वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : उपाध्यक्ष ढकाल « Khabarhub

वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : उपाध्यक्ष ढकाल


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताएका छन् ।

नेपालगन्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, ‘यस अघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदा जस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु ।’

वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उनले बताए ।

‘अहिले विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष विताएको भन्दै अब आफुले नेतृत्व गर्न पाउने दावी गर्दै आउनु भएको छ,’ उनले भने, ‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि आफैले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । नेतृत्वका लागि व्यवसायीहरुको विश्वास र समर्थन आवश्यक पर्छ ।’

आफुले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन लागि पर्ने बताए ।

ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए ।

ढकालले भने, ‘आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’

यसअघि गुलरिया शुक्रबार उद्योग वाणिज्य संघद्धारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा राखेका हुन् ।

‘हो, म पनि दुई तीन वर्षयता देखि नै देशका प्राय सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्नेछ,’ उपाध्यक्ष ढकालले भने, ‘जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तबमात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्नेछन्, हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्नेछ।’

त्यसैले पनि व्यापारी, व्यवसायीलाई कुनै अप्ठेरो पर्यो भने तथा हाम्रा समग्र व्यावसायिक हकहीतका विषयमा समस्या उत्पन्न भयो भने त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्ने र ती समस्याको तत्कालै समाधान निकाल्नका लागि अग्रसरता लिनसक्ने खालको नेतृत्व महासंघलाई आवश्यक रहेको उपाध्यक्ष ढकालले बताए ।

‘मैले गएका केही वर्षयतादेखि तपाईँ व्यवसायीहरुका यस्तै गुनासा र समस्या सुनेर मुलुकको एक फेरो लगाइसकेको छु, म आफै पनि व्यावसायी भएकोले तपाईँहरुका सानाभन्दा साना देखि ठूला उद्यम व्यवसायका सबै समस्याहरु थाहा छ, त्यसैले म नेतृत्वमा आएपछि यी सबै विषयमा बहस र पैरवी प्रारम्भ गर्नेछु र एक्सनमा नै जानेछु, यो तपाईँहरुसँग मेरो बाचा नै हो,’ उनले भने ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले यसअघि आफूहरुले सहयोग गरेका कतिपय उम्मेदवारले चुनाव जितेपछि प्रतिवद्धता अनुरुप काम नगरेको भन्दै  यस पटकको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल नेतृत्वको टीमबाट त्यस्तो धोका नहुने बताए ।

‘यस अघि चुनाव जितेका साथीहरु केन्द्रमा मात्रै रमाएर बसे । तर यस पटकको हाम्रो उम्मेदवार चन्द्र ढकालले ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर बस्नुहुने छैन । जिल्लाकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्नुहुने छ,’ उनले भने, ‘हाम्रो प्यानल विजयी हुने वित्तिकै जिल्ला नगरका समस्या समाधान गर्न हामी लाग्नेछौं ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे ।

‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’

साथै कोभिडका कारण जिल्ला नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफु नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताए । साथै अबका दिनमा बस्तुगत तथा एशोसिएट्सबाट मात्रै हैन ५० प्रतिशत मतभार भएको जिल्लाकै साथीहरु अध्यक्ष बन्ने माहोल समेत आफुले बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्ने अधिकांश जिल्ला अध्यक्षहरुले महासंघको नेतृत्वमा रहेका व्यक्तिले फोन समेत नउठाएको गुनासो गरेका थिए ।

कार्यक्रममा उपस्थित ३० भन्दा बढी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले जिल्लास्तरबाट सानो व्यवसायबाट सुरु गर्दै ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गर्दै आफ्ना समस्या बुझेका चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा र जिल्ला नगरका समस्यासँग जुध्दै आएको गुणनिधी तिवारीलाई उपाध्यक्षमा बिजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ०४ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल