रोकिएन नक्कली लाइसेन्सको धन्दा | Khabarhub Khabarhub

रोकिएन नक्कली लाइसेन्सको धन्दा

३० हजारदेखि एक लाखसम्ममा किनबेच



काठमाडौँ– सवारी साधन चलाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य चाहिन्छ ।

विना लाइसेन्स सवारी कुदाउने पनि छन् बजारमा । अनि नक्कली लाइसेन्स बोक्नेको पनि कमी छैन ।

गत २४ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थना नक्कली लाइसेन्ससहित एकजनालाई पक्राउ गर्‍यो । प्रहरीले सिन्धुपाल्चोकका आशिष गिरीलाई नक्कली लाइसेन्स र कारसहित पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार गिरीले यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलमतोमा मृत्त व्यक्ति र समयमा नवीकरण नगरी खारेज भएका नम्बरमा नाम, ठेगाना परिवर्तन गरी नक्कली स्मार्ट लाइसेन्स बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भट्टराई भन्छन्, ‘सिन्धुपाल्चोक घर भएका आशिष गिरी केही वर्षअघिसम्म बसमा सहचालक थिए । त्यसपछि यातायात व्यवस्था कार्यालय बाहिर सहयोगी हुँदै बिचौलिया बनेर नक्कली लाइसेन्सको काम गर्दे आएको खुलेको छ ।’

गिरीलाई महाशाखाको पीडित सहायता इकाईबाट खटिएको टोलीले उनी चढ्ने बा १५ च ४६८४ नम्बरको आइ ट्वान्टी कार, ३८ थान नक्कली सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको हो ।

प्रहरी अधिकारीका अनुसार उनले विदेशमा बस्ने नेपालीका लागि पनि लाइसेन्स बनाउने गरेका छन् । त्यसका लागि उनले एउटा लाइसेन्सको ३० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म लिने गरेका थिए ।

केही वर्षअघिसम्म बसका सहचालक रहेका गिरीले नक्कली लाइसेन्स बनाएरै काठमाडौँमा घर, गाडी र बैंक ब्यालेन्स जोडेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो प्रतिनिधीमुलक उदाहारण मात्र हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्ष ५ महिनामा १०६ वटा नक्कली सवारी चालक अनुमतिपत्र भेटिएका छन् ।

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार नक्कली लाइसेन्स बनाउन विचौलियासँग यातायाताका कर्मचारी र ट्राफिक प्रहरीको समेत मिलेमतो देखिएको छ । यातायात व्यवस्था विभाग भने मिलेमतोको कुरा स्वीकार्दैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल नक्कली लाइसेन्स बनाउन बाहिरी व्यक्ति वा दलाल र विचौलियाको हातहुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘नक्कली लाइसेन्स बनाउन विभागका कर्मचारीको मिलेमतो देखिएको अहिलेसम्म भेटिएको छैन । बाहिरी विचौलियाहरुले बाहिर नै छापेको हुनसक्छ।’

यता महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख एसएसपी जनक भट्टराई पनि नक्कली लाइसेन्स बनाउने गिरोहले छाप र कार्ड आफै बनाउने गरेको दाबी गर्छन् ।

कति लाइसेन्स नक्कली ?
दुई वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एउटा गिरोहले दैनिक १२ वटासम्म सवारी चालक अनुमतिपत्र बिक्री गर्ने भनेर प्रहरीलाई बयान दिएको थियो ।

त्यो गिरोहले ६ वर्षदेखि निरन्तररुपमा नक्कली सवारी चालक अनुमति पत्र बनाएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार, त्यो समूहले मात्र प्रहरीले पक्राउ गरेको अवधिसम्म २६ हजारभन्दा बढी नक्कली लाइसेन्स बनाएको देखिन्छ । त्यसबाहेक अन्य विभिन्न गिरोहले पनि लाइसेन्स बनाइरहेका छन् ।

यातायात व्यवस्था विभागमा दर्ता भएको सवारी र लाइसेन्स लिनेहरुको तथ्याङ्क हेर्दा पनि नेपालमा ४० हजार जति नक्कली लाइसेन्स भएको अनुमान गर्न सकिन्छ । यद्यपी आधिकारिक तथ्याङ्क भने कसैसँग छैन ।

कस्तो ट्रेण्ड ?
जानकारहरुका अनुसार नक्कली लाइसेन्सको धन्दा गर्नेहरुले सुरुमा सवारी लाइसेन्स आवश्यकता भएका व्यक्तिहरुको पहिचान गर्छन् र उनीहरुको क्षमता अनुसारको रकम माग गर्छन् ।

अनुसन्धान अनुसार कम्तिमा ३० हजार र त्योभन्दा माथिको रकम दिएपछि नक्कली लाइसेन्स तयार गरेर दिन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकोसमेत जिम्मेवारी सम्हालिसकेका पूर्वडीआइजी केशव अधिकारीका अनुसार त्यस्तो नक्कली लाइसेन्स कहाँ बन्छ ? कसले बनाउँछ ? ल्याउने को हो ? भन्ने विषय भने गुपचुप नै राखिन्छ ।

अनुसन्धान अनुसार यस्ता गिरोहले नेपालमा भन्दा विदेश जानेका लागि लाइसेन्सको ब्यापार गर्ने गरेका छन् । दैनिकजसो हुने सवारी दुघर्टनाको एउटा कारणमा नक्कली सवारी अनुमतिपत्रका आधारमा सवारी चलाउनु पनि रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : १७ बजे

युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसको व्यापार नै २२.९ मिलियन

दुबई– संयुक्त अरब इमिरेटस अर्थात् युएईमा ‘फेयर कम्पेक्सन’को क्रेज बढ्दै

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदुषण एक सातादेखि उच्च रहेको छ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता (तस्बिरहरू)

बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

लुटेरासँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड पराजुली पुरस्कृत

काठमाडौं– भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड तुलप्रसाद पराजुलीलाई पुरस्कृत