इन्द्रजात्रा : क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा « Khabarhub

इन्द्रजात्रा : क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ ।

इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण क्षमापूजा गरी फूलप्रसाद राष्ट्रपति कार्यालयमा लगिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

भाद्र शुक्ल चतुर्दशीदेखि आजसम्म धार्मिक कृत्य गरिने सबै मठमन्दिरमा क्षमापूजा गरी विधि पूरा गरेर फूलप्रसाद राष्ट्रपति कार्यालयमा लगिएको बताइएको छ ।

जात्राका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा देखाइने लाखे, दश अवतारलगायत नाच पनि यस वर्ष हुन सकेन ।

इन्द्रजात्रामा हनुमानढोका दरबार क्षेत्रमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा गरिने प्रचलन थियो । राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर एक हप्ताभन्दा लामो समय इन्द्रजात्रा पर्व मनाइन्थ्यो ।

भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोलटोलमा घुमाइने रथयात्रामा घरघरबाट पूजा सामग्री ल्याई चोकचोकमा पूजाराधना गरिन्थ्यो । गणेश, कुमारी र भैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगन गरिएपछि इन्द्रसहित तीनै देवताको पूजाराधना घरघरमै गरिएको छ ।

विसं १८२५ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्षसमेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाडपर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रासमेत आजदेखि मात्र शुरु भएको छ ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमापूजा गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । समितिले भदौ ४ गते इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्ने साइत राति ९ः२५ बजेको दिएको थियो ।

भदौ ३ गते काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : ३९ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा