नेकपा सांसदहरुको अपिल : हामीलाई यो वा त्यो कित्तामा राखेर गन्ती नगर्दा हुन्छ « Khabarhub

नेकपा सांसदहरुको अपिल : हामीलाई यो वा त्यो कित्तामा राखेर गन्ती नगर्दा हुन्छ



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको निस्कर्षविहीन छलफलको शृङ्खला चलिरहेको छ ।

पछिल्लो चार महिनाभन्दा लामो समयदेखि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले अहिलेसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन् ।

नेकपा फुट्ने खतारा रहेको विश्लेषण भइरहँदा आइतबार भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका ६१ जना प्रतिनिधि सभा सदस्यहरुले पार्टी विभाजनको खतराबाट जोगान ‘सुदृढ पार्टी एकतको निम्ति हाम्रो प्रतिवद्धता’ भन्दै अभियान सुरु गरेका छन् ।

संघीय संसदको लेखा समितिका सभापति कृष्ण दाहालको संयोजकत्वमा ६१ जना सासंदहरुले सार्वजनिक रुपमा नेकपालाई फुटबाट जोगाउन अभियान थालेको आइतबार घोषणा गरेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका सांसदहरूले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ‘अब हामीहरु कुनै समुहमा रहेनौं, हाम्रो समुह नयाँ बनेका छ’ कार्यक्रममा उपस्थित वक्ताहरुले स्पष्ट पारेका छन् ।

‘यसअघि हामी कुनै न कुनै कित्तामा थियौं । तर, अब हाम्रो यहिँ समूहमा हामी एक भएर अगाडि बढ्छौं, हामीलाई यो वा त्यो कित्तामा भनेर गन्ती नगर्दा हुन्छ,’ समितिका संयोजक कृष्ण दाहालले भने ।

मन्त्रिपरिषद् सदस्य, स्थायी कमिटि सदस्य बाहेक केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसदहरु मिलेर नेतृत्वलाई पार्टी फुट होइन एकतावद्ध भएर अगाडि बढ्न दबाब दिन नयाँ समूहको आवश्यकता महसुस भएको नेताहरुको दाबी छ ।

पार्टी फुटको अवस्थामा गए सांसदहरुको भूमिका महत्वपूर्ण हुने भन्दै आफूहरु फुटको राजनीतिको विकल्पमा रहेको अर्थ समितिका संयोजक दाहालले बताए ।

अहिले नेकपामा अन्तर संघर्ष हावी भएको निष्कर्षसहित सांसदहरु एक भएका हुन् । उनीहरुले चुनाव अगाडि दुई कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरण विधि अनुसार भएको र त्यो एकता कायम राख्नुपर्ने भन्दै निष्पक्ष रुपमा आफूहरु अगाडि आएको बताएका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले अहिले नेकपामा दुई मत रहेको बताएकी छन् । उनले एक पक्षले पार्टी विभाजन गरेर भएपनि जाऔं भनेको र अर्को पक्ष होइन पार्टीलाई मिलाएर अगाडि बढौं भन्ने मतमा रहेको बताएकी छन् ।

‘हामीले नेतृत्वलाई सांसदहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्न सांकेतिक रुपमा अभियान सुरु गरेका हौं,’ सासद झाक्रीले भनिन् ।

यस्तै, कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली निकट भनिएका सांसद विशाल भट्टराईले नेतृत्वले अहिले उठाएका कुराहरुमा ध्यान नदिए आफूहरु अन्य विकल्पमा जाने बताएका छन् ।

‘हामीले पहिलो चरणमा यो अभियान सुरु गरेका छौं । यदि यसलाई अबमूल्यन गरियो भने दोस्रो चरणमा पार्टी कार्यालयमा धर्ना, नेताहरुको निवासमा धर्ना दिने जस्ता दबाबमूलक कार्यक्रम गर्ने छौं,’ भट्टराईले भने ।

यस्तै, प्रचण्ड निकट मानिएका सांसद गणेश पहाडीले जनतामा नेकपा फुटको चिन्ता बढेको यो अभियान अहिलेको आवश्यकता रहेको बताए ।

‘जनतामा अहिले नेकपा फुट्ने अवस्थामा त पुगेको होइन भनेर चिन्ता बढेको छ । तर, यसलाई रोक्न हामीले यो अभियान थालेका छौं,’ सासद पहाडीले भने ।

यस्तै, सासद नारदमुनी रानाले पार्टीको फुटलाई लिएर जनताहरु आफूसमक्ष प्रश्न तेर्साइरहेको बताएका छन् ।

उनले भने, ‘निर्वाचन पछि पार्टी एकता गर्छौं भन्नुभएको थियो, के पार्टी एकताताका सार्वजनिक गरिएका ५ बुँदाहरुले कुन विधिलाई निर्दिष्ट गर्छ ? के पार्टी फुटाउनकै लागि एकता भएको थियो ? भन्दै जनताले प्रश्न गर्न थालेका छन्,’ सासद रानाले भने ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ३३ बजे

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट

‘अबको केही महिनामा नेपाल र भारत दुवैतिरबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’

काठमाडौं– गत शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री