भारत– भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ ।
शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दक्षिण मध्य रेलवेका प्रमुख पीआरओलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार शुक्रबार विहान साढे पाँच बजे घटना भएको थियो । उनका अनुसार घटनाको प्रकृति हेर्दा मजदुरहरु रेलको लिकमा सुतिरहेका थिए ।
एउटा स्टील कारखानामा काम गर्ने २० मजदुरहरु जालनाबाट भुसावलतर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ ।
मध्य प्रदेश जाने ‘श्रमिक स्पेसल’ रेल भेट्टाउन भुसवालतर्फ हिँडेका ती मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुतेको बताइएको छ ।
जाल्नाबाट भुसावलबीचको दूरी करिब १५० किलोमिटर रहेको ४५ किलोमिटर हिँडिसकेपछि उनीहरु रेल्वे ट्रयाकमै सुस्ताएको हुनसक्ने प्रहरीले बताएको छ । उनीहरु सुतिरहेका बेला मालवाहक रेलले बन्दनपुर कर्माड स्टेसनबीचको ठाउँमा किचेको हो ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मध्य प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
प्रतिक्रिया