गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै « Khabarhub

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो । विज्ञलाई अध्ययनमा सहभागी गराइने छ । निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैँडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रित हुनेछ ।

उनका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ ।

कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । गत दुई महिना नपुग्दै चोरी शिकारीबाट एउटा र प्राकृतिक कारणबाट सात वटा गैँडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो । अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने गत आवमा यो सङ्ख्या २६ रहेको थियो ।

मुख्यरुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाँधक बन्ने गरेको छन् । नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए । विभागले यसअघि पनि गैँडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैँडा प्राकृतिक कारणले र एउटा गैँडा तस्करले मारेका छन् । उहाँका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोथी गैँडा मृत फेला परेको थियो ।

उक्त गैँडा भालेको आक्रमणबाट मृत्यु भएको हो । भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो ।

यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५–३० वर्षको भाले गैँडा तस्करले मारेका छन् । उक्त गैँडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित रहेका थिए । असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा वृद्ध गैँडा मृत फेला परेको छ । उक्त गैँडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिए ।

यस्तै असोज १७ गते त्रिवेणीस्थित गण्डक नहरमा मृत गैँडा भेटिएको थियो । पैतीस वर्षको उक्त पोथी गैँडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उनले जानकारी दिए ।

यसैगरी असोज १९ गते एकै दिन दुई गैँडा मृत फेला परेका थिए । एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो । उक्त गैँडालाई नारायणीले बगाएको अनुमान गरिएको छ । अर्को १०–१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा सोही दिन मृत फेला परेको थियो । भिरालो जमिनमा लडेर उक्त गैँडा मरेको हो ।

असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैँडा मृत फेला परेको थियो । उक्त गैँडा नारायणी नदीले बगाएको हो । यस अवधिमा मरेका गैँडामध्ये चार वटा बाढीकै कारण मरेका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु