कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण सारा विश्व थलिएका बेला हलिउड सिनेमाका सुपरहिरोहरूको चर्चा हुन थालेको छ ।
सुपरहिरोले सिनेमाको पर्दामा महामारीका बेला आफूमा भएको असीमित शक्तिले परिस्थितिलाई सामान्य बनाउने तागत राख्छ । यतिबेला भने सुपरहिरोहरू कोरोनाको ‘लकडाउन’ मा छन् ।
हलिउडमा प्रश्न उठ्न थालेको छ– के अब हलिउडमा सुपरहिरोका सिनेमा रुचाइएलान् ?
स्पाइडरम्यान, आइरनम्यान, सुपरम्यान, डक्टर स्ट्रेन्ज जस्ता सुपरहिरोका सिनेमाले हलिउडमा हङ्गामा मच्चाइरहेका छन् । त्यसो त कतिपय समीक्षकले यी सिनेमालाई सिनेमा नै होइनन् पनि भनेका छन् तर यिनै सिनेमा विश्वभर प्रचलित छन् ।
मार्भल, डिज्नी र डिसी कमिकका यस्ता सिनेमाले संसारमै सबैभन्दा बढी कमाइ गर्ने सिनेमाको रेकर्ड बनाएका छन् ।
नेपालमा भने यस्ता सिनेमाको परिकल्पना नै छैन । मेकरले मौलिक कथा खोज्न त थालेका छन् तर विविधता दिन सकेका छैनन् ।
नेपालमा एक वर्षमा मुश्किलले आधा दर्जन सिनेमाले नाफा कमाउँछन् । सबै सिनेमाहरू एकनासका हुँदा दर्शकले हेर्न आवश्यक पनि ठान्दैनन् ।
कोरोना महामारीपछि नेपाली सिनेमाको स्वरूप परिवर्तन होला ? अहिले यो बहसको विषय बनेको छ ।
कोरोना भाइरसका कारण हलिउडले अर्बौंको क्षति बेहोर्नुपरेको छ । बलिउड पनि पूरै घाटामा छ । विश्वका सबै ठूला सिनेमा उद्योग क्वारेन्टाइनमा छन् । यसले सिनेमा उद्योगलाई मात्र नभएर राज्यलाई पनि ठूलो क्षति पुर्याएको छ । नेपालमा भने हल सञ्चालक र केही चल्तीका कलाकारबाहेक अरूलाई खासै प्रभाव परेको छैन ।
कोरोना महामारीपछि विश्वमै सिनेमा मेकिङमा परिवर्तन आउनसक्ने अनुमान गरिएको छ । नेपाली सिनेमा पनि यो महामारीपछि नयाँ लयमा बग्ने धेरैको विश्वास छ ।
रिलिजको पर्खाइमा रहेका सिनेमा कोरोना भाइरसका कारण रोकिएका छन् । हलिउड र बलिउडका ठूला बजेटका सिनेमा पनि रिलिज हुन सकेका छैनन् ।
महामारीपछि नेपाली सिनेमा प्रदर्शनमा सानोतिनो प्रतिस्पर्धा हुने निश्चित छ । विदेशी सिनेमाले पनि नेपाली सिनेमालाई प्रभाव पार्नेछन् । नेपालका मल्टिप्लेक्स हलमा बलिउड र हलिउड सिनेमाको वर्चस्व हुने नै छ । नेपालमा चर्चाका सिनेमाले हल नपाउने सम्भावना हुनेछ ।
कोरोना भाइरसको त्रास कम हुँदै गएपछि नेपाली सिनेमा क्षेत्रको अवस्था कस्तो होला भन्ने बहस सतहमा आएको छ । यसबारे सिनेकर्मीको आआफ्नै मत छ ।
कलाकार दीपकराज गिरी थप राम्रा सिनेमा बनाउनुपर्ने जिम्मेवारी थपिएको बताउँछन् । उनका अनुसार लकडाउनका बेला दर्शकले सबैखाले सिनेमा हेरिरहेका छन् । वेबसिरिज र संसारकै उत्कृष्ट मानिएका सिनेमाहरू पनि हेरिरहेका छन् ।

आम दर्शकको मनोविज्ञान बुझेर सिनेमा बनाउने गरेका दीपक यो वर्ष ‘छक्का पञ्जा ४’ बनाउने सोचमा छन् । उनी भन्छन्, ‘दर्शकले यो लकडाउनमा धेरै सिनेमा हेर्नुभएको छ, अब नेपाली सिनेमा झन् स्तरीय बनाउनुपर्ने छ नत्र दर्शकले पत्याउनुहुन्न ।’
त्यसो त कोरोना महामारी एउटा बहाना मात्र हो । नेपाली सिनेमा क्षेत्र सधैँ महामारीकै अवस्थामा छ । वर्षमा सय वटाजति सिनेमा बन्दा तीमध्ये बढीमा ५ वटाले नाफा कमाउँछन् । नेपालका ९० प्रतिशतभन्दा बढी निर्माताको लगानी डुब्ने गरेको छ ।
नायिका स्वस्तिामा खड्का लकडाउन खुलेपछि सिनेमा उद्योग केही समयमा पहिलेको अवस्थामा फर्कने बताउँछिन् । उनी भन्छिन्, ‘नेपाली जनता हरेक कुराबाट छिट्टै रिकभर हुन्छन्, अहिले लकडाउनका कारण मोनोटोनस भएका दर्शक माहोल सामान्य बन्नासाथ सिनेमा हलमा जान्छन् ।’
२०७२ सालको महाभूकम्प लगत्तै पनि दर्शक सिनेमा हेर्न हलसम्म पुगेको स्वस्तिमाको भनाइ छ । उनको विश्वास छ– लकडाउनपछि पनि दर्शकहरू हलमा आउनुहुन्छ भन्ने लाग्छ, म त झन् बढी दर्शक हलमा जाने देख्छु ।

लकडाउनले सिनेमा क्षेत्र ठप्प हुँदा कलाकारले काम पाएका छैनन् । सिनेमा नै बनेनन् भने पर्दापछाडि बसेर काम गर्ने प्राविधिकहरू बेरोजगार हुने भय पनि उत्तिकै छ ।
‘कोरोना संक्रमण कम भएपछि प्राविधिक र कलाकारले फेरि काम पाउने अवस्था बन्छ, सिनेमा क्षेत्रमा हामी कति नै छौँ र,’ कोरोनापछिको अवस्थाको आकलन गर्दै स्वस्तिमा भन्छिन्, ‘लकडाउनका कारण छायांकन रोकिएका सिनेको पनि काम सुचारु भइहाल्छ ।’
गतवर्ष हलमा प्रदर्शनमा आएका ५५ वटा सिनेमामध्ये ५ वटाले मात्र नाफा कमाएका थिए । ती थिए, दाल भात तरकारी, जात्रै जात्रा, कबड्डी ३, छ माया छपक्कै र आमा । अरूले लगानीसमेत उठाउन सकेनन् ।
निर्मातालाई सधैँ महामारी छ । कोरोनाले सिनेकर्मी र कलाकारलाई पनि प्रभावित पारेको छ । हलमा सिनेमा नचल्दा हल सञ्चालकलाई कर्मचारी पाल्न पनि धौ धौ भएको छ ।
निर्देशक तथा समीक्षक मनोज पण्डित कोरोनाले नेपाली सिनेमा क्षेत्रलाई घाटा नपुर्याएको बरु फाइदा पुर्याएको तर्क गर्छन् ।
‘नेपाली सिनेमा उद्योग त भर्खरै प्राथमिक कक्षामा छ, लकडाउनले कुनै असर गर्छ र ?,’ मनोज भन्छन्, ‘यो उद्योगलाई कुनै घाटा छैन, खाली केहीको रोजगारी गुमेको छ ।’

उनका अनुसार प्राथमिक तहका विद्यार्थीलाई केही समय विदा हुँदा प्रभाव नपरेझैँ सिनेमा क्षेत्रलाई पनि कुनै प्रभाव परेको छैन । कोरोना संक्रमणका बेला बहस मात्र भएको हो । मनोज भन्छन्, ‘ठूलो उद्योग भएको भए प्रभाव हुँदो हो, हाम्रोमा त्यस्तो केही भएकै छैन ।’
नेपालमा सिनेमा बने पनि तिनले दीर्घकालीन प्रभाव पार्न नसकेको उनको तर्क छ ।
त्यसो त नेपालमा सिनेमा प्रदर्शन भएको दुई दिनमै हलबाट उत्रिने अवस्था छ । थोरै सिनेमा मात्र बहस सिर्जना गर्न सफल छन् । यसैलाई जोड्दै मनोज भन्छन्, ‘सिनेमा बनेनन् भने यहाँ कोही सकिनेवाला छैन, न त यसले सामाजिक, सांस्कृतिक र आर्थिक प्रभाव नै पार्छ, केही हजार मान्छेको रोजगारी अरूतिर सिफ्ट हुन्छ, त्यति हो ।’
नेपाली सिनेमाले रोजगारी नै सिर्जना गर्न नसकेको मनोजको तर्क छ ।
बरु नेपाली सिनेमामा देखिएको कोरोना प्रभावलाई उद्योगले ‘क्यास’ गर्नसक्ने उनको तर्क छ । कोरोनाले सिनेकर्मीको सिर्जनात्मकतामा प्रभाव पार्नसक्ने मनोज बताउँछन् ।
‘अहिलेसम्म हाम्रो सिनेमा व्याख्यात्मक प्रणालीमा थियो, अब कोरोनाले जस्तोसुकै अवस्थामा पनि तहसनहस हुनसक्छ भन्ने देखाउनसक्छ, मनोजको तर्क छ, ‘हलिउडको सिनेम्याटिक संरचनाको प्रभाव नेपाली सिनेमामा पर्नसक्छ ।’ कोरोनाले नेपाली सिनेमाले ठूलो घाट पर्छ भन्ने उनलाई लागेको छैन । उनको भनाइमा चार–पाँच महिनामा सिनेमा उद्योग डामाडोल हुँदैन ।
सिनेमा त रिलिज हुन्थे तर तिनले कमाइ गर्ने सम्भावना कम हुन्थ्यो । धेरैजसो सिनेमामा विदेशमा बस्ने नेपालीले लगानी गरिरहेका थिए । कोरोनाको विश्वव्यापी महामारीपछि नेपाली सिनेमामा यस्तो लगानी घट्ने सम्भावना छ ।

‘नेपाली सिनेमाले धेरै ठूलो क्षति बेहोरेको छ तर भूकम्प वा लकडाउनका कारण होइन, आफ्नै कारणले,’ मनोजको तर्क छ । उनको बुझाइमा नेपालमा कोरोनाको प्रभावपछि नेपाली सिनेमाले नयाँ शैली अपनाउनसक्छ ।
‘बुलबुल’ निर्देशक विनोद पौडेल कोरोनापछिको समयमा नेपाली सिनेमा क्षेत्रमा ठूलै परिवर्तन आउन सक्ने बताउँछन् । हरेक क्षेत्रमा मन्दी देखिने समस्या त छँदैछ यद्यपि कोरोनाको अन्त्यसँगै सिनेमा क्षेत्रमा परिवर्तन आउने उनको विश्लेषण छ ।
‘म चाहिँ कोरोनालाई लिएर सकारात्मक पनि छु, जब प्राकृतिकरूपमा विकराल स्थिति आउँछ, त्यसले नयाँ अवसर पनि ल्याइरहेको हुन्छ,’ विनोद भन्छन्, ‘कोरोनाले नेपाली सिनेमा उद्योगलाई तहसनहस त बनाएको छ तर अब नयाँ किसिमका सिनेमा पनि बन्ने सम्भावना छ ।’
उनका अनुसार विश्वका ठूला बजेटका सिनेमामा कोरोना प्रभाव देखिनेछ तर नेपालले ठूला लगानीका सिनेमा बनाउन सक्ने अवस्था तत्काल आउँदैन । नेपालको परिवेशमा कम बजेटका स्तरीय सिनेमा बन्ने क्रम बढ्नेछ ।
विनोदका अनुसार सिनेमा प्रदर्शनको प्लेटफर्म पनि फेरिने छ । उनी भन्छन्, ‘नेपालमा सिनेमाहरू अब हलमा मात्र रिलिज हुन्छन् भन्ने छैन, अनलाइनको प्लटेफर्म पनि सिनेमाका लागि धेरै राम्रो हुनेछ ।’

केही समय तङ्ग्रिन गाह्रो भए पनि कोरोनापछि सिनेमाको स्वरूप फेरिनेमा निर्देशक विनोद विश्वस्त छन् ।
नेपाली सिनेमाले सामाजिक र सांस्कृतिक परिवर्तनमा खासै प्रभाव पार्न सकेको छैन । नेपाली सिनेमाका दर्शक सीमित छन् । अहिले सिनेमा क्षेत्र बन्द हुँदा केही कलाकार बेरोजगार भएका छन् । धेरै कलाकार त अन्य विकल्पसहित सिनेमा क्षेत्रमा छन् ।
मनोजको भनाइ छ, ‘नेपाली सिनेमा उद्योगमा पहिले पनि एकाध सिनेमाले मात्र कमाइ गर्थे, अरू त दुई दिन हलमा प्रदर्शन हुनेमात्र हुन् ।’
स्वस्तिमा पनि नेपाली सिनेमा उद्योगमा सधैँ महामारी चलिरहेको बताउँछिन् । उनका अनुसार सिनेमा चल्दैनन् भन्ने निर्मातालाई थाहा भए पनि लगानी भइरहेको छ ।

उनी भन्छिन्, ‘निर्माताहरू सिनेमाले कमाउँदैन भन्ने थाहा हुँदाहुँदै पनि लगानी गर्नुहुन्छ, अवस्था सामान्य भए पनि सिनेमा चल्ने सम्भावना कमै हुन्थ्यो ।’
एक अर्थले कमसल सिनेमामा लगानी गर्ने निर्माताहरूको लगानी कोरोनाका कारण सुरक्षित भएको छ । गतवर्ष पनि धेरै निर्माताहरू डुबेका हुन् ।
वर्षभरि बनेका सिनेमामा सिफारिस गर्न लायक एउटा पनि नरहेको भन्दै वर्षको अन्तिममा समीक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था नेपाली सिनेमामा छ ।
‘अहिलेसम्मको लगानीले नेपालमा कुन चाहिँ स्तरीय सिनेमा बनेको छ ? कसले राम्रा सिनेमा बनाउन योगदान दिएको छ ?,’ प्रश्न गर्दै मनोज भन्छन्, ‘यहाँ त कसैको रहरले मात्र सिनेमा बनिरहेका छन् ।’
कोरोना संक्रमणपछि नेपाली सिनेमा क्षेत्रमा केही न केही परिवर्तन भने हुने देखिन्छ । लकडाउनका बेला सिनेकर्मीहरू सिनेमा हेर्नमा लागेका छन् । लकडाउन सिनेकर्मीका लागि समेत ‘अपग्रेड’ हुने अवसर हुनसक्छ ।
अहिलेको विकराल अवस्था त टरेर जाला तर त्यसपछि नेपाली सिनेमा क्षेत्रमा सुधार आउला कि पुरानै ढर्रा चलिरहला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।













प्रतिक्रिया