फस्टाउँदो अवैध हुन्डीको धन्दा, अनुमतिप्राप्त वैध च्यानलसमेत संलग्न | Khabarhub Khabarhub

फस्टाउँदो अवैध हुन्डीको धन्दा, अनुमतिप्राप्त वैध च्यानलसमेत संलग्न

रेमिट्यान्सको ३० प्रतिशतसम्म हुन्डीबाट कारोबार



काठमाडौं– सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले १६ लाख रुपैयाँ नगदसहित एक जना हुन्डी कारोबारी भारतीय नागरिकलाई पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माइस्थान चोकबाट १६ लाख नगदसहित भारतीयलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन रहेका छन् । एसपी पन्त भन्छिन्, ‘भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्दा उनिबाट १६ लाख नगद बरामद् भएको हो ।’

अहिले जैनमाथि बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

केही दिनअघि मात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एक करोड रुपैयाँ सहित तीन जना हुन्डी करोबारीलाई पक्राउ गरेको थियो ।

सीआइवीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार, पक्राउ पर्ने झापाका कमल मित्तल, विकास मित्तल र पर्वतका गणेश पौडैलले लामो समयदेखी काठमाडौंका हुन्डीको कारोरबार गर्दै आएको खुलेको छ ।

डीआइजी थापाले भने, ‘पक्राउ परेका तीन जनाले हुन्डीको रकम चीन पठाउन लागेको खुलेको छ । उनिहरुले बीच्याट, भाइवर लगायतको प्रयोग गरि उनीहरुले हुन्डीको रकम पठाउने गरेका छन् ।’ हुन्डी कारोबारीले नेपालबाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

हुन्डीबाटै २ खर्ब बढीको कारोबार

राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्सको करिव ३० प्रतिशत अर्थात २ खर्ब २० अर्ब रकम हुन्डी लगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ ।

गैरकानूनी हुन्डी कारोबारमा रेमिट्यान्स कारोबार गर्ने अनुमतिप्राप्त वैध च्यानलको प्रयोग हुने गरेको देखिएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली आन्तरिक रेमिट्यान्सका च्यानल प्रयोग गरेर हुने हुन्डी कारोबार विदेशमा रहेका नेपालीसँगको मिलेमतोमा हुँदै आएको बताउँछन् ।

मैनाली भन्छन्, ‘पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतलगायतका देशमा मात्र नभई खाडी मुलुकहरूमा समेत हुन्डी कारोबारलाई आन्तरिक रेमिट्यान्स च्यानलसँग जोड्ने क्रम बढेको छ ।’

यसरी हुन्छ हुन्डी कारोबार

रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्लका अनुसार, हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।

दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । मल्लका अनुसार नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ ।

नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरुमार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पुर्‍याइदिने त्यसमाथि धेरै शुल्क पनि नलाग्ने भएपछि हुन्डीमा आकर्षित हुने बढेका हुन् ।

हुन्डी नियन्त्रण नहुँदा बढ्यो अपराध

हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको सीआइवी प्रमुख डीआईजी सहकुल थापाको अनुभव छ । उनका अनुसार, नेपालबाट ठूलो मात्रामा लागूऔषध विभिन्न देशमा तस्करी हुने गरेको छ ।

यसरी तस्करी हुने लागूऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ । हुन्डीको अवैध कारोबारसँगै सुन तस्करी पनि मौलाएको छ ।

लागूऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरूका अनुसार नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको छ भने त्यसको लेनदेन हुन्डीमार्फत नै हुने गरेको छ ।

कानूनी अड्चन

सरकारले हुण्डी कारोबारलाई अवैध माने पनि कारबाही गर्ने कानूनी व्यवस्था भने छैन । हुण्डी कारोबार गर्ने तौरतरिका फेरिइसक्दा पनि साढे पाँच दशक पुरानो विदेशी विनिमय ऐन, २०१९ का आधारमा मुद्दा चलाउने गरिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली स्पष्ट कानून नहुँदा हुण्डीका कारोबारीलाई कारबाही गर्न कठिन भइरहेको बताउँछन् । पूर्वडिआइजी मल्लकाका अनुसार हुन्डी कारोबार नियन्त्रण गर्न सरकारले नीति नै परिमार्जन गर्नुपर्छ । अर्को कुरा पुर्णतः इनफोर्समेन्ट नै हो । कारबाहीको दायरा बढाउँदै लैजाने हो भने हुन्डी कारोबार विस्तारै नियन्त्रणमा आउँछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : ३७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी