२०७६ मा नेपाली खेलकुद : आठौँ राष्ट्रिय खेलकुद र साग मुख्य सफलता | Khabarhub Khabarhub

२०७६ मा नेपाली खेलकुद : आठौँ राष्ट्रिय खेलकुद र साग मुख्य सफलता


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको त्रासले नेपाल खेलकुदमा क्षेत्रमा वर्ष २०७६ को विदाइ निरस भएको छ । नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुदबाट सुरु भएको वर्षको विदाइ सबै खेल गतिविधि बन्दबाट भएको छ ।

कोरोना संक्रमणको त्रासलाई बाहेक गरेर हेर्दा यस वर्ष खेल नतिजामा नेपाल निकै सफल भएको छ । नेपालले यसै वर्ष दक्षिण एशियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गर्‍यो अनि लक्ष्य अनुसार नतिजा पनि हात पार्दै दोस्रो स्थान बनायो ।

यही वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा रमेशकुमार सिलवाल कार्यकारी पदमा नियुक्त भए । उनकै नेतृत्वमा नेपालले साग आयोजना गर्‍यो । यसको खर्चबारे भने अहिलेसम्म पनि राखेप नेतृत्व मौन छ ।

खेल गतिविधिमा नेपालमा यो वर्ष क्रिकेट अलि बढी चर्चामा रह्यो । नेपाली फूटबल टोलीले फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तर्गतका खेल खेल्यो । महिला भलिबल टोलीले ऐतिहासिक स्वर्ण पदक भित्र्यायो । खेलकुदमा यो वर्ष नेपाल निकै व्यस्त रह्यो ।

नेपाल ओलम्पिक कमिटीको वार्षिक साधारणसभा भयो जसबाट जीवनराम श्रेष्ठ अध्यक्षमा दोहोरिए ।

राखेप नेतृत्व परिवर्तन र साग

वैशाखमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन गर्दै तत्कालीन सदस्यसचिव केशवकुमार बिष्ट विदा भए । त्यसको झण्डै दुई हप्तापछि असार २३ गते नेतृत्वको जिम्मेवारीमा आए सिलवाल ।

कार्यभार सुरु गर्दा उद्घोष गरेको मुख्य काम उनले पुरा गरेका छन् । साग मंसिरमा हुन्छ कि हुँदैन भन्ने अन्योलका बीच नेतृत्व सम्हाल्न आएका सिलवालले सरकार र विभागीय मन्त्रीको राम्रो साथ पाए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने सिलवालले बलियो आत्मविश्वासका साथ काम अघि बढाए ।

सिलवाल नेतृत्वमा आउँदा सागमा खेल स्थलको भौतिक पूर्वाधारमै अन्योल थियो । उद्घाटन स्थल दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ सिस्टमसहितको पौडी पोखरी र पोखरा रंगशालाको काम चलिहरको थियो । सरकारको साथ र सदस्य सचिव सिलवालको प्रतिबद्धताले मंसिरमै साग आयोजना भयो ।

ऐतिहासिक सफलता

वर्ष २०७६ मा नेपाली खेलकुदमा सबैभन्दा ठूलो लगानी भएको प्रतियोगिता हो १३औँ दक्षिण एसियाली खेलकुद (साग) । काठमाडौं, पोखरा र जनकपुर तीन ठाउँमा मंसिर १५–२४ मा आयोजित सागमा करिब ५ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । खर्चअनुसार सागमा नेपालले अहिलेसम्मकै उच्च सफलता पनि पायो ।

सागमा कम्तीमा ५० स्वर्ण पदक हात पार्ने लक्ष्य थियो । लक्ष्यअनुसार नेपालले ५१ स्वर्णसहित पदक तालिकामा दोस्रो स्थान बनायो । यसैगरी नेपालले ६० रजत र ९६ कास्यसहित कुल २०७ पदक हात पार्‍यो । नेपालले विभिन्न १३ खेलबाट ५१ स्वर्ण हात पारेको थियो । नेपाल सहभागी २८ खेलमा सुटिङ खेलबाहेक सबैमा पदक प्राप्त भयो ।

सागमा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपालको व्यवस्थापनमा भने अनेक त्रुटि भेटियो । खेलस्थलदेखि खेलाडीको यातायातसम्म त्रुटि भयो । सुटिङ खेलाडीले त आफ्ना पाहुना प्रतिद्वन्द्वीकै बन्दुकले प्रतिस्पर्धा गर्नु पर्‍यो । सुटिङबाट पदकको आशा सफल हुन सकेन ।

राखेप सदस्य सचिव सिलवालले साग सम्पन्न भएको ९० दिनभित्र खर्च विवरण सार्वजनिक गर्ने भनेका थिए । चार महिना पूरा भइसक्दा पनि आर्थिक प्रतिवेदन सार्वजनिक गर्न सकेका छैनन् ।

क्यानको पुनर्जन्म र कप्तानको राजीनामा !

यो वर्ष नेपाली क्रिकेट नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा, एक दशक टोलीको नेतृत्व गरेका कप्तान पारस खड्काको राजीनामा, ज्ञानेन्द्र मल्लको कप्तानी र प्रशिक्षक उमेश पटवालको राजीनामा लगायतले चर्चामा रह्यो ।

असोज ११ गते चतुरबहादुर चन्दको नेतृवमा क्यानले पुनर्जन्म पायो । तदर्थ समितिको समन्वयमा क्यानको निर्वाचन भएको थियो । नयाँ नेतृत्व आएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले असोज २७ गते क्यानमाथिको प्रतिबन्ध सशर्त फुकुवा गर्‍यो ।

आईसीसीले क्यान फुकुवा गरेको भोलिपल्ट, असोज २८ गते, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अप्रत्यासितरूपमा कप्तानीबाट राजीनामा घोषणा गरे ।

सन् २००९ देखि राष्ट्रिय टोलीको नेतृत्व गरेका पारसको राजीनामासँग जोडेर नेपाली क्रिकेटको भविष्यको चर्चा पनि भयो । पारसको स्थानमा उपकप्तान ज्ञानेन्द्र बढुवा भए ।

ज्ञानेन्द्रको नेतृत्वमा नेपालले सागमा र आईसीसी विश्वकप लिग २ खेल्यो । दुवै खेलमा नेपालको प्रदर्शन मिश्रित रह्यो । लिग २ अन्तर्गत ओमान र अमेरिकासहितको त्रिकोणात्मक शृंखलामा अमेरिकामाथि जित हात पारे पनि ओमानसँग पराजित भयो ।

यो वर्ष क्रिकेट प्रशिक्षक पटवालको राजीनामासँगै सकिएको छ । क्यान नयाँ प्रशिक्षक खोजिमा छ । यही वर्ष नेपालले महत्वपूर्ण दुई वटा टि–२० प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्‍यो ।

टि–२० विश्वकप छनोटको एसिया फाइनलबाटै विश्वकपको दौडबाट बाहिरियो । एसीसी इस्टर्न रिजन क्रिकेट कपमा नेपाल दोस्रो चरण पुग्न सकेन । प्रशासनिकरूपमा क्रिकेटमा सफल भए पनि मैदानमा भने फिक्का भयो ।

खेलाडी प्रतिबन्ध र एन्फाको किचलो

नेपाली फूटबल यो वर्ष कुनै न कुनै चर्चामै रह्यो । पदाधिकारीबीचको किचलो, खेलाडीमाथि प्रतिबन्ध, सागमा स्वर्णपदक र उमेरसमूहमा कमजोर प्रदर्शनजस्ता विषयले नेपाली फूटबल चर्चामा रह्यो । अन्तर्राष्ट्रिय मैदानमा निराशाजनक नतिजाले पनि नमिठो बनायो ।

वर्षको मध्यतिर नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत संयुक्त छनोट खेलेको थियो । त्यसमध्ये पहिलो खेलमा कुवेतसँग ७–० गोलको फराकिलो हार ब्यहोर्‍यो । लगत्तै चाइनिज ताइपेइविरुद्धको खेलमा २–० गोल अन्तरको जित हात पार्दै नेपाली फूटबलप्रेमीलाई केही आशा दिलायो । नेपालभन्दा बलिया अस्ट्रेलिया (५–०) र जोर्डनसँग (३–०) को नतिजा हात पारेको थियो ।

दशरथ रंगशाला तयार नभएपछि नेपालले कुवेतसँगको होम गेम अन्तर्गतको खेल भुटानमा खेल्नु पर्‍यो । फिफा र एएफसीले होम ग्राउण्डका रूपमा भुटान छानेको थियो । भुटान जानु अघिल्लो रात ४ जना खेलाडी नाइट डिस्को गएपछि उनीहरूमाथि प्रतिबन्ध लगाएको विषयले खुबै चर्चा पायो ।

विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिनको तथा अञ्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिनको प्रतिबन्धसहित चारै जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय एन्फाको अनुशासन समितिले गर्‍यो ।

यसै वर्ष काठमाडौंमा आयोजना भएको यु १८ साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग पराजित भएपछि नेपाल उमेरसमूहमा कमजोर बन्दै गएको भनेर आलोचना भयो ।

यस वर्ष एन्फाभित्रको राजनीतिले पनि खुबै चर्चा पायो । अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यशैलीप्रति रुष्ट समूहले लगातार विरोध गरिरह्यो । विदेश विभाग प्रमुख नवीन पाँडे एन्फाबाट बाहिरिए भने वरिष्ठ उपाध्यक्षले नोट अफ डिसेन्ट लेखेर विरोध जनाए ।

महिला भलिबलमा ऐतिहासिक स्वर्ण

यस वर्ष राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक सफलता हात पार्‍यो । पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन बन्दै टोलीले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हासिल गर्‍यो ।

महिला टोलीले सागमा रजतपदक जितेर इतिहास बनायो । नेपाल भलिबल संघले गत साउनमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो, एभिसी सेन्ट्रल जोन पुरुष भलिबल । यसमा नेपाली टोलीले अपेक्षित नतिजा हासिल गर्न नसके पनि संघले यति ठूलो प्रतियोगिता आयोजना गर्नु सकारात्मक मानियो

व्यक्तिगत स्पर्धा

यो वर्ष केही खेलाडीहरूको प्रदर्शनले उनीहरू बढी चर्चा रहे । सागमा ४ स्वर्ण जितेकी पौडिकी गौरिका सिंह र तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ सागमा दुई—दुई स्वर्ण जितेर चर्चामा रहे ।

गौरिकाले सागमा नेपालका लागि ४ स्वर्ण, २ रजत र ३ कास्यसहित ९ पदक हासिल गरिन् । सागमा एकै जनाको यो जित यसअघि कसैको थिएन । शाक्य, श्रेष्ठ र तामाङ दुई–दुई स्वर्ण जित्दै चर्चामा रहे ।

यस वर्ष ब्याडमिन्टनका प्रिन्स दाहाल पनि चर्चाको शिखरमा रहे । उनले दुवै इन्टरनेशनल सिरिजमा लगातार दोस्रो पटक स्वर्ण जिते । त्यसयता जुनियरतर्फको विश्व बरियतामा उनी शीर्ष १० भित्र पर्न सफल भएका छन् । यसअघि नेपालबाट कुनै पनि खेलाडी शीर्ष १० मा पुग्न सकेका थिएनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : १५ बजे

पतञ्जलिको जग्गा बिक्रीमा भ्रष्टाचार : माधव नेपालसँगै तानिए सूर्यविनायकका मेयर, किनेको जग्गा जफत हुने

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध

‘सचिवले कानुनविपरीतको फाइल अस्वीकार गर्ने हो, मन्त्री र प्रधानमन्त्रीको दबाबमा परेँ भन्न पाइँदैन’

काठमाडौं — काभ्रेपलाञ्चोकको पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा र हदबन्दी

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो

सरकारी कर्मचारीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउँदै मन्त्री पौडेल

काठमाडौं– सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई