काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।
श्रीकृष्ण जन्माष्टमकी अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।
विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
प्रतिक्रिया