काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनःनिर्माण अन्तिमचरणमा पुगेको छ ।
आगमघर स्थानीयवासीको सहभागितमा पुनःनिर्माण भएको हो । श्री आर्यावलोकितेश्वर सुधार समूहले रु तीन करोड ५० लाखको लागतमा पुनःनिर्माण गरेको हो । पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्षसमेत रहेका महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।
महानगरपालिकाले काठका लागि रु ८० लाख र छानाका लागि रु ८५ लाख सहयोग गरेको छ । यसैगरी वाग्मती प्रदेश सरकारले आगमघर पुनःनिर्माणका लागि रु ५० लाख सहयोग गरेको छ । बाँकी सहयोग स्थानीयवासी, भक्तजन एवं दाताबाट जुटाइएको अध्यक्ष शाक्यले बताए ।
विसं १९९० को भूकम्पले समेत आगमघर पूर्ण रुपमा क्षति भएको थियो । त्यसबेला हतारमा आगमघर पुनःनिर्माण गर्दा प्राचीन वास्तुकला लोप भएकामा यस वर्षको पुनःनिर्माणमा त्यसलाई पुनःस्थापित गरिएको समूहले जनाएको छ । दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा समूह गठन गरी आगमघर पुनःनिर्माण शुरु भएको थियो ।
हाल आगमघर पुनःनिर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ । कोरोना महामारीका कारण पुनःनिर्माण केही ढिला भएको हो । आगामी माघमा गरिने श्री आर्यावलोकितेश्वर करुणामयको महास्नानअघि आगमघरको पुनःनिर्माण सम्पन्न गर्ने समूहको लक्ष्य छ । प्रत्येक वर्ष माघशुक्ल अष्टमीका दिन करुणामयको महास्नान गर्ने परम्परा छ ।
आगमघर पुनःनिर्माणका लागि द्रव्यमानसिंह तुलाधर र नवीन तुलाधरलगायत दाताको विशेष सहयोग रहेको समूहले जनाएको छ । उनीहरुको सहयोगमा मन्दिरमा सुनको मोलम्बा लगाउनेलगायत काम भइरहेको छ । भूकम्पले क्षति भएको करुणामयको मूल मन्दिर भने भारत सरकारको सहयोगमा प्रवलीकरण गर्न पाँच महिनाअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारत सरकारबीच सम्झौता भएको समूहका अध्यक्ष शाक्यले बताए।
भारत सरकारबाट आउने सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) ले मन्दिर प्रवलीकरणका लागि ठेक्का गरेको छ । डेढमहिनामा निर्माण व्यवसायी छनोटको प्रक्रिया पूरा गरी प्रवलीकरण शुरु गरिने एकाई (भवन) का आयोजना प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।
वर्षा र सहकालका देवताका रुपमा विशेष पूजिने सेतो मच्छेन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि चार दिनसम्म राजधानीको तीनधारा पाठशालाबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबारबाट लगन पुगी त्यही बाटो फर्काउने परम्परा छ ।
प्रतिक्रिया