशिक्षकले भने,‘त्यस्तो, खासै केही होइन । उसको पाखुरामा दुखि रहेको थियो । हामीले परिवर्तन गर्दा मात्रै रेडि हुन भनेका हौं । गयो होला । आफ्नो केही कारणले मलाई थाहा भएन ।’

मछिन्द्रका प्रशिक्षक कटुवालले भने मनाङबाट केही खेलाडी आएको भएर पनि उनीहरु ‘एग्रेसिभ’ भएको हुन सक्ने अनुमान लगाए ।
‘मनाङबाट हाम्रोमा ६–७ जना खेलाडी आएका थिए,’ प्रशिक्षक कटुवालले भने,‘खेल अलि बढी एग्रेसिभ भयो । एग्रेसिभ हुनुपर्छ । तर, हानाहान गर्ने गरि होइन्, टेक्निकल एग्रेसिभ हुनुपर्छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले रिपोर्ट अनुसार दोषीलाई कारबाही गरिने बताएका छन् ।

‘घटना नहुनु पर्ने हो तर, भयो । यसमा रेफ्री, म्याच कमिस्नरको रिर्पोट नहेरी केही भन्न सकिँदैन । कमजोरी जसको हो उसलाई कारबाही हुन्छ,’ तुलाधरले भने ।

लिग कमिटि निर्देशक सञ्जीव मिश्रले पनि दोषीलाई कारबाही हुने बताए । दुई क्लबका खेलाडीबीचको झगडाले ४५ दिन लामो अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्ध सकाएर खेलमा फर्किएका अञ्जन बिष्ट भने ओझेलमा परेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ०० बजे

अर्थमन्त्रीले भने- तलब वृद्धि २१ प्रतिशत नै हो

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब वृद्धि २१

काठमाडौंबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौं– काठमाडौंबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी

टर्कीमा पर्यटक बस दुर्घटना : ८ जनाको मृत्यु, ३३ घाइते

इस्तानबुल– पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट