कोरोना संक्रमितको उपचारमा यसरी खटेका छन् नर्सहरू | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा यसरी खटेका छन् नर्सहरू


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे १२ तारिक, अन्तर्राष्ट्रिय नर्सिङ दिवस । बितेका वर्षहरूमा बिहानै चिटिक्क परेर र्‍यालीमा सहभागी हुने सेती प्रादेशिक अस्पतालकी नर्स यशोदा ढकाल यस वर्ष बिहानैदेखि ड्युटीमा छिन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस भए पनि उनी कोरोनाका बिरामीको उपचार हुने आइसोलेसन वार्डमा छिन् ।

‘यसपालिको नर्सिङ दिवस पोहोरको भन्दा फरक हुने भयो, बिहानै र्‍याली गरिन्थ्यो, कार्याक्रमहरू हुन्थे,’ यशोदाले खबरहबसँग भनिन्, ‘यसपालि त म आइसोलेसन वार्डमा ड्युटी छु, दिउँसो सामान्य कार्याक्रम गर्ने योजना छ ।’

बीस वर्षदेखि नर्सिङ क्षेत्रमा सक्रिय नर्स यशोदा ९ वर्षदेखि सेती प्रादेशिक अस्पतालमा छिन् । यस अस्पतालमा भर्ना भएका पहिलो कोरोना संक्रमित युवालाई नर्सिङ सेवा दिने नर्स पनि उनै हुन् ।

गत चैत ११ गते कोरोना संक्रमणको आशंकामा भर्ना भएका कैलालीका ३४ वर्षीय एक युवाको हेरचाहमा थिइन् यशोदा । यो जिम्मेवारी १३ गते उनलाई आएको थियो । उनी ती युवासँगै रहेको समयमा काठमाडौँबाट खबर पुग्यो– कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।

मनमा त्रास भए पनि यशोदा बिरामीको सेवामा निरन्तर लागिन् । ‘हाम्रो अस्पतालको आइसोलेसनमा भर्ना भएका कोरोनाका पहिलो बिरामीको रिपोर्ट आउँदा म बिरामीसँगै थिएँ,’ उनले खबरहबसँग भनिन्, सुरुको केसमा त सबै डराएका थिए, अस्पतालले मलाई नै खटायो, मनमा डर त थियो तर देशले मागेको समयमा रगत दिन त तयार हुनुपर्छ भन्ने सोचेर ड्युटीमा लागेँ ।’

आफूले हेरिरहेको बिरामीलाई कोरोना संक्रमण भएपछि उनले आफू पनि बाँच्दिनँ कि भन्ने पनि सोचिन् । राति उनको निद्रा पनि बिथोलियो ।

‘पहिलो पटक केस पुष्टि हुँदा त अब मलाई पनि कोरोना लागिसक्यो होला, बाँच्दिनँ होला भन्ने सोचेको थिएँ,’ यशोदाले भनिन्, ‘खोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि जस्तो लाग्थ्यो । दुई–तीन रात त निदाउनै सकिनँ, निद्राको औषधि खानुपर्‍यो ।’

घरमा १४ वर्षकी छोरी र परिवारका अन्य सदस्य पनि छन् । आफूले हेरेको बिरामीमा संक्रमण पुष्टि भएपछि यशोदा दुई साता परिवारबाट अलग्गै बसिन् ।

ती बिरामी निको भएर वैशाख १० गते घर फर्किए । संक्रमित निको भएछि यशोदाको त्रास पनि हरायो ।

यशोदा लेबर वार्डको इन्चार्ज पनि हुन् । पहिलो संक्रमित बिरामी हेरेपछि उनको जिम्मेवारी फेरियो । रुटिनअनुसार चार दिनदेखि यशोदा एकसाताका लागि फेरि आइसोलेसन वार्डमा खटिएकी छन् ।

सेती प्रादेशिक अस्पतालबाट ५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले नयाँ आउनसक्ने संक्रमितको उपचारका लागि अस्पताल तयारीमा छ ।

नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा खटिएकी भेरी अस्पतालकी नर्स दुर्गालक्ष्मी श्रेष्ठ पनि अहिले कोरोनाका बिरामीको हेरचाहमा फ्रन्टलाइमा छिन् ।

भेरी अस्पतालको नर्सिङ प्रशासक समेतर रहेकी नर्स दुर्गालक्ष्मी यतिबेला कोरोनाका बिरामीको हेरचाहका लागि नर्सिङ स्टाफ व्यवस्थापनमा लागेकी छन् ।

उनी कार्यारत अस्पतालमा हाल २५ जना कोरोना संक्रमित बिरामी छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भेरी अस्पतालका १८ जना नर्स रुटिनअनुसार ड्युटीमा खटिएका छन् ।

‘अहिले त सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसोलेसनमा नर्सिङ स्टाफ व्यवस्थापनमा व्यस्त छु,’ नर्स दुर्गालक्ष्मीले भनिन्, ‘नर्सहरूलाई कोरोनाका बिरामीको उपचारमा खटाउदा ट्रेनिङ दिने र उहाँहरूलाई काममा प्रोत्साहन गर्ने गर्दै छु ।’

पहिलो केसमा नर्सिङ स्टाफ व्यवस्थापन गर्न समस्या भए पनि अहिले सहज भएको दुर्गालक्ष्मीले बताइन् । उनले भनिन्, ‘पहिला पहिला त नर्सिङ स्टाफ आवश्यकताका भन्दा कम थिए, हामीले ट्रेनिङ दिएपछि केही सहज भएको छ ।’

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा हाल भेरी अस्पतालका दोस्रो समूहका ६ जना नर्स र दुईजना डाक्टर जेठ २ गतेसम्मका लागि कोरोनाका बिरामीको हेरचाहमा छन् ।

सोही अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितको हेरचाहमा खटिएकी छन् नर्सिङ इन्चार्ज शारदा चौधरी ।

उनले पनि अस्पतालमा ड्युटीमा रहेका नर्स तथा डाक्टरबीच शुभकामना दिएर ड्युटीमै नर्सिङ दिवस मनाइन् ।

‘गत वर्षको जस्तो रौनकमा नर्सिङ दिवस मनाउन पाइएन,’ शारदाले खबरहबसँग भनिन्, ‘यसपालि ड्युटीमै भएका ६ जना नर्स र दुई जना डाक्टरले एकआपसमा शुभकामना बाड्यौँ ।’

कोरोना संक्रमतिको हेरचाहमा खटिँदा लक्षणविहीन संक्रमितहरूले पछिल्लो परीक्षणको रिपोर्टबारे सोधिरहन्छन् । ‘हामी पूरा पीपीई लगाएर बिरामीको नजिक जाने गरेका छौं, लक्षण नभएका संक्रमितहरूले हामीलाई कति दिन राख्नुहुन्छ, जाँच कहिले हुन्छ, रिपोर्ट कहिले आउँछन् भनेर सोध्नुहुन्छ,’ शारदाले भनिन्, ‘हामी उहाँहरूलाई सम्झाउँछौँ ।’

शारदासहित हाल कोरोना संक्रमितको उपचारमा खटिएका नर्सहरू घरपरिवार छाडेर अस्पतालमै बस्छन् । मनमा केही डर भए पनि उनीहरू सेवाभावका लागि उच्च मनोबलका साथ काम गरिरहेका छन् ।

‘कोरोना वार्डमा ड्युटी भएपछि एक महिनाका लागि घरपरिवारबाट टाढा हुने गरी आएका छौँ, हाम्रो काममा परिवारले पनि साथ दिनुभएको छ,’ शारदाले भनिन्, ‘हामीलाई पनि डर त छ तर पनि हामीले कर्तव्य पूरा गर्नुपर्छ ।’

नर्सहरू ड्युटी तोकिएका दिन पूरा गरेर १४ दिन क्वारेन्टाइमा बस्नु पर्छ । उनीहरूको पनि कोरोना परीक्षण हुन्छ । रिपोर्ट नेगेटिभ आयो भने घर जान पाउँछन् । शारदाको ड्युटी जेठ २ गतेसम्म छ । त्यसपछि उनी क्वारेन्टाइनमा बस्नुपर्छ ।

भेरी अस्पतालमा वैशाख १९ गते भर्ना भएका कोरोना संक्रमित वैशाख २४ गते निको भएर घर फर्किए । अस्पतालमा रहेका अन्य संक्रमितलाई पनि निको बनाएर घर पठाउने चाहना उनीहरूको छ ।

‘हामी ड्युटीमा रहेको समयमा एकजना बिरामी निको भएर घर जानुभयो । घर फर्किंदा हाम्रो खुसीको सीमा थिएन,’ शारदाले भनिन्, ‘हाम्रो अस्पतालमा अहिले एकजना गर्भवतीसहित २५ जना संक्रमित हुनुहुन्छ । उहाँहरूलाई पनि निको बनाएर घर पठाउन पाए हामी धेरै खुसी हुने थियौँ ।’

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : २६ बजे

वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल

अदालतको आदेश : रवि र छविलाई जानकारी दिनू, बाँकीको पेसी हेर्दाहेर्दैमा राख्नू

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी मुद्दामा

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

काठमाडौं– द्वन्दपीडित समुदायले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति

अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण जेठ २० गते, ७५ औँ आरोहण दिवसको अवसरमा हुने

पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथन–२०८२ को

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका