काठमाडौँ– गत जेठ २२ गते मृत्यु भएका सुर्खेतका १८ वर्षीय पुरुषको आरडीटी परीक्षणको नजिता नेगेटिभ आएको थियो । जेठ ८ गतेदेखि सुर्खेतको पञ्चपुरी नगरपालिकाको जनता माध्यमिक विद्यालयमा रहेका उनको जेठ २१ गते आरडीटी गरिएको थियो ।
नजिता नेगेटिभ आएपछि रमाउँदै घर गएका ती युवकको घर गएको दुई दिनपछि नै मृत्यु भयो । मृत्युपछि पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।
यस्तै, गत जेठ २३ गते सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी कैलालीकी महिलाको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो । ती महिलाको मृत्युपछि भएको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आयो ।
विज्ञहरूले कोरोना परीक्षणमा आरडीटी नगर्न सुझाव दिए पनि सरकारले निरन्तता दिइरह्यो । अझ, स्वास्थ्य मन्त्रालयले त कोरोना परीक्षण विधि तथा आइसोलेसनको नयाँ मापदण्ड बनाउँदै क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी मात्र गर्ने निर्णय गर्यो ।
कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्र परीक्षण गर्ने र एकपटक परीक्षण गरी संक्रमण पुष्टि भएका व्यक्तिको समेत पुनः परीक्षण नगर्ने निर्णय ग¥यो । हाल पुनः परीक्षण नगरी अस्पतालबाट डिस्चार्ज हुने गरेका छन् ।
सरकारले आरडीटीलाई निरन्तरता दिएर पीसीआर परीक्षणको दायरा खुम्च्याएको भन्दै संसदमा समेत प्रश्न उठेको छ । आरडीटी रोकेर पीसीआर परीक्षणको दायरा बढाउन माग भएको छ ।
आरडीटी टेष्ट किटको विषयमा संसदमा प्रश्न उठेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबारको संसद बैठकमा आरडीटी किट स्क्रिनिङका लागि मात्र प्रयोग भएको बताए ।
उनले क्वारेन्टाइनमा रहेका व्यक्तिमा १४ दिनपछि शरीरमा कोरोनाको एन्टीबढी प्राप्त भएको छ कि छैन भनेर अध्ययन गर्नमात्र आरडीटी परीक्षण गरिएको जानकारी दिए ।
‘विश्व स्वास्थ्य संगठनले आरडीटी परीक्षणलाई अध्ययन र अनुसन्धानका निम्ति प्रतिबन्ध लगाएको छैन, केसको एकिन गर्न आरडीटी भन्दा पीसीआर ठिक छ भन्ने कुरा सैद्धान्तिकरूपमा पनि सरकारले स्वीकृति दिएको छ,’ मन्त्री ढकालले भने, ‘आरडीटी गर्दा पोजेटिभ देखियो भन्ने आधारमा संक्रमित हो भनेर पुष्टि गरेका छैनौँ । त्यसपछि पीसीआर गरेका छौँ ।’ उनले पीसीआर परीक्षणको दायरा बढाउने बताए ।
स्वास्थ्य मन्त्रालयले नेपालमा आरटी पीसीआर र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुई विधिबाट कोरोना परीक्षण गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको विवरणअनुसार पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।
यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख१० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकले सरकारले पीसीआर भन्दा आरडीटीमै जोड दिएको देखाउँछ ।
मंगलबार संसदमा मुख्य विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले आरडीटी परीक्षणको विषयमा संसदम आवाज उठाए । उनले आरडीटी किटको औचित्य नभएको बताए ।
थापाले विज्ञहरूको भनाइअनुसार आरडीटी विश्वसनीयता र औचित्य दुवै नरहेको ठोकुवा गर्दै आरडीटी गर्नुलाई अपराधको संज्ञा दिए । उनले भने, ‘जबरजस्ती आरडीटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिने हामीलाई जवाफ चाहिन्छ ।’
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको आरोप लगाए । ‘सरकारको असक्षमताको कारणले आज हामीले यो अवस्था व्यहोर्नु परेको छ,’ थापाले भने, ‘यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्दैन ।’
सोमबार संसदमा स्वास्थ्यमन्त्री ढकालले अध्ययनका लागि मात्र आरडीटी परीक्षण गरिएको बताएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरूले आरडीटीभन्दा पीसीआर परीक्षण नै उपयक्त हुने बताएका थिए ।
नेपालमा कोरोना संक्रमितको संख्या र मृत्यु बढेको अवस्थामा आरडीटी परीक्षणबाट अध्ययन गर्ने समय नभएको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेको भनाइ छ ।
‘स्वास्थ्यमन्त्रीले संसदमा आरडीटी परीक्षण सर्वे गर्नलाई प्रयोग गरेको भन्नुभयो, अहिले नेपालमा पीसीआर परीक्षण गर्नलाई सामग्री छैन,’ पाण्डेले खबरहबसँग भने, ‘स्वास्थ्य मन्त्रालयले अहिले सर्वेका लागि किन खर्च गर्ने ? कोरोना संक्रमण फैलिँदै छ, ७२ जिल्लामा संक्रमण पुगिसक्यो, योभन्दा ठूलो सर्वे के चाहियो ?’
क्वारेन्टाइनमा भएकाको कोरोना परीक्षण नगर्नु र संक्रमितको पुनः परीक्षण नगर्नु काम गर्न नसकेर आत्मसमर्पण गरेजस्तै भएको उनको टिप्पणी छ । डा. पाण्डेले खबरहबसँग भने, ‘कोरोना संक्रमण भएको ८ देखि १० दिनपछि मात्र आरडीटी पोजेटिभ देखिन्छ, त्यसमा भाइरस होइन, एन्टीबढी हेर्ने हो, आरडीटीको नतिजा ३० देखि ५० प्रतिशतसम्म गलत आउँछ ।’
उनले अहिलेको स्वास्थ्य मन्त्रालयको नेतृत्वले कोरोना संक्रमण नियन्त्रण आउन नसक्ने टिप्पणी गरे । उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा भिजन भएको नेतृत्व र अनुभवी सल्लाहकार तथा कोरोना नियन्त्रणको मिसन लिएर काम गर्ने कर्मचारी नभएसम्म कोरोना नियन्त्रण गर्न एकदमै गाह्रो छ ।’
भारतीय सीमा नाकाहरूमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरेर काम गर्नुपर्ने बताए । डा. पाण्डेले भने, ‘ल्याब सञ्चालनका लागि नेपालमा जनशक्ति अभाव छैन, अहिले काम पाएनौं भनेर बसिरहेका माइक्रोबायोलोजष्टिहरूलाई सामान्य तालिम दिएर व्यवस्थापन गर्न सकिन्छ ।’
व्यवस्थापन राम्रो नहुँदा क्वारेन्टाइनबाटै संक्रमण फैलिएको उनको भनाइ छ । उनका अनुसार समयमा कोरोना संक्रमतिको पहिचना नहुँदा कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या हुने उनको भनाइ छ ।
डा. पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूसँग कोरोना नियन्त्रणको विषयमा लिएको सल्लाहअनुसार काम नभएको पनि बताए । ‘प्रधानमन्त्रीलाई हामीले आरडीटी बन्द गरेर पीसीआर परीक्षणको दायरा बढाउन सुझाव दिएका थियौँ,’ डा. पाण्डेले भने, ‘प्रधानमन्त्रीले त तपार्इंहरूले दिएको सल्लाह नुसार काम गर्छौं भन्नुभएको थियो तर स्वास्थ्य मन्त्रालयले उल्टो गरिरहेको छ, हामी अचम्मित छौँ ।’
टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि आरडीटी गरेर बस्नु उपयुक्त नहुने बताए । ‘अहिले पीसीआरलाई नै महत्व दिनुपर्छ,’ उनले भने, ‘संक्रमण नियन्त्रण गर्न पीसीआर परीक्षण नै चाहिन्छ, अहिलेको समयमा परीक्षण, पहिचान र नियन्त्रण नै महत्वपूर्ण कुरा हो ।’
आरडीटी सुरुदेखि नै विवादित
स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रियामा आरडीटी किट ल्याउन लागेको विवरण सार्वजनिक भएदेखि नै स्वास्थ्य क्षेत्रका विज्ञहरूले सजग गराएका थिए ।
आरडीटी किट खरिद भएकै समयमा विज्ञहरूले गुणस्तरको विषयमा प्रश्न उठाएपछि स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गत चैत १९ गते एक विज्ञप्तीमार्फत किटको गुणस्तर निक्र्यौल गरेर मात्र प्रयोग गर्ने बताएका थिए ।
‘सरकारले खरिद गरेको आरडीटी किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो,’ चैत १९ गते जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।
विज्ञहरूको सुझाव बेवास्ता गर्दै सरकारले चैत २२ गते मन्त्रिपरिषद् निर्णयबाट आरडीटी किट प्रयोग गर्ने निर्णय गर्यो । आरडीटीबाट पोजेटिभ देखिए पीसीआर परीक्षण गरी संक्रमण भए–नभएको यकिन गर्ने निर्णय गर्यो ।
आरडीटी विधिबाट गरिएको परीक्षणमा पोजेटिभ आए पीसीआर विधिबाट परीक्षण गर्ने र पीसीआर रिपोर्ट नेगेटिभ आए संक्रमित मानिँदैन ।
आरडीटी नतिजा नेगेटिभ भए पनि पीसीआर परीक्षण नजिता भने पोजेटिभ आएका घटनाहरू पनि सार्वजनिक भएका छन् । आरडीटी नेगेटिभ भनेर पठाइएका युवकको घर पुगेको दुइै दिनपछि मृत्यु भयो र मृत्युपछि पीसीआर नजिजा पोजेटिभ देखियो ।
सरकारको आरडीटी मोहले संक्रमितको ज्यान भने जोखिममा परेको छ ।
प्रतिक्रिया