भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या ! | Khabarhub Khabarhub

भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या !



काठमाडौँ- शुक्रबार साँझ करिब ५ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जना मृत भेटिए ।

महानगरीय अपराध महाशाखाका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत भेटिएका हुन् । शव दुर्गन्धित हुन थालेका थिए ।

उनीहरुसँगै घरमा पालेको कुकुर पनि मृत फेला परेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महनगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटनाको अनुसन्धान थालेको छ । यो सामग्री तयार पार्दासम्म घटना हत्या कि आत्महत्या भन्ने खुल्न सकेको छैन ।

घटनाको अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘हामीले तीनै जनाको शव पोष्टमार्टमका लागि पठाएका छौँ, अन्य आवश्यक सबुत र घटनास्थलमा भेटिएका वस्तुहरु नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएका छौँ, पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घटनाको रहस्य खुल्नेछ ।’

अनुसन्धान टोलीले हत्यापछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

यस्तो थियो घटना स्थल

शुक्रबार मृतक सुदीपका भाइ उनको घरमा पुगेका थिए । घरमा मानिसको चहलपहल थिएन तर घरको ढोका आधा खुलेको थियो । उनी घरभित्र छिरे । त्यहाँ त आतेशलाग्दो दृश्य थियो । दाजु, भाउजु र भतिज मृत थिए । लगत्तै उनले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घरको पहिलो तलामा छोरा सुशान्तको शव भेटिएको थियो । दोस्रो तलामा श्रीमती सम्झनाको र माथिल्लो तलामा सुदीपको शव भेटिएको थियो ।

घटनाको अनुसन्धानमा खटिएका सीआईबीका एक अधिकारीका अनुसार छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ । शवलाई ‘राम राम’ लेखिएको पीताम्वर ओडाइएको थियो ।’ आमाको शवको प्रकृति पनि छोराको जस्तै थियो, टाउकोमा चोट र शवमाथि पीताम्बर ओडाइएको ।

घटनास्थलबाट एउटा धारिलो हतियार पनि फेला परेको छ ।

प्रहरीका अनुसार घरको माथिल्लो तलामा सुदीपको शव घोप्टिएको अवस्थामा भेटिएको थियो । उनको कमिजमा रगतका छिटा छन् । अनुसन्धान अधिकारीले भने, ‘सबैभन्दा माथिल्लो तलामा भेटिएको सुदीपको शवको तुलनामा बाँकी दुई शव बढी दुर्गन्धित थिए । सुदीपको मृत्यु अरू दुइजनाको भन्दा ढिलो भएको अनुमान गर्न सकिन्छ ।’

हत्या पछि आत्महत्या !

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्यापछि आत्महत्या भएको हुनसक्ने देखिएको छ । घटनाको अनुसन्धानमा जुटेका महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने ‘घटनास्थलको अनुसन्धान र घटनाको प्रकृति हेर्दा पहिले हत्या गरेर त्यसपछि आत्महत्या भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अनुसन्धानकै क्रममा रहेकाले पुष्टि भइसकेको छैन ।’

तीन जनाको शव छुट्टा छुट्टै स्थानमा छ । आमा र छोराको शवमा कपडा ओढाइए पनि सुदीपको शवमा ओढाइएको छैन । सुदीपको शवको दुर्गन्ध पनि कम छ । यसलाई हेर्दा सुदीपले परिवारको हत्या गरेर आफूले आत्महत्या गरेको अनुमान लगाउन सकिने ती अधिकारीको भनाइ छ ।

घटनाको प्रारम्भिक अनुसन्धानले तीन जनाको मृत्यु फरक समयमा भएको देखाएको छ । अनुसन्धान अधिकारीले भने, ‘आमा र छोराको केही समयअघि र बाबुको पछि मृत्यु भएको देखिन्छ ।’

प्रहरीले बाहिरका मानिसले हत्या गरेको भए हत्याको समय फरक नहुनुपर्ने र दुईजनाको शवमा रामनामी आढाइएको नहुनुपर्ने आधार मानेर अनुसन्धान गरिरहेको छ । शनिबार बिहान प्रहरीले घर वरिपरि गरेको खोजतलासमा धानखेतमा विषादीको दुई वटा बट्टा पनि फेला पारेको छ ।
घरमा लुटपाट वा चोरी भएको देखिएको छैन ।

मदिरा र ऋणले घरमा सधैँ विवाद

स्थानियबासीका अनुसार साढे तीन तलाको घरको भुइँ तलामा उनीहरु आफैँले किराना पसल चलाउँथे । यसबाहेक अरू पेशा देखिँदैन थियो । सुदीप भक्तपुरस्थित एक औषधि कम्पनीमा काम गर्थे तर मदिरा सेवन गर्ने बानीका कारण उनलाई एक वर्षअघि कम्पनीले जागिरबाट हटाएको थियो ।

प्रहरी अनुसन्धान अधिकारीले खबरहबसँग भने, ‘उनीहरु बस्दै आएको घर पनि बैंकमा धितो राखेको देखिएको छ । लकडाउनको समयमा ससुरालीबाट २ लाख रुपैयाँ ऋण समेत लिएका थिए । श्रीमती र छोरासँग केही समयदेखि विवाद समेत हुने गरेको पाइएको छ ।’

प्रहरीले पाएको जानकारी अनुसार सधैँ मदिरा सेवन गर्ने र समाजमा नमिल्ने सुदीपको स्वाभावका कारण छिमेकीहरुसँग समेत उनको खासै राम्रो सम्बन्ध थिएन । सधैँको तनाव, घर झगडा र ऋणका कारण उनले हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

कुकुरसमेत मृत

तीन जनामात्र होइन घरमा पालिएको कुकुर पनि मृत अवस्थामा फेला परेको थियो । कुकुरको मुखमा फिँज देखिएको थियो । प्रहरीले घटनास्थलमा पीठो लतपतिएको पनि फेला पारेको छ । कुकुर विष मिसिएको पिठो खाएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी अनुसन्धान अधिकारीका अनुसार सुदीपको शव नजिकै रहेको कुकुरलाई खाना दिने भाँडामा केही खानेकुरा रहेको र त्यहाँ किराहरु मरेको पनि भेटिको छ । घटनाको समग्र सबुत विश्लेषण गर्दा हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीको छ । प्रहरीले अन्य सम्भावनामा पनि अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १ : ४५ बजे

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको