विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा « Khabarhub

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्‍यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए ।

पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय केपी छुस्याकीले पटाका पड्काइएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुम्दा मानिसमा विवेक हराउने गरेको टिप्पणी गरे ।

उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उल्लेख गरेका छन् । त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका श्रव्यदृश्य सामग्रीका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरे ।

मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाका प्रत्यक्षदर्शी राससकर्मी स्थलगत रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा पटाकाको चर्को आवाज र धुवाँले आसपासका सर्वसाधारण प्रभावित भएका थिए ।

धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना पनि देखिएको थियो ।

समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुन पाएन । उक्त पटाका मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटनास्थलमा सुरक्षाकर्मी पनि उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा कम र पटाका पड्काउनेहरू धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए । उनका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताए । राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्नसमेत नपाएको उनको भनाइ छ ।

चाडपर्व मनाउने नाममा गरिने यस्ता गतिविधिले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको उनले बताए । पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँका कारण घरभित्रै बस्नसमेत असहज भएको स्थानीयवासीको गुनासो छ ।

बारुदजन्य पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५०, सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दमलगायत समस्या निम्तिन सक्छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पटाकाबाट निस्कने धुवाँमा रहेका विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि, एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन । यसको जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत पाँचतल्ले मन्दिरजस्तो ऐतिहासिक सम्पदाका काठका संरचनामा आगोको झिल्को परेर आगलागी भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयवासीले उठाएका छन् । सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी भएकाले पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ ।

तिहारको अन्तिम दिन आज पनि यस्तै घटना नदोहोरियोस् र ऐतिहासिक सम्पदा तथा सर्वसाधारणको सुरक्षामा सबैले ध्यान दिऊन् भन्ने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ७ : ४४ बजे

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

भक्तपुर– विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज– चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा वीरगञ्ज

तनहुँको भिमादमा खानेपानी र सिँचाइका योजना सम्पन्न

तनहुँ– भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

सुनसरी- छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न

विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई