जिसस क्राइस्ट आफ्ना शिष्य तथा सहयोगीसँगै विभिन्न स्थानको भ्रमण गरिरहन्थे ।
एकपटक उनी आफ्ना केही अनुयायीका साथमा एउटा गाउँको बाटो भएर गइरहेका थिए । बाटोको एक स्थानमा १०–१२ वटा ठिकै आकारका खाडल खनिएका थिए ।
त्यसरी ठाउँठाउँमा खाडल खनिएको देख्दा जिससका शिष्यहरूमा कौतूहल जाग्यो ।
उनीहरूमा त्यहाँ खाडल खनिनुको कारण थाहा पाउन मन लाग्यो ।
मनको खुल्दुली मेटाउन जिससका एक शिष्यले उनलाई सोधे, ‘गुरुदेव, यो बाटोभरि ठाउँठाउँमा लगभग एकै आकार–प्रकारका खाडल खनिएको देखिन्छ । तर, यसरी यी खाडल खन्नुको कारणबारे भने केही पनि बुझ्न सकिएन । हजुरले नै यसको कारणबारे प्रस्ट पारिदिनुप¥यो ।’
आफ्ना शिष्यको जिज्ञासा सुनेपछि जिसस एकैछिन गम्भीर भए र भने, ‘कुनै एकजना मानिसले पानीको खोजीमा यहाँ यी खाल्डाहरू खनेको हो । एउटा खाल्डो खनेपछि उसले त्यसमा पानी भेटेन र पानी नभेटेपछि फेरि अर्को खाडल खन्यो ।
उसले कुनैमा पनि पानी भेट्न सकेन । त्यसपछि उसले अर्को फेरि अर्को गर्दै यसरी खाल्डैखाल्डा खन्यो ।
यो सिलसिला लामै समय चलिरह्यो । तैपनि, उसले पानी भेट्टाएन । अन्ततः थाकेपछि उसले यो सिलसिला त्यागिदियो । त्यो मानिसमा धैर्य थिएन । उसले यति धेरै खाल्डो खन्नमा बढी श्रम र समय लगायो ।
बुद्धिमानीपूर्वक साराका सारा समय र श्रम एउटै खाल्डो खन्नमा लगाएको भए उसले अवश्यै पानी पाउने थियो ।
त्यसैले मानिसले हरेक काम धैर्यपूर्वक बुद्धि लगाएर गर्नुपर्छ । मान्छेले कुनै काम मन लगाएर गर्छ र थोरै धैर्य पनि राख्छ भने उसले परिश्रमको मिठो फल अवश्य पाउनेछ ।’
प्रतिक्रिया