काठमाडौँ- केही दिनयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा एउटा कुरा नबिराई भन्छन्- दशैँ नजिक आइरहेको छ, जो जहाँ छौँ त्यहीँ बसेर मनाऔँ ।
नेपालमा कोरोन संक्रमण नियन्त्रणका लागि सात महिनामा लकडाउन, निषेधाज्ञा, नियन्त्रित आवागमन इत्यादि अनेक भयो तर संक्रमण बढ्दो छ । सुरुवाती चरणमा विदेशबाट आएकाहरूमा मात्र संक्रमण देखिएको भए पनि हाल समुदायमै फैलिएको कुरा सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् ।
भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा कोरोना संक्रमण धेरै देखिएको छ । काठमाडौँ त हट स्पट नै बनेको छ । दैनिक संक्रमणमा आधाजसो काठमाडौँ उपत्यकाकै हुने गरेका छन् ।
दैनिक सरदर १२ हजार जनामा कोरोना परीक्षण हुँदा सरदर २५ सय जनामा संक्रमण देखिएको छ । कोरोनाको पिसिआर सरकारी प्रयोगशालामा मात्रै निःशुल्क छ । निजी प्रयोगशालाका लागि सरकारले शुल्क तोकिदिएको छ तर धेरै जसोले आफैँ निर्धारण गरेका छन् ।
कोरोना संक्रमण बढिरहेको समयमा नेपालीहरूका ठूला चाड दशैँ, तिहार र छठ नजिकिँदै छन् । यी चाडपर्वमा आवागमन बाक्लो हुनेछ । भेटघाट र जमघट बढ्नेछ । बजारमा किनमेलको भिड बढ्ने छ । यसबाट संक्रमण झन् बढी फैलिन सक्नेछ । यसकारण स्वास्थ्य मन्त्रालयको आह्वान छ- जो जहाँ छौँ, त्यही बसेर चाड मनाऔँ, अनिवार्य बाहेक यात्रा नगरौँ ।
स्वास्थ्य मन्त्रालयको उक्त आह्वानमा जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरू पनि सहमत छन् ।
कोरोना संक्रमणको यो समय कति जोखिपूर्ण छ ? लामो यात्रा कति उपयुक्त छ ? कस्तो सावधानी अपनाउने ? यिनै जिज्ञासाहरूको वरिपरि हामीले केही चिकित्सक तथा विज्ञहरूसँग कुराकानी गरेका छौँ ।
जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँ
डा. अनुप बास्तोला (सरुवा रोग विशेषज्ञ)
कोरोना संक्रमणको दर राजधानीमा निकै बढेको छ । अस्पतालमा सिकिस्त भएर आउने बिरामीहरूको चाप बढ्न थालेको छ । यसले समुदायमा संक्रमण फैलिँदै गएको देखाउँछ । संक्रमण मुख्य गरेर काठमाडौँ उपत्यकामा बढी छ ।
पहिला बढी संक्रमण देखिएको प्रदेश २ मा अहिले कम भएको देखिन्न्छ तर साँच्चै त्यहाँ कम भएको हो कि होइन भनेर निश्चित गर्न चाहिँ अध्ययन हुनुपर्छ । अहिले अस्पतालमा सिकिस्त बिरामीको चापले बेड पाउन नसक्ने अवस्था आउन थालेको छ ।
यति धेरै जनसंख्या भएको राजधानीमा संक्रमण चरम बिन्दुमा पुगिसकेको छैन । अब जाडो सुरु हुँदैछ । जाडो याममा संक्रमण चरम बिन्दुमा पुग्न सक्छ ।
ठूला चाडपर्वहरू नजिकिँदै छन् । सामान्यतया काममा बाहिर निस्किँदा, काठमाडौँ उपत्यका लगायत कोरोना संक्रमण धेरै भएका ठाउँबाट गाउँ फर्किंदा घरपरिवारमा रहेका दीर्घरोगी, वृद्धवृद्धामा संक्रमणको जोखिम हुन्छ । गाउँमा सुरक्षित रहेका मानिसहरूमा संक्रमण सर्ने जोखिम उच्च छ ।
त्यसैले, यसपालिको दशैँतिहार आफू जहाँ छौँ त्यही बसेर मनाऔँ । पहिलाको जस्तो भेटघाट गरेर, रमाइलो गरेर, आफन्तकोमा टीका लगाउन जाने काम यसपालि नगरौँ । भेट्नै पर्ने अवस्थामा खुला ठाउँमा दूरी कायम गरेर कुरा गरौँ ।
काठमाडौँ लगायतका ठूला शहरहरूबाट सार्वजनिक यातायतामा गाउँ जाँदा बाटोमा संक्रमण सर्ने जोखिम हुन्छ । मास्क लगाउने, दूरी कायम गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने भनिरहेका छौँ । यो सबै कुरा बुझेकै युवापुस्तामा कोरोना संक्रमण धेरै छ ।
मापदण्ड पालना नहुँदा संक्रमणको अवस्था व्यवस्थापन गर्नै नसकिने हुन सक्छ । बेलैमा ध्यान दिऔँ ।
संक्रमण कम भएका जिल्लामा जोखिम बढ्दैछ
अनुप सुवेदी (संक्रामक रोग विशेषज्ञ)
काठमाडौँको जनसंख्या एकदमै ठूला भएकोले कोरोना संक्रमण महिनौँसम्म रहिरहन सक्छ । अस्पतालहरूमा धान्नै नसकिने चाप हुन सक्छ । काठमाडौँमा त संक्रमण बढ्ने नै छ । दशैँतिहारमा गाउँगाउँसम्म फैलिने सम्भावना छ । अहिले संक्रमण कम भएका जिल्लामा फेरि फैलिने जोखिम छ ।
जोखिमसँग सचेत रहनुपर्यो । संक्रमण एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सहयोग नगरौँ । चाडपर्व त अर्को साल पनि आउँछ ।
दशैँमा घर जाने नै भए क्वारेन्टिनमा बसौँ
डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)
नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ७१ प्रतिशत मानिसहरू काठमाडौँ उपत्यकाका छन् । अन्य जिल्लामा संक्रमण न्युन छ । अझै पनि दैनिक १० देखि १२ हजार मानिसको मात्र परीक्षण गरिएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ३ हजारभन्दा कम परीक्षण भइरहेको छ । काठमाडौँ उपत्यकामा परीक्षण संख्याको ४० देखि ५० प्रतिशतमा संक्रमण देखिएको छ । यो एकदमै धेरै हो ।
यस्तो अवस्थामा हाम्रा चाडपर्व नजिक आएका छन् । चाडपर्वसँग हाम्रो भावनात्मक सम्बन्ध छ । दशैँतिहारमा गाउँ जाने, भेटघाट र रमाइलो गर्ने चलन छ । अहिलेको विषम परिस्थितिमा गाउँ जाने कि नजाने भन्नेमा तीनवटा विकल्प छ ।
काठमाडौँमा डेरामा बस्ने तर रोजगारी गुमाएकाहरूका लागि महँगीमा यहीँ बसेर दशैँ मनाउन कठिन हुन्छ । कोरोनाको असर त अझै दुई—तीन वर्ष रहला । त्यसले गर्दा आफ्नो गाउँमा जाने, उतै खेतीपाती गर्ने, बालबालिकालाई गाउँमै पढाउने योजना छ भने चाडपर्वको सन्दर्भमा जान उपयुक्त छ । सरकारले पनि सहजीकरण गरिदिनुपर्छ ।
यसो गर्दा आफ्नै गाउँमा स्वरोजगार बन्न सकिन्छ । धेरै अभाव र तनावको अवस्था पनि हुँदैन । दोस्रो समूह, उच्च शिक्षाका लागि भाडामा बसेका, अहिले कलेजमा पढाइ छैन, गाउँमै गएर अनलाइन क्लास लिन सकिन्छ । उहाँहरू पनि यो महँगो र असुरक्षित काठमाडौँ छाडेर गाउँ जाँदा राम्रै हुन्छ ।
अर्को वर्ग छ, जो अहिले जाने र चाडपर्व मनाएर काठमाडौँ फर्किने । यो वर्गमा दुई-तीन महिना गाउँमा बस्ने योजना छ भने जाँदा हुन्छ । कर्मचारी, रोजगारी गरिरहेका व्यक्तिहरू जो थोरै दिनका लागि वा टीका थाप्नमात्रै जाने योजनामा हुनुहुन्छ भने अहिले जानु उपयुक्त छैन ।
थोरै दिनका लागि जानेहरू उता १४ दिन क्वारेन्टिनमा बस्ने सम्भावना पनि हुँदैन । यस्ता व्यक्तिहरूले भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गर्नु र आशीर्वाद लिनु राम्रो हुन्छ ।
सार्वजनिक गाडीमा १२-१४ घण्टा यात्रा गर्दा कोही एकजना संक्रमित रहेछ भने सबैमा सर्ने जोखिम हुन्छ । एउटै गाउँमा जानेको समूह मिल्छ भने साना गाडी रिर्जभ गरेर जानु राम्रो हुन्छ । दीर्घ रोगी, ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकालाई जोखिम उच्च हुन्छ ।
यात्रा गर्दा एन ९५ मास्क लगाउने, फेसशिल्ड लगाउने, स्यानिटाइजर आफैँ बोकेर प्रयोग गर्ने, हातमा पञ्जा लगाउने, बसका झ्याल खुला राख्ने गर्नुपर्छ । यात्रा गर्दा खाना र पानी आफैँ बोक्ने तर बसभित्र नखाने । खानको लागि रोकेको समयमा खुला ठाउँमा बसेर खाने ।
धेरै दिन बस्नेगरी जानेहरू घरमा पुगेर १४ दिन क्वारेन्टिमा बस्ने । दशैँकै लागि जाने हो भने १४ दिन अघि नै गएर क्वारेन्टिनमा बस्नु राम्रो । दशैँको टीका थाप्दा पनि मास्क लगाउने, सकेसम्म निधारमा नलगाइदिएर हातमा टीका र जमारा दिने-लिने ।
घरमा दीर्घरोगी र ज्येष्ठ नागरिक हुनेहरू सावधान !
डा. समिरमणि दीक्षित (जनस्वास्थ्य विज्ञ)
काठमाडौँ उपत्यकाको जनसंख्या ५० लाखको हाराहारी छ । जनघनत्व जहाँ बढी हुन्छ, त्यहाँ कोरोना संक्रमण हुने सम्भावना पनि बढी हुन्छ । लकडाउन गर्दा पनि घरभित्र संक्रमण थियो । खुला भएपछि सबै बाहिर निस्किए ।
निजी प्रयोगशालामा पनि परीक्षणको दर बढेको छ । पैसा हुनेले निजीमा गएर परीक्षण गराउन थालेका छन् । परीक्षण गराउनेको संख्या बढेकाले पनि समुदायमा संक्रमण व्यापक देखिएको हो ।
राज्यले लक्षण भएकाको मात्र परीक्षण गर्ने भनेर परीक्षणको दायरा नै खुम्च्याइदिएको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पनि लक्षण नभएका संक्रमितले कोरोना सार्ने जोखिम धेरै हुन्छ भनेका छन् ।
घरपरिवारमा जोखिम समूह कोही छन् भने सावधानी अपनाउनु पर्छ । चाडपर्वमा झन धेरै जोखिम हुन्छ । जोखिम वर्ग भनेको ६५ वर्ष नाघेका र दीर्घ रोग भएकाहरू हुन् । पूजापाठ गर्दा, टीकाजमरा लगाइदिँदा र लगाउँदा सबै अवस्थामा मास्क लगाउने र दूरी कायम गर्नेजस्ता उपाय अपनाउनै पर्छ ।
प्रतिक्रिया