दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो « Khabarhub

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ ।

चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक  एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन्। उनका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुनाटपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको पौडेलले बताइन्। मेसिनबाट बनाइएका दुनाटपरी हातले बनाइएकाभन्दा आकर्षक र बलिया हुने उनी बताउँछिन् ।

‘दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ । यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्‍याएको छ,’ उनले भनिन् ।

गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताइन्। पात संकलन गरेर मात्रै पनि दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउन सकिन्छ  ।

‘लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ । घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुनाटपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,’ पौडेलले भनिन्।

उद्योग सञ्चालनमा आएपछि पहिले घरमै समय बिताउने महिलाहरू नियमित रूपमा उत्पादनमा संलग्न हुन थालेका छन् । सामूहिक रूपमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको सञ्चालक मञ्जु रेग्मीले बताइन्।

उद्योगबाट उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा रु दुई र थोकमा १०० वटाको रु १९० मा बिक्री हुने गरेको छ । चारकुने टपरी खुद्रामा प्रतिगोटा रु सात र थोकमा रु छ मा बिक्री गरिन्छ । लाफा खुद्रामा रु १३ र थोकमा ११ मा बिक्री हुने गरेको उनले जानकारी दिइन्।

उत्पादित दुनाटपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन । बाहिरी जिल्लाबाट पनि माग आउने गरेको रेग्मीले बताइन्। बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको छ ।

‘सुरुआती चरणमै धेरैले उत्पादन मन पराउनुभएको छ । गाउँगाउँबाट दिदीबहिनीहरूले पात ल्याउनुहुन्छ । बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौँ,’ रेग्मीले भनिन्। 

यो उद्यममा लागेपछि महिलाको आयस्रोत बढेको छ । पहिले टपरी बुन्न सिकेका महिलाहरू अहिले मेसिनको सहायताले आफैँ दुनाटपरी उत्पादन गर्न सक्षम भएका छन् ।

बजारमा दुनाटपरीको माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरू बताउँछन् । सालका रूख प्रशस्त भएका वन क्षेत्रमा पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ ।

उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताइन् । स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

‘पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ । वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजारसम्म कमाउने गरेका छन्,’ खनालले भनिन् ।

उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ । प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने खनालको सुझाव छ ।

विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ । दुनाटपरी उत्पादनबाट परम्परागत सीप र संस्कृतिको संरक्षणका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १२ : २६ बजे

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत

प्रधानमन्त्रीबाट भाइटीकाको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास,

किन मनाइन्छ महागुरु फाल्गुनन्द जयन्ती ?

काठमाडौँ- किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती

तिहारमा मातृभूमिले पाएको मोह, नयाँ पुस्ताको भरोसा 

वर्षौंदेखि काठमाडौँमा भागदौड जिन्दगी बिताइरहेको म पटक पटक घर जाने

हात्तीको आक्रमणबाट एक महिलााको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट