योगेश भट्टराईको अस्ट्रेलिया यात्रा : भ्रमण वर्षको प्रचार कति उचित ? | Khabarhub Khabarhub

योगेश भट्टराईको अस्ट्रेलिया यात्रा : भ्रमण वर्षको प्रचार कति उचित ?


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने भनेर यसअघि नै घोषणा गरिसकेको थियो । जनवरी १ (पुस १६ गते) काठमाडौंमा एक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको औपचारिक उद्घाटन पनि भइसकेको छ ।

२० लाख पर्यटक भित्र्याउने भनेर घोषणा गरिएको भ्रमण वर्ष सफल बनाउन बढीभन्दा बढी विदेशी नागरिकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु अहिलेका लागि सबैभन्दा ठूलो चुनौती हो ।

तर, अन्तर्राष्ट्रियस्तरमा भ्रमण वर्षको औपचारिक शुरुवात गर्ने भनेर सोमबार अस्ट्रेलियाको सिड्नीमा गरिएको कार्यक्रमले भने सकरात्मक भन्दा नकरात्मक टिप्पणीहरु बढी भइरहेका छन् ।

YOgesh_Bhattrai_in_australia_3

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सम्मेलित कार्यक्रम पछि विना अनुमति (नेपाली झण्डा समेत लगेर) सिड्नीस्थित ओपेरा हाउस छिर्न खोजेपछि त्यहाँका सुरक्षा गार्डले मन्त्रीसहितको टोलीलाई भित्र छिर्न दिएनन् ।

भ्रमण वर्षको प्रचारका लागि भनेर ओपेरा हाउससम्मै ‘र्‍याली लैजाने’ कार्यले त्यहाँका सुरक्षाकर्मी मात्रै हैन, अस्टेलियाली नागरिकमा पनि नेपाली प्रवृतिप्रति गलत सन्देश गएको छ ।

अस्ट्रेलियास्थित नेपाली दूतावासका अधिकारीको फितलो तयारी र स्थानीय कानून तथा व्यवस्थाबारे विनाकुनै जानकारी ‘नेपाली पारामा’ जुलुस निकाल्नुले सोमबारको उद्घाटन कार्यक्रम विवादति बनेको छ ।

यसभन्दा पनि विवादित बनेको विषय हो, अहिलेको अवस्थामा भ्रमण वर्षको ‘अन्तर्राष्ट्रियस्तरको’ प्रचारका लागि अस्ट्रेलियालाई रोज्नु ।

प्रसंग १ः अस्ट्रेलियामा आगलागीको प्रकोपबाट करिब ६ हजार किलोमिटर क्षेत्र प्रभावित भएको छ । आगो अझै नियन्त्रण बाहिर छ । आगलागीबाट प्रभावित क्षेत्र तुलना गर्ने हो भने नेपालका आधा दर्जन जिल्ला बराबरको क्षेत्र हुन आउँछ ।

महिनौंबाट जारी आगलागीको चपेटामा परेर ५० करोड जनावार मरेका छन् । केही जनावारका प्रजाति नै सखाप भएको हुन सक्ने आकलन गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया तथा दक्षिण अस्ट्रेलियामा जारी आगलागीका कारण हजारौं घरहरु जलेर ध्वस्त भएका छन् । त्यस्तै, २ दर्जन भन्दा बढी स्थानीयले ज्यान गुमाएका छन् ।

पटक–पटक संकटकाल घोषणा गरी आकस्मिक उद्दार र आवास व्यवस्थाका लागि सरकारले सेना परिचालन गरेको छ । आगलागीका कारण हावामा धुँवाको मात्रा अत्याधिक भएकाले कतिपय सरकारी निकाय नै बन्द भएका छन् भने कर्मचारीलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

आगलागीका कारण मानव स्वास्थ्यका लागि चाहिने अत्यावश्यक वायु दशौं गुणा विषाक्त भएको तथ्यांकले देखाएका छन् । वर्षे विदाको समयमा आगालागी भएकाले लोकप्रिय पर्यटकिय क्षेत्र र राजमार्ग बन्द छन् । आर्थिक क्षति र दिर्घकालीन असरको मुल्यांकन हुन बाँकी छ ।

प्रसंग २ः अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमण सहजताका लागि जारी गरेको आधिकारीक ‘ट्राभल एड्भाईजरी’मा नेपाललाई उच्च सतर्कता अपनाउनुपर्ने गन्तव्यको रुपमा राखेको छ ।

नेपालमा भ्रमण वर्ष २०२० शुरु भईसक्दा अस्ट्रेलिया सरकारले भने नेपालमा स–साना विस्फोट भइरहने, राजनीतिक अस्थिरता र बन्द हड्तालको सम्भावना भएको, पाकेटमारी र चोरीका घटना भइरहने तथा यौन दुराचार हुने भएकाले सचेत रहन सूचित गरेको छ ।

सरकारी सूचना अनुसार वायु प्रदुषणको असर, तराईमा मलेरिया, एड्स लगायतका स्वास्थ्य समस्यामा समेत सतर्क रहनुपर्ने छ । त्यस्तै ट्राभल एजेन्टहरुको ठगी, रुढीवादी समाज भएको लगायत पनि एड्भाईजरीमा उल्लेख छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन तथा उद्घाटन गर्न भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अहिले अस्ट्रेलियामा छन् ।

सफल कुटनीतिमा उचित समयमा शिष्टता देखाउन सक्नु नै कुशलता हो, मित्रराष्ट्र प्रतिको सम्मान पनि हो । प्रशंग १ मा उल्लेख भएझैं प्राकृतिक प्रकोपले विक्षिप्त अवस्थामा नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि विभागीय मन्त्री अस्ट्रेलिया आएपछि यहाँका नेपाली मूलका बासिन्दा नै विभाजित छन् ।

कतिपयले भ्रमण वर्षको उद्घाटन तथा अन्तर्क्रिया कार्यक्रम नै बहिस्कार गर्ने घोषणा गरेका छन् । समग्रमा नेपाली विभागीय मन्त्रीको नेतृत्वको यो भ्रमण हतासमा गरिएको अपरिपक्व निर्णयको रुपमा झल्किन्छ । सिड्नीमा मन्त्री भट्टराई सम्मिलित भ्रमण वर्ष उद्घाटन कार्यक्रमले विना अनुमति र्‍याली र प्रदर्शनको स्वरुप लिएको भन्दै प्रहरीले रोकेको घटनालाई व्यवस्थापकीय कमजोरीको एक नमूनाको रुपमा लिन सकिन्छ ।

आगलागीका कारण अस्तव्यवस्त अस्ट्रेलियामा स्थानीयलाई नेपाल भ्रमणका लागि निम्तो दिने उपयुक्त समय र तरिकाबाट विमुख भएको देखिन्छ । नेपालमा २०७२ सालको भूकम्पको समयमा कुनै विदेशी मन्त्री आएर भ्रमणको प्रवद्र्धन गरेको भए ? मन्त्री भट्टराईको भ्रमणले प्रकोपबाट प्रभावित वासिन्दाको मानसिक तथा भावनात्मक अवस्थाको सम्मान गरेको देखिएन् । सम्पूर्ण राजनीतिक र सरकारी स्रोत साधन प्रभावित क्षेत्रमा केन्द्रित गरेको अस्ट्रेलिया सरकारका उच्च अधिकारीहरुलाई नेपाली मन्त्रीसँग भेटवार्ताका लागि फुर्सद नहुन सक्छ ।

यसबेला आईपुगेका मन्त्री भट्टराईले स्थानीय सरकारी र अग्नी नियन्त्रण सेवाका अधिकारीलाई भेटेर समवेदना व्यक्त गर्ने उपयुक्त अवसर पनि थियो । नेपालमा भूकम्प लगत्तै ४० लाख डलर घोषणा गरेको अस्ट्रेलिया सरकारका लागि नेपाल सरकारको तर्फबाट सांकेतिक सहयोग घोषणा गर्न सक्ने अवस्था पनि नभएको भने होइन ।

मन्त्रीका क्रममा कुनै ठोस रणनीतिक महत्वका उच्च स्तरका भेटवार्ता तथा बैठकको कार्यक्रम छैनन् । नेपालबाट सिधा हवाई सम्झौता र भ्रमण वर्षको उद्घाटन भनिए पनि हवाई सम्झौता लामो समयदेखिको एजेन्डाको निरन्तरतामात्र हो, ठोस निकास देखिएको छैन । अस्ट्रेलिया आएदेखि मन्त्री भट्टराई आफ्नो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठनका अन्तर्क्रिया र नेपाली संघ संस्थाका स्थानीय कार्यक्रममा सहभागी भइरहेका छन् । स्थानीय नेपाली रेस्टुरेन्टमा नेपालीका साना समुहसँग भेटवार्ता गरेर नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्नु आफैंमा हास्यास्पद छ ।

भ्रमण वर्ष शुरु भए पछि विकसित मुलुकमा आएर नेपाली समुदायका उही पुराना अनुहारका बीच कार्यक्रम उद्घाटन गरी पर्चा बाँड्ने भन्दा उच्च स्तरको पहलमा ध्यान दिनु नेपालका लागि हितकारी थियो । नेपालबाट आएका नेपालीकै बीचमा भ्रमण वर्ष लक्षित गरी आम अस्ट्रेलियनलाई कसरी नेपाल बोलाउने ?

पर्यटन प्रवद्र्धन गर्नु हल्ला गर्नुमात्र होईन । सिड्नी लगायत स्थानीय सहरका ठूला ठूला ट्राभल एजेन्सीमा संसारका गन्तव्यहरुको प्याकेज, हवाई भाडा, गन्तव्यहरुको विज्ञापन खुब देख्न पाईन्छ । बिलबोर्ड र प्याकेजहरुले भरिपुर्ण यस्ता विज्ञापनमा नेपालको भ्रमण वर्ष र गन्तव्यलाई सूचीकृत गर्न एजेन्सीहरु किन लालायित छैनन ? नेपालका विभागीय मन्त्री नै सामेल भएको टोलीले हवाई सेवा कम्पनीहरु, एजेन्सी, चेन होटल लगायतका पर्यटनका पर्यायीका अधिकारी समक्ष पहल गर्न सक्ने प्रशस्त सम्भावना थिए । हवाई सेवा तथा होटल र अन्य सेवामा भिजिट नेपाल जस्ता नाम दिएर छुटका कोडहरु ल्याउन सकिन्थ्यो । जसबाट नेपाल भ्रमणमा आउने अष्ट्रेलियनमा उत्साह जगाउन सकिन्थ्यो ।

प्रसंग २ मा उल्लेखित अस्ट्रेलिया सरकारको ट्राभल एड्भाईजरी नेपाल भ्रमण वर्ष २०२० का लागि दुर्भाग्यपुर्ण छ । अर्को देशको सरकारले आफ्ना नागरिकलाई सचेत बनाउन के सूचना प्रवाह गर्छ भन्ने नेपाल सरकारको हातमा नभएपनि विभागीय मन्त्रीको भ्रमणलाई उपयोग गरी सुरक्षा र परिवर्तित अवस्थाको प्रत्याभूत गर्न सकिन्थ्यो । अस्ट्रेलियाको राष्ट्रिय टेलिभिजनमा नेपालका विज्ञापन तथा मन्त्रीसँगका संवादकालागि पहल गरी उपयोग गर्ने अवसरहरु प्रसस्त छन् । नेपाली गन्तव्य र हिमालका समाचार लगातार प्रकाशन प्रशारण गरिरहने स्थानीय टेलिभिजनका अधिकारीलाई अन्तर्वार्ता तथा सहयोगका लागि अनुरोध गर्न सकिन्थ्यो । उनीहरुलाई नेपाल निम्तो गरेर गन्तव्यहरुको समाचार संकलनका लागि अवसर सिर्जना गर्न सकिन्थ्यो । त्यस्तै, नेपाल र हिमाललाई माया गर्ने हिमाल आरोही अस्ट्रेलियनलाई सामेल गराए फराकिलो गरी प्रवद्र्धन गर्ने आधार बन्थ्यो ।

यस्ता यावत समस्या, सम्भावना तथा पहललाई मध्यनजर गर्ने पथबाट संकुचित भएको भन्दै नेपाली विभागीय मन्त्रीको अस्ट्रेलिया भ्रमणलाई हतासको सरकारी कामकोरुपमा मात्र लिन सकिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ६ : २१ बजे

कथा : पोलेको मकै

शान्ति, मभन्दा दुई वर्षले जेठी थिई तर हामी एकै क्लासमा

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज

बागलुङको लाम्मेलामा आगलागी

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

सोलुखुम्बु– यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १०

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा