राजधानीमा शान्त होली (फोटो फिचर) « Khabarhub

राजधानीमा शान्त होली (फोटो फिचर)


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् ।

विगत वर्षमा फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो । यस वर्ष त्यस्तो काम रोकिएको छ । केही वर्षदेखि नै फागु पूर्णिमामा तडकभडक रोकिँदै आएको थियो ।

यस वर्ष नेपाल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेकाले प्रशासनले शान्तरूपमा पर्व मनाउन आह्वान गरेको थियो ।

नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

फागु खेल्ने प्रायः बालबालिका छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् ।

गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । चाबहिल चोकमा फागु पर्व मनाइरहेका युवा सन्तोष भण्डारी चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने तर सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

चिसो नघटेका कारण पानी छ्याप्दा कोरोनाका जीवाणुले असर गर्नसक्ने भएकाले पनि आम मानिस यस वर्ष सचेत भएका देखिन्छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देशका रूपमा फागु मनाउने गरिएको हो ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ता अघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको थापाथलीस्थित प्रसूति गृहमा बिरामी भेटेर फर्किएकी सुनिता ढुङ्गानाले बताइन् ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको रूपमा काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन फागुन २० गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् ।

निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ ।

आज बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । आजै राति ८ः५१ बजे चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि फागु पर्व मनाइँदै छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  २ : १९ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक