दोहा- साउदी अरबमा १४ सयभन्दा बढी नेपाली स्वदेश फिर्तिका लागि बहिर्गमन (एक्जिट) भिसाको पर्खाइमा रहेका छन् ।
साउदीको विभिन्न कम्पनीहरुले आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका कारण कम्पनी छाडेर भागेका १४ सयभन्दा बढी नेपालीले साउदीस्थित नेपाली दूतावास र जेद्धास्थित महाबाणिज्य दूतावासमा स्वदेश फिर्तिका लागि निवेदन दिएका छन् ।
दूतावासका अनुसार एक्जिट भिसाका लागि ठूलो सङ्ख्यामा निवेदन परेपछि सो निवेदनको सूची साउदीको अध्यागमन बिभागमा बुझाइएको छ ।
दूतावासको अनुरोधमा त्यहाँका विभिन्न कम्पनीहरूमा कार्यरत श्रमिकलाई आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिँदै आएको छ ।
यसरी एक्जिट भिसा प्राप्त गरेका व्यक्तिले आफ्नै खर्चमा हवाई टिकट लिई ६० दिन भित्रमा मुलुक छोडिसक्नु पर्ने हुन्छ ।
थप ६८ नेपालीलाई बहिर्गमन भिसा
साउदी अरबले गैरकानूनी रुपमा बसेका नेपालीहरुध्ये पछिल्लो पटक थप ६८ जनालाई एक्जिट (बहिर्गमन) भिसा दिएको छ ।
नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार ३४८ जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।
प्रतिक्रिया