प्रदेश ५ : यसरी कायम भयो भालुवाङ राजधानी | Khabarhub Khabarhub

प्रदेश ५ : यसरी कायम भयो भालुवाङ राजधानी



बुटवल- विपक्षी दल नेपाली कांग्रेसको असहमतिका बीच प्रदेश ५ को स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङ कायम भएको छ ।

मङ्गलबार मुख्यमन्त्री शंकर पोखरेलको सम्बोधनपछि भएको मतदानमा सरकारको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो । प्रदेशको नाम लुम्बिनी कायम भएको छ ।

प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको थियो । सोमबार नेपाली कांग्रेसका सांसदहरूको अवरोधका बीच भएको छलफल सकिएपछि सभामुख पूर्णबहादुर घर्तीले संशोधन प्रस्तावका लागि १८ घण्टा समय दिएका थिए ।

प्रदेश सरकारको प्रस्तावको पक्षमा नेकपाका सांसदहरूसहित विपक्षी दल कांग्रेसका केही सांसद र समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए । कांग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने विपक्षमा मतदान गरे । राष्ट्रिय जनमोर्चाका एक सांसद मतदानमा सहभागी भएनन् । प्रदेश सभामा जनमोर्चाका सांसद एक जनामात्र हुन् ।

नेपाली कांग्रेस संसदीय दलले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । कांग्रेसका मुख्य सचेतक सुरेन्द्र हमाल मतदानमा सहभागी भएनन् ।

प्रस्तावमा मतदान हुनुअघि सभामुख घर्तीले तीन वटा संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । तीन वटै प्रस्ताव बहुमतले अस्वीकृत भए । नेपाली कांगे्रसका तर्फबाट बुटवललाई नै राधानी कायम गर्न र सामाजवादी पार्टीका तर्फबाट नामका असहमति राखेर संशोधन दर्ता भएका थिए ।

यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले पहिलेका तीन अञ्चल लुम्बिनी, राप्ती र भेरीको केन्द्रबिन्दुको रूपमा रहेको राप्ती उपत्यकालाई राजधानी बनाउन उपयुक्त देखिएको बताए ।

उनले राप्ती उपत्यकाले प्रदेशभरका बासिन्दाको मनोविज्ञानको प्रतिनिधित्व गर्ने लुम्बिनीतर्फका बासिन्दाले पनि दुःख मान्नु नपर्ने बताए । उनले प्रदेशका १२ वटै जिल्लाका जनताको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताए ।

लुम्बिनीतिरका बासिन्दाको असन्तुष्टि सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवल–भैरहवा करिडोरलाई प्रदेशको वित्तीय राजधानीको रूपमा विकास गर्ने आश्वासन दिए । नयाँ राजधानीमा संरचनाहरू तयार नहुँदासम्म बुटवलबाटै काम हुने पनि बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको ‘भर्जिन ल्याण्ड’ मा व्यवस्थित र नमुना शहर बनाउने र राजधानीलाई सिङ्गो प्रदेशले गौरव गर्ने ठाउँ बनाउने बताए । आफ्नो ठाउँमा राजधानी लगेको भन्ने आरोपको खण्डन गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो गाउँबाट नयाँ राजधानी भालुवाङ पुग्न र बुटवल पुग्न बराबर समय लाग्ने बताए ।

प्रस्तावको विरोधमा उत्रिएका कांग्रेस सांसदहरूलाई जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले अस्थायी राजधानी तोक्ने तत्कालीन प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाले स्थायी राजधानी तोक्ने जिम्मा प्रदेश सभाको हुने विचार प्रकट गरेको स्मरण गराए ।

प्रदेश सरकारले राजधानी नामबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न १३ जना सांसद रहेको एक समिति गठन गरेको थियो । सांसद टोलीलाई सघाउन विज्ञ टोली पनि गठन भएको थियो ।

सरकारी प्रस्तावमाथि मङ्गलबार विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी, तोडफोड र होहल्लाका बीच छलफल भएको थियो ।

छलफलमा भाग लिने अधिकांश सदस्यहरूले सरकारी प्रस्तावको पक्षमा विचार प्रकट गरेका थिए । प्रस्तावप्रति असन्तुष्ट सत्तारुढ सांसदहरूले नाम र राजधानीसम्बन्धी सांसदको टोली र विज्ञ टोलीका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

नाराबाजी र होहल्लाका बीच सत्तारुढ नेकपाका र समाजवादी पार्टीका संसादहरूले छलफलमा भाग लिएका थिए ।

छलफल सकिएपछि सभामुख घर्तीले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए । उनले सांसदहरूको माग बमोजिम विज्ञ टोली र सांसदहरूको अध्ययन टोलीका प्रतिवेदन सार्वजनिक गरेको जानकारी गराउँदै सभामुखलाई हस्तान्तरण गरेका थिए ।

कुल ८७ जना सदस्य रहेको प्रदेश सभामा सत्तारुढ दल नेकपा एक्लैसँग प्रस्ताव पारित गर्न पर्याप्त मत थियो । प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुनुपर्ने व्यवस्था छ । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो ।

सोमबार पहिलो बैठक अवरुद्ध भएपछि सभामुख घर्तीले अपराह्न २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।

प्रदेश सरकारले नाम र राजधानी सम्बन्धी प्रस्ताव आइतबार प्रदेश सभामा दर्ता गराएको थियो ।

प्रदेशको नामका बारेमा धेरै विवाद नभए पनि राजधानीबारे सत्तारुढ दल नेकपाभित्रै चर्को मतभेद थियो । रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टी महासचिव विष्णु पौडेल बुटवललाई नै राजधानी कायम गर्न चाहन्थे । उनले निर्वाचनका समय मतदातालाई यस्तै आश्वासन दिएका थिए ।

दाङबाट प्रतिनिधि सभामा निर्वाचित पूर्वसभामुख कृष्णबहादुर महराले पनि प्रदेशको राजधानी दाङमै राख्ने आश्वासन दिएर मत मागेका थिए ।

दाङबाट प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पोखरेल स्थायी राजधानी दाङमा बनाउन चाहन्थे । उनले पनि मतदातालाई यस्तै आश्वासन दिएका थिए । नेकपाभित्रकै मतभेदका कारण प्रदेश ५ को नाम र स्थायी राजधानी टुङ्गो लाग्न सकेको थिएन ।

प्रदेश सभामा दुई तिहाइ मत भएर पनि आफ्नै पार्टीमा सहमति हुन सक्ने लक्षण नदेखिएपछि मुख्यमन्त्री पोखरेलले पार्टीको शीर्ष तहमा सहयोगको याचना गरेका थिए । निकै लामो रस्साकस्सीपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भालुवाङ क्षेत्रलाई राजधानी बनाउने सहमतिमा पुगेका थिए ।

प्रदेश ५ नाम र राजधानी निर्णय गर्ने पाँचौँ प्रदेश भएको छ । सबैभन्दा पहिले प्रदेश ६ ले नाम कर्णाली प्रदेश र राजधानी सुर्खेत हुने सर्वसम्मत निर्णय गरेको थियो ।

प्रदेश १ ले स्थायी राजधानी विराटनगर हुने निर्णय गरे पनि नामको टुङ्गो लगाउन सकेको छैन । प्रदेश १ मा पनि सत्तारुढ नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रदेश २ मा भने नाम र राजधानी दुवैमा चर्को विवाद छ । विवादकै कारण प्रदेश सरकारले प्रस्ताव तयार गर्न सकेको छैन । प्रदेश २ मा समाजवादी पार्टीको सरकार छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर