काठमाडौं – चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप लगाएको छ ।
पत्रिकाले लामो रिपोर्ट प्रकाशित गर्दै चीनले सीमा मिचेको झूठो खबर फैलिनुमा नेपाली कांग्रेसको मुख्य हात रहेको दाबी गरेको छ । उक्त पत्रिकाले केही नेपाली विज्ञहरूलाई पनि उल्लेख गरेको छ । साथै, नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको संज्ञा दिएको छ ।
चीनको मुखपत्र भनेर चिनिने ग्लोबल टाइम्सले रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई मुख्य आरोप लगाएको छ । शाहीले चीन विरोधी भूमिका खेल्न पहल गरेको पत्रिकाले दाबी गरेको छ ।
यसअघि शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएको थियो ।
शाहीको उक्त भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतको हवाला दिँदै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पत्रिकाले दाबी गरेको छ ।
ग्लोबल टाइम्सले नेपालीमा अदृश्य वैदेशिक लगानी रहेको र भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन कोशिश गरेको समेत दाबी गरेको छ ।
प्रतिक्रिया