नेकपा सचिवालय बैठकमा शीर्ष नेताको चर्काचर्की, बजेट रोक्नेसम्मको रणनीतिमा प्रचण्ड - माधव समूह | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठकमा शीर्ष नेताको चर्काचर्की, बजेट रोक्नेसम्मको रणनीतिमा प्रचण्ड – माधव समूह


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश प्रकरणपछि करिव १५ दिन चर्को विवादमा फसेर नाटकीयशैलीमा सामसुम भएको सत्तारुढ नेकपाको विवादले फेरि उग्र रुप लिएको छ ।

कोरोना भाइरसको महामारी सकिएपछि आफूलाई प्रधानमन्त्री बनाउने केपी शर्मा ओलीको प्रस्तावपछि माधव-प्रचण्ड गुट छाडेका गौतम चार दिनमा फेरि ‘यूटर्न’ भएका छन् ।

पार्टीका समकालीन नेताहरु प्रधानमन्त्री भइसक्दा समेत आफू प्रधानमन्त्री हुन नपाएकोमा छटपटिएको आरोप खेप्दै आएका  गौतमलाई यसअघि १७ वैशाखकै सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री पदको लालच देखाएर उनको पदीय आशक्ति अझ बढाइदिएका थिए ।

ओलीको राजीनामा माग्ने तहमा पुगेका गौतम उक्त प्रस्तावलगत्तै एकाएक पचण्ड – माधव समूह छाडेर ओली गुटमा पुगे ।

भावि प्रधानमन्त्रीको रुपमा गौतमलाई प्रस्तुत गरेका ओलीले उनकै इच्छा र सचिवालयमा आफूले झेलिरहेको अल्पमतको अप्ठ्यारो पार लगाउन २० वैशाखको सचिवालय बैठकमा गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भन्ने निर्णय पनि गराए । त्यसमा सबै सचिवालय सदस्यहरुले साथ दिए ।

उक्त निर्णयपछि अध्यादेश प्रकरणले चुलिएको नेकपाभित्रको विवाद हल भएको ठानिएकोमा गौतमले एकाएक पछिल्लो ४ दिनमा नै अर्को ‘यूटर्न’ लिएपछि नेकपाको बुधबारको सचिवालय बैठक भाँडिएको छ ।

ओलीले आफूलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेदवार बनाउने निर्णय गराए पनि २० वैशाखको सचिवालय बैठकमा आफू प्रधानमन्त्री हुने विषयको सुनिश्चितता नगराएको भन्दै उनको असन्तुष्ट त्यसै दिनबाट चुलिन सुरू भएको उनीनिकटस्थ स्रोतले जनाएका छन् ।

गौतमले बुधबार बिहान खुमलटार पुगेर प्रचण्डसँग गरेको भेटघाट तथा माधव नेपालसँग गरेको टेलिफोन संवादले समेत उनको असन्तुष्टि रहेको आकलन भएको थियो ।

प्रचण्डसँगको भेटवार्ता र नेपालसँगको टेलिफोन संवादमा गौतमले आफूले गुट परिवर्तन गरेको भनेर फैलाइएको अफवाहमा विश्वास नगर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

ओली समूहले आफूलाई उपयोग मात्र गर्न खोजेको ठानेका गौतमले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

बैठकको सुरुमै वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विधि विधान र पद्धतिभन्दा व्यक्ति विशेषको सोच एवं गुटगत मनोवृत्तिका साथ एक नेताकाविरुद्ध अर्कोलाई प्रयोग गर्ने खेल भएको भन्दै ओलीको आलोचना गरेका थिए ।

पार्टीमा महत्वपूर्ण योगदान दिएका नेताहरुको अपहेलना गर्ने काम भएको भन्दै आलोचना भएपछि ओलीले उक्त आरोप पूर्वाग्रहले ग्रसित भएको जवाफ दिए ।

बैठकले विवादको मोड लिदै जाँदा उपाध्यक्ष गौतमले पार्टीमा सबैलाई समेटेर लैजान एक व्यक्ति एक पद अनिवार्य कार्यान्वयन गर्नुपर्ने शर्त अघि सारे ।

उनले पूर्वसहमति कार्यान्वयन नगरी नयाँ-नयाँ सहमति ल्याउनुको औचित्य नरहेको बताउँदै तत्काल एक व्यक्ति एक पद कार्यान्वयन हुनुपर्ने विषय उठान गरेका थिए ।

यसअघि नेता नेपालले जोडतोडका साथ उठाउँदै आएको उक्त माग गौतमको मुखबाट बाहिरिएपछि ओली सचिवालय बैठकमा फेरि  अल्पमतमा परेका छन् ।

बुधबारको बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरणकै विषय केन्द्रमा परेपछि ओली बैठक छाडेर बाहिरिएका थिए ।

मुलुकमा कोरोना भाइरसको महाहामारी फैलिरहेको, नीति तथा कार्यक्रम एवं बजेटको तयारी तीव्र गर्नुपर्ने धपेडी भएकाले आफू त्यसमा केन्द्रित हुने भन्दै प्रधानमन्त्री ओली बैठक छाडेर बाहिरिएका थिए ।

प्रधानमन्त्री ओलीलाई निकैबेर पर्खिदा पनि नआएपछि वरिष्ठ नेता झलनाथ खनाल पनि बाहरिएपछि स्थायी कमिटीको एजेण्डा तय गर्न भनेर बसेको बैठकले पूर्णता नपाएको बैठकमा सहभागी सचिवालयका एक सदस्यले बताएका छन् ।

बैठक नै भाँडिएपछि ओली र प्रचण्डबीच राति अबेरसम्म स्थायी कमिटी बैठक र एजेण्डाका विषयमा छलफल भएको बुझिएको छ । तर उक्त छलफलले कुनै ठोस निचोड ननिकालेपछि २/४ दिनमा स्थायी कमिटी बैठक बोलाउने सहमतिमा प्रचण्ड राति ९ बजे आसपासमात्रै वालुवाटारबाट निस्किएको बुझिएको छ ।

गौतमले ४ दिनमै ‘यूटर्न’ लिएपछि सचिवालयमै अल्पमतमा परेका ओली स्थायी कमिटी बैठकमा पनि स्पष्ट अल्पमतमा पर्ने देखिन्छ । ४४ सदस्यीय स्थायी कमिटीमा ओलीसँग जम्मा १२ सदस्यीय मात्र छन् ।

८ वैशाखमा जारी गरिएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको प्रकरणपछि पार्टीमा विवाद देखिएको र उक्त विवाद अध्यादेश फिर्ता भएलगत्तै अन्त्य भएको भन्दै ओलीले स्थायी कमिटी बैठक टार्न खोजेको बताइन्छ ।

उनले कोरोना भाइरसको महामारीका बेला स्थायी कमिटी बैठक भन्दा पनि महामारीमा केन्द्रित हुनुपर्ने भएकाले विज्ञप्ति नै जारी गरेर बैठक स्थगित गरेको सूचना जारी गर्न दबाब दिएको अर्को पक्षको आरोप छ ।

२० वैशाखको सचिवालय बैठकमा नै अप्ठ्यारोमा परिसकेका ओलीको संकट टार्न क्रियाशील भएका गृहमन्त्री रामबहादुर थापा बादलले पनि मंगलबार प्रचण्डसँग भेटेका थिए ।

बुधबारको सचिवालय बैठकको एजेण्डा तय गर्न ओलीले प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएपछि प्रचण्डले माधव नेपालसँग मंगलबार नै छलफल गरेका थिए ।

मंगलबार नै प्रचण्ड – नेपाल समूहको नयाँ वानेश्वरमा भएको १९ जना स्थायी कमिटी सदस्यको (कार्यव्यवस्था समितिको बैठकले देव गुरुङ अनुपस्थित) भेलाले पनि स्थायी कमिटी बैठक नडाकिए सरकारको नीति तथा कार्यक्रम र बजेट नै असफल पार्नेसम्मको रणनीति बनाएको र सोही अनरूप अघि बढ्ने निष्कर्ष निकालेको नाम नबताउने सर्तमा उक्त भेलामा सहभागी एक सदस्यले खबरहबलाई जानकारी दिए ।

उक्त भेलामा एक पद एक व्यक्तिको विषय स्थायी कमिटीमा जोडतोडका साथ उठाउँदै प्रधानमन्त्री ओलीले एक पदबाट राजीनामा दिनपर्ने, त्यसमा असमति जनाए दुबै पदबाट राजीनामा दिन दबाब दिने र सो पनि नमाने बजेट नै असफल बनाउनेसम्मको रणनीति तय गरेको विषय सार्वजनिक भएपछि ओली स्थायी कमिटी बैठक नै डाक्ट अनिच्छुक भएका थिए ।

तर बुधबारको सचिवालय बैठक भाँडिएपछि प्रचण्डसँग भएको छलफलमा दुई चार दिनमा स्थायी कमिटी बैठक राख्न ओली मञ्जुर हुनुले ओलीले फेरि गौतमसहित पूर्वएमाले समूहसँग छलफल बढाउने मनसाय राखेको हुनसक्ने आकलन हुन थालेको छ।

बुधबारको सचिवालय बैठकमा अल्पमतमा पर्ने पूर्वसूचना पाइसकेका ओलीले यसअघि मंगलबार मात्रै वरिष्ठ नेता झलनाथ खनालसँग २ घण्टा १५ मिनेट छलफल गरेका थिए ।

उक्त छलफलमा ओलीले आफूलाई घेराबन्दीमा पार्नेहरुविरुद्ध डटेर लड्ने तर दुबै पद (अध्यक्ष र प्रधानमन्त्री) नछाड्ने अडान दोहोर्‍याएका थिए ।

ओलीले अर्को समूहरुलाई पेलेरै अघि बढ्ने सन्देश दिएलगत्तै माधव – प्रचण्ड समूह रुष्ट भएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : ५० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म