कुखुराको जोडी चल्लालाई पाँच हजार ! « Khabarhub

कुखुराको जोडी चल्लालाई पाँच हजार !


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या सात सय बढी छ ।

बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् ।

यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ । कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउछन ।

“बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ”, उनले भने ।

सापकोटाकाले व्यावसायिक रुपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पालेका हुन । फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ ।

“मासुका लागि भन्दापनि चल्ला बेच्ने उद्देश्य हो”, उनले भने, “काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ ।”

महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ । यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई रु. चार हजार पर्छ ।

“यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्”, उनले भने ।

स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ । भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाए । कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ । यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।

पछिल्लो समय बट्टाइ पनि मासु र अण्डाका लागि व्यावसायिक रुपमा पाल्न थालिएको छ । यसको मासु र अण्डालाई शक्ति वर्द्धक मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ ।

“बट्टाइ रु. तीन सय, चल्ला रु. ५० र अण्डा रु. १० मा बिक्री भइरहेको छ”, सापकोटाले भने, “एक दिने टर्कीको चल्लालाई भने तीन सय ५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ ।”

बट्टाइ पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ । त्यसपछि भने पोथी बट्टाइलाई पनि मासुका रुपमा बेच्न सकिने उनले बताए । उनले शुरुमा काठमाडौँ र पोखराबाट चल्ला ल्याएर पन्छी पालन थालेका हुन् ।

स्थानीय साकिनी जातको कुखुरापालनबाट छोटो अवधिमा सफलता मिलेपछि नयाँनयाँ जातका कुखुरा र पक्षीपालनमा रुची जागेको व्यवसायि सापकोटाले उल्लेख गरे । उनले  फाइटर जातको कुखुरा पनि छिट्टै ल्याउन लागेको सुनाए ।

आफ्नै लगानीमा ह्याचरी सञ्चालनमा ल्याएपछि व्यवसाय थप विस्तार भएको उनको भनाइ छ । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो ।

ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । शुल्क तिरेर अरु कुखुरापालक किसानले पनि ह्याचरीमा चल्ला उत्पादन गर्न थालेका छन् ।ह्याचरीमा रु. तीन लाख लगानी भएको उनले बताए ।

त्यसअघि कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले रु. दुई लाख ३६ हजार अनुदान दिएको थियो ।

व्यवसाय प्रवर्द्धनमा सापकोटालाई छोरा निशानको दरिलो साथ छ । व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खट्छन् ।

पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए ।

पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । ती कुखुराको मासु, अण्डा स्वादिष्ट र स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्थानीय जातको ज्यूँदो कुखुरा प्रतिकिलो रु. आठ सय, अण्डा रु. १५ र एक साताको चल्ला रु. एक सय २५ मा बिक्री हुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच/छ महिनापछि मात्र बेच्न योग्य हुन्छ ।

उन्नत जातका कुखुरालाई नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । कुखुरापालनबाट मासिक रु. ५० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन् ।

लगानी बढाएर कुखुरापालन व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ । कुखुरापालनसँगै सापकोटाले तीन रोपनी क्षेत्रफलमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका छन् ।-रासस

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ५५ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका