विधिपूर्वक समापन गरियो महालक्ष्मीको १६ दिने व्रत « Khabarhub

विधिपूर्वक समापन गरियो महालक्ष्मीको १६ दिने व्रत


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि शुरु गरेको १६ दिने महालक्ष्मी व्रत आज विधिपूर्वक समापन गरेका छन् ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमी अर्थात् आजका दिनसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ । यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य  दिई आज बेलुकी यो व्रत समापन गरिएको छ ।

यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख, दारिद्रय नाश भई सुख, शान्ति एवं ऐश्वर्य मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगवान् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उप प्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए।

यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ ।

बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने उनले बताए ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ । यी समयमा महालक्ष्मीको विधिपूर्वक पूजा आराधना गरेमा सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ३७ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न