नेपाली चलचित्र: कलाको व्यापार कि विज्ञापन एजेन्ट ? | Khabarhub Khabarhub

नेपाली चलचित्र: कलाको व्यापार कि विज्ञापन एजेन्ट ?



काठमाडौं – केही महिनाअघि प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’ हेरेका दर्शकलाई पक्कै थाहा छ, चलचित्रमा निधारमा रातो टीकाभन्दा बढी एक भोड्काको ‘ब्राण्डिङ’ गरिएको थियो ।

चलचित्रमा जो-जसले आर्थिक सहायता गरेका थिए, ती सबैलाई स्पेस दिइएको थियो । यसरी बीचबीचमा विज्ञापन हेर्नुपर्दा दर्शक खिन्न भएका थिए । किनकि, हलसम्म दर्शक कुनै ब्राण्डको प्रचार हेर्न होइन, चलचित्र हेर्न जान्छन् ।

पछिल्लो समय धेरै चलचित्रहरु लोकल विज्ञापनका प्रचारक बढी र स्तरीय चलचित्र कम हुँदै गएका छन् । त्यसैले पनि दर्शकले नेपाली चलचित्र हेर्न छोडेका छन् ।

केही महिनाअघि प्रदर्शन गरिएको चलचित्र ‘दाल भात तरकारी’ मा जब मदिरा सेवन गर्नुपर्ने दृश्य आउँछ, तब अभिनयभन्दा बढी भोड्काका बोत्तलहरु देखाइन्छ । ब्राण्डको विज्ञापनकै लागि कति दृश्यहरु त जबरजस्ती राखिएको छ ।

त्यसो त हलिउड र बलिउडमा पनि चलचित्रमार्फत कुनै ‘ब्राण्ड’ को प्रचार गर्नु सामान्य मानिन्छ । तर, ती चलचित्र हेर्दा दर्शकले कुनै विज्ञापनको प्रचार गरिएको पत्तो पाउँदैनन् । नेपालमा भने विज्ञापन राख्नकै लागि कथा नै तोडमोड गर्ने गरिन्छ ।

चलचित्र ‘दाल भात तरकारी’ मा एक बैंकको विज्ञापन गर्न स्किृप्टमा नै केही संवाद थपिएको छ ।

यो त एउटा उदाहरण मात्र हो ।

नेपाली चलचित्रमा विज्ञापन राख्ने ‘ट्रेण्ड’ हौवाको भरमा मौलाउँदै गएको छ । यदि यसरी नै चलचित्रले विज्ञापनको प्रचार गर्दै जाने हो भने भोलिका दिनमा चलचित्रहरु चलचित्रजस्ता नबनेर विज्ञापन एजेन्ट हुन् कि भन्नेमा धेरैले आशंका गरेका छन् ।

चलचित्रले समाजका कथा बोलेको हुन्छ । यो माध्यमले समाजमा धेरै प्रभाव पार्छ ।

कलाको सशक्त माध्यम मानिने चलचित्रमा यसरी विज्ञापन देखाइन थालेको धेरै भएको छैन नेपालमा । दर्शकले हलमा पुगेर चलचित्र हेरिरहँदा पनि कुनै टेलिचलचित्र हेरेजस्तो महसूस गर्नुपर्ने अवस्था छ । त्यसमाथि देखाइने विज्ञापनले चलचित्रले मूल मर्मलाई नै उथलपुथल पारिदिएको हुन्छ । जबकि, चलचित्र ठूलो पर्दा हो । चलचित्रले समाजका कथा बोलेको हुन्छ । यो माध्यमले समाजमा धेरै प्रभाव पार्छ ।

कतिपय भन्छन् – हो, चलचित्र व्यवसाय पनि हो । तर व्यवसाय हो भन्दैमा कला हुँदै होइन भन्ने होइन । चलचित्र कुनै विज्ञापन एजेन्सीभन्दा धेरै बृहत् छ ।

नेपालमा चलचित्रमा कुनै बैंकबाट ऋण लिइएको देखाउने, सिमेन्टको विज्ञापन देखाउने, कुनै सामग्रीको प्रचार गरिने, मदिरा सेवन गर्नुपर्ने दृश्यमा प्रायोजित ब्राण्ड देखाउने प्रचलन पछिल्लो समय अझै झाँगिएको छ ।

त्यसो त कर्मसियल चलचित्रमा विश्वभर नै ‘ब्राण्ड’ को विज्ञापन गरिने प्रचलन छ । तर नेपालमा जस्तो सीमा पार गरेर प्रचार गर्ने चलन भने छैन । हलिउड/बलिउडका चलचित्रमा यदि कथाअनुसार कुनै कम्पनीको ब्राण्डिङ गर्न सकिने अवस्था छ भने ती दृश्यमा केही सेकेन्ड उक्त ‘प्रोडक्ट’ देखाइने गरिन्छ ।

यसरी ब्राण्डिङ छुट्याउन चलचित्र युनिटमा छुट्टै टिम हुने गर्छ । मानौं, केही मिनेट कारको दृश्य देखाउनुपर्ने छ भने त्यहाँ कुनै कार कम्पनीले आफ्नो कारको विज्ञापन गर्न सक्छ ।

कार कम्पनीले शूटिङका लागि कार पनि उपलब्ध गराउँछ । त्यसबापत आर्थिक सहयोग पनि गर्छ ।

नेपालमा भने चलचित्र निर्माण गर्न विज्ञापन खोज्दै हिँड्न थालिएको छ । अझ कति मेकरले त विज्ञापनदातालाई प्रशन्न पार्न स्किृप्ट नै परिवर्तन गरिदिन थालेका छन् ।

चलचित्रकर्मी निश्चल बस्नेत भन्छन्, ‘मैले मेरो चलचित्रको कथा नबिगारी विज्ञापन राख्ने गरेको छु, अरुले कसरी राख्नुहुन्छ, त्यसमा मैले खासै चासो दिएको छैन ।’

हुन त यो हलिउड र बलिउडमा पनि चलेको कुरा हो नेपालमा त अहिले मात्र यो ट्रेण्ड चलेको हो

उनी चलचित्रमा विज्ञापन राख्दा कथाको मर्म मर्न दिन नहुने धारणा राख्छन् । उनका अनुसार चलचित्रमा कथा नबिग्रने गरी कुनै उत्पादनहरुलाई सानो अंशमा राख्दा खासै फरक पर्दैन । चलचित्र पहिलो प्राथमिकता हो । यदि कथाअनुसार सुहाउँदो छ भने विज्ञापनलाई पनि स्पेस दिँदा खासै फरक पर्दैन ।

‘चलचित्रमा कुनै प्रोडक्ट राख्ने कुरा खासै नयाँ होइन । यो विश्वव्यापी छ । यदि तपाईं सोनी इन्टरटेनमेन्टको चलचित्र हेर्नुभयो भने चलचित्रमा सोनीकै सामान देखाइएको हुन्छ,’ निश्चल अगाडि थप्छन्, ‘यसको मतलब के हो भने चलचित्र सुहाउँदो गरी सबैले विज्ञापन राख्छन् ।’

चलचित्र ‘दुई रुपैयाँ’ मा ब्राण्ड पार्टनर ‘इ–सेवा’ को गीत नै प्रचारका लागि बनाइएको निश्चल स्वीकार्छन् । ‘विज्ञापनलाई चलचित्रमा स्पेस दिने कुरामा पनि कसले कति सहयोग गर्छ भन्नेमा पनि भर पर्छ,’ निश्चल भन्छन्, ‘विज्ञापनमा कलाकारलाई भन्दा उत्पादनलाई स्थान दिइएको हुन्छ । हो, मेकरले चलचित्र हो कि प्रोडक्ट हो भन्ने कुरा चाहिँ छुट्याउनुपर्छ ।’

‘बुलबुल’ निर्देशक विनोद पौडेलले पछिल्लो समय नेपाली चलचित्रमा विज्ञापन राख्ने नाममा जबरजस्ती दर्शकलाई विज्ञापन देखाउने प्रवृत्ति बढ्दै गएको बताउँछन् ।

‘हुन त यो हलिउड र बलिउडमा पनि चलेको कुरा हो नेपालमा त अहिले मात्र यो ट्रेण्ड चलेको हो,’ विनोद भन्छन्, ‘तर नेपालमा जबरजस्ती विज्ञापन देखाइने चलन बढेको छ, यो भनेको दर्शकलाई धोका दिनु हो ।’

उनको बुझाइमा नेपाली चलचित्रमा आजभोलि चाहिनेभन्दा बढी विज्ञापनलाई स्थान दिइन्छ । यसले चलचित्रको स्तरीयतामा त प्रश्न उठाउँछ नै । अर्कातिर दर्शकमाथि अन्याय पनि हुन्छ ।

नेपालमा पनि सिर्जनशील मेकरले चलचित्रमा विज्ञापनलाई दर्शकले सीधै थाहै नपाउने गरी राखेका हुन्छन् । नेपालमा भने विज्ञापनबाट आर्थिक लाभ हुन्छ भन्दैमा विज्ञापनमय चलचित्र बनाइन्छ

उनी भन्छन्, ‘चलचित्रमा विज्ञापन राख्दा निर्मातालाई त फाइदा होला तर विज्ञापन राख्नकै लागि कथा त्यही अनुसार बनाउनु भनेको दर्शकमाथिको ठूलो धोका हो ।’

‘दर्शक त हलसम्म चलचित्र हेर्न जानुहुन्छ नि, विज्ञापन हेर्न जाने होइन,’ विनोद भन्छन् ।

त्यसो त नेपालमा पनि सिर्जनशील मेकरले चलचित्रमा विज्ञापनलाई दर्शकले सीधै थाहै नपाउने गरी राखेका हुन्छन् । नेपालमा भने विज्ञापनबाट आर्थिक लाभ हुन्छ भन्दैमा विज्ञापनमय चलचित्र बनाइन्छ । निर्देशक पौडेलले भनेझैँ दर्शक पक्कै पनि विज्ञापन हेर्न हल धाउने होइनन् ।

अर्का चलचित्रमेकर दिनेश राउतको बुझाइ पनि यस्तै छ । उनले पनि चलचित्रलाई विज्ञापनको माध्यम बनाउन नहुने तर्क राख्छन् । उनी भन्छन्, ‘कुनै पनि ब्राण्ड चलचित्रसँग हातेमालो गर्न आउनु गलत होइन ।’

तर, आजभोलि धेरै चलचित्रमा चलचित्रको कथा एकातिर र विज्ञापनको कन्टेन्ट अर्कोतिर हुँदै जाँदा चलचित्र नभएर कुनै ‘ब्राण्ड’ को विज्ञापन हेरिरहेको अनुभव राउतको पनि छ ।

‘चलचित्र पनि आफैमा एउटा उत्पादन हो, कुनै ब्राण्डले सहयोग गर्छ भने त्यो नराम्रो होइन, तर त्यसलाई कलामार्फत देखाउनुपर्‍यो,’ राउत थप्छन्, ‘आजभोलि भने धेरै चलचित्रमा जबरजस्ती विज्ञापन राखेको धेरै देखिन्छ, यसले हाम्रो उद्योगलाई हानी गर्छ ।’

निर्देशक राउतका अनुसार चलचित्रमा विज्ञापन कसरी राख्ने भन्नेमा मेकरले ध्यान पुर्‍याउनैपर्छ ।

नेपाली चलचित्र यसै पनि कमजोर भएका कारण घरेलु बजारमै ओझेलमा परिरहेका अवस्थामा विज्ञापन हावी हुँदा यी चलचित्रले आफ्नो स्तरीयता र दर्शकको साथ झनै गुमाउने चलचित्रकर्मीको बुझाइ छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ४ : १७ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्