काठमाडौं- कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बेला मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने कार्य हाम्रो जीवनमा निकै बढेको छ।
हामी धेरैले यो शारीरिक आवश्यकता झैँ दिनमा कयौँपटक गर्ने गर्छौँ। पछिल्लो छ महिनामा जसरी यिनीहरूको आवश्यकता यसअघि कहिल्यै खड्किएको थिएन।
कोरोनाभाइरस विश्वव्यापी सङ्कटका रूपमा देखिएपछि मनतातो पानीमा कम्तीमा २० सेकेन्ड साबुन लगाएर हात धुने कुरा धेरै दोहोर्याइएको छ।
विश्व स्वास्थ्य सङ्गठनले हात धुने ठीक तरिका भन्दै विभिन्न सामग्रीहरू तयार पनि पारेको थियो।
इथियोपियामा गरिएको एउटा अध्ययनको प्रारम्भिक नतिजामा अस्पताल पुग्ने १ हजार जनामध्ये एक प्रतिशतभन्दा कमले मात्र सही तरिकाले हात धुने देखाइएको छ।
अमेरिकाको नर्थईस्टर्न युनिभर्सिटीका सहप्राध्यापक थोमस गिलभर्टका अनुसार कोरोनाभाइरसको रसायनिक संरचनालाई विथोल्न साबुन र तातो पानीले जस्तो अरू केही कुराले सक्दैन।
“यो भाइरसको आणुवंशिक पदार्थलाई घेर्ने एकखाले झिल्लीहरू हुन्छन्। तिनको संरचना चिल्लो हुन्छ,” गिलभर्ट भन्छन्। “यो त्यस्तो संरचना हो जसलाई साबुन र पानीले कमजोर पार्छ।”
साबुनपानीले हात राम्ररी धुने गर्दा भाइरसको आणुवंशिक संरचना अर्थात् आरएनए मर्न जान्छ र यो मानिसमा विकास हुन सक्दैन।
गिलभर्टको भनाइ छ: “हात धुने समय घटाउने बाहेक मैले यसबारे केही गुनासो सुनेको छैन। बीस सेकेन्ड भनेको हातमा साबुन दल्न र मिच्नका लागि हो।”
“यो समय साबुन र भाइरसको झिल्लीबीच रसायनियक अन्तरक्रिया हुने पर्याप्त समय समेत हो। तातो पानीले यो प्रकियालाई केही छिटो बनाइदिन्छ।”
ब्रिटेनको यूनिभर्सिटी अफ केन्टकका प्राध्यापक मार्टिन मिकएलिसले पानी एक्लैले भने भाइरसलाई निस्तेज पार्न नसक्ने बताउँछन्।
उनले भने: “खाना पकाउँदा जसरी हातमा तेल लागेमा पानीले मात्र धुँदा जाँदैन र साबुन लगाउनुपर्छ, कोरोनाभाइरसको हकमा समेत त्यस्तै हो।”
स्यानिटाइजरहरूको व्यापक प्रयोगले हात धुने कामको प्रभावकारिता भने केही छायामा परेको छ।
गिलबर्ट भन्छन्, “तपाईँ दिनभर घरमै हुनुहुन्छ र आसपासमा मानिसहरूको आउजाउ छैन भने चर्पी गएपछि वा खान पकाउनुअघि बाहेक अन्य समयमा हात धोइरहनु आवश्यक पर्दैन।”
“स्यानिटाइजरको आवश्यकता साबुनपानी उपलब्ध नहुने ठाउँका लागि मात्र हो।”
महामारीको सुरुतिर धेरैजसो मानिसहरू घरभित्रै भएपनि यूके सरकारका वैज्ञानिकहरूको सुझाव प्रत्येक केही घण्टामा हात धुनु भन्ने थियो।
कोभिड-१९ का बिरामीको रेखदेखमा बस्नेहरू भने छिटै हात धुन खोज्नसक्छन्।
त्यसैले निश्चित समयको फरकमा हात धुनेभन्दा पनि अवस्था हेरेर हात धुने अन्तराल निर्धारण गर्नुपर्छ।
“कोरोनाभाइरसको रसायनिक संरचनालाई विथोल्न सस्ता साबुन र गरम पानीलेजस्तो अरू केही कुराले सक्दैन।”
सामान्यत: साबुनका तुलनामा ह्याण्डवासहरू सजिलो र कम झण्झटिलो हुने भन्दै मानिसहरूको आकर्षण त्यसतर्फ हुने गरे पनि त्यो सही नभएको प्राध्यापक मिकएलिस बताउँछन्।
उनी भन्छन्: “त्यस्ता एन्टीभाइरल ह्याण्डवासको धेरै प्रयोगले हामीमा भविष्यमा समस्या समेत देखिने जोखिम हुन्छ।”
गिलभर्ट र मिकएलिस दुवैले कोरोनाभाइरससँग जुझ्नका लागि हात धुन चाहिने पानी पिउने गुणस्तरकै हुनुपर्छ भन्ने नरहेकोमा एकमत छन्।
मिकएलिस भन्छन्: “पिउन नसकिने पानीमा समेत तपाईँ पौडी खेल्नुहुन्छ किनकि तपाईँको शरीरको छालामा प्रतिरोधी क्षमता छ।”
हालै विश्व स्वास्थ्य सङ्गठनले जनाएअनुसार विश्वमा महामारी सुरु हुनुअघि प्रत्येक पाँचमध्ये दुई स्कुलमा मात्र पर्याप्त हात धुने सुविधा उपलब्ध थियो। बीबीसीबाट
प्रतिक्रिया