हुम्लामा चीनले नेपाली भूमि मिचेको शाही टोलीको ठहर | Khabarhub Khabarhub

हुम्लामा चीनले नेपाली भूमि मिचेको शाही टोलीको ठहर

१२ नम्बरको पिलर नयाँ, नेपालले बनाएको बाटो अहिले चीनतर्फ



काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनबहादुर शाहीको टोलीले उत्तरी छिमेकी चीनले हुम्लाको लोलुङजोङमा नेपाली भूमि मिचेर भौतिक संरचना निर्माण गरेको निष्कर्ष निकालेको छ ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहीको नेतृत्वमा सीमा क्षेत्रको अनुगमनका लागि गएको टोलीले नेपाली भूभाग मिचिएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

पिलर नम्बर ५ देखि १२ नम्बरसम्म ११ दिन लगाएर गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको ठहर भएको शाहीले बताए ।

चीनले नेपाल आउने खाद्यान्न समेत रोकेर राखेको पनि शाहीले बताए । प्रतिवेदन तयार गरेपछि हुम्ला सदरमुकाम सिमिकोटमा सोमबार पत्रकार सम्मेलन गर्दै अध्ययन टोलीका संयोजक शाहीले चीनले नेपाली भूभाग अतिक्रमण गरेको निष्कर्ष सुनाए ।

प्रतिवेदन अनुसार चीनले निर्माण गरेका भौतिक संरचनाहरू नेपाली भूमिमै छन् । प्रतिवेदनमा भनिएको छ, ‘चीन सरकारले लोलुङजोङमा निर्माण गरेका भौतिक संरचनाहरू नेपाली भूभागभित्र रहेको र यस आधारमा नेपाली भूभाग चीनले अतिक्रमण गरेको छ ।’

प्रतिवेदनमा नेपालतर्फको किट भन्ने स्थानमा रहेका सीमा स्तम्भहरू ५(१), ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखेको पाइएको समेत उल्लेख गरिएको छ । त्यस्तै, पुरानो ५(२) नम्बरको जङ्गे स्तम्भ उखेलेर हाल एकलौटी रूपमा नयाँ बनाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गप्पुदोचामा रहेको पानीढलोलाई आधार मान्दै नेपाल र चीन सरकारले सन् १९८२ मा पारित गरेको नक्सामा रहेको नेपाली भूभाग अहिले चीनले मिचेको देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिले चीनले निर्माण गरेको भौतिक संरचनाभन्दा उत्तरमा रहेको ग्यापुदोसामा चिनियाँ उच्च अधिकारीले समेत नेपालको भूमि भनेर स्वीकार गरेर बाटो निर्माण भएकोमा अहिले चीनले कब्जा गरेको अध्ययन टोलीले निष्कर्ष छ ।

कहाँ कहाँ अतिक्रमण ?

शाहीको नेतृत्वमा गएको अध्ययन टोलीले १५ बुँदे प्रमाण पेश गरेको छ । प्रतिवेदनमा नेपालको भूमि मिचिएको स्पष्ट देखिने गरी प्रमाणहरू रहेको समेत उल्लेख गरिएको शाहीको भनाइ छ ।

यस्तो छ निष्कर्ष

– गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किमि सडक खण्ड चीनले अतिक्रमण गरेको पाइयो

– लाप्चा भञ्ज्याङमा निर्माण गरिएको १२ नम्बर स्तम्भको एलाइन्मेन्ट पूरै परिवर्तन गरेको पाइयो । चीनले नेपाल सरकारलाई थाहा नै नदिई करिब करिब ६ महिना पहिलामात्रै निर्माण गरेको पाइयो ।

– लिमीको टाकुल्ले चुचुरोमा रहेको ११ र १० नम्बर स्तम्भको अवस्था अध्ययन गर्दा उक्त स्थानमा त्यहाँ अतिक्रमण गरेको देखिएन ।

– चीनले आफ्नो दशगजा नियम विपरीत हिल्सामा रहेको ९(२) सीमा स्तम्भको बीच रेखामा तारबार तथा गेट निर्माण गरेको पाइयो । जब कि नेपालले सीमास्तम्भभन्दा ३० मिटर टाढा आफ्नो गेट निर्माण गरेको पाइयो ।

– किट भन्ने स्थानमा रहेका सीमा स्तम्भहरू क्रमशः ५(१), ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखेको पाइयो भने पुरानो ५(२) जङ्गे स्तम्भ उखेली हाल एकलौटीरूपमा बनाएको पाइयो ।

– नयाँ निर्माण गरिएका सीमा स्तम्भहरू र पुरानो सीमा स्तम्भहरूको बनावट तथा अक्षरका लिपिहरू समेत फरक–फरक रहेको पाइयो ।

के हो चीनले सीमा मिचेको प्रमाण ?

अध्ययन टोलीको प्रतिवेदनमा १२ नम्बर पिलर नयाँ बनाउनु, सीमा स्तम्भहरूमा फरक–फरक लिपि प्रयोग हुनु र स्थानीय बुढापाकाले नेपालको भूमि भनेका स्थानमा अहिले चीनले अतिक्रमण गरेको देखिनुलाई प्रमाणका रूपमा पेश गरिएको छ ।

२०५८/५९ सालमा तत्कालीन जिल्ला विकास समितिले लोलुङजोङमा क्षेत्रमा निर्माण सुरु गरेको सडक अहिले चीनले आफ्नो क्षेत्रमा पारेको विषय पनि सीमा अतिक्रमणको प्रमाणका रूपमा उल्लेख गरिएको छ ।

गप्पुदोचा र लोलुङजोङ क्षेत्र नेपालीहरूले चरिचरनका लागि प्रयोग गरेको ऐतिहासिक तथ्य समेतले चीनले नेपाली भूमि मिचेको प्रमाण रहेको निष्कर्ष निकालिएको छ ।

हुम्लाको किटमा रहेको नेपाली भूभागबाट ढुङ्गा लगेर तटबन्ध निर्माण गरेको, कैलाश र मानसरोवरको दर्शन गर्ने नेपाली भूमि समेत चीनले आफ्नो बनाएको अध्ययनबाट देखिएकाले नेपाली भूमि मिचेको प्रमाण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लिमी उपत्यकासहित हिल्सामा समेत चिनियाँ समय देखिने बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वार्ता गर्न र सुरक्षा व्यवस्था मिलाउन सिफारिस

शाहीको अध्ययन टोलीले स्थानीयबासीको समेत सहभागितामा सरकारले चीनसँग औपचारिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको छ । सीमा क्षेत्रमा रहेका नेपालीहरूमा मनोवैज्ञानिक त्रास देखिएको ठहर गर्दै प्रतिवेदनमा सुरक्षा व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको छ ।

त्यस्तै चीनले सीमा सुरक्षाका लागि हरेक सीमास्तम्भमा सुरक्षाकर्मी राखेको देखिएकाले नेपालले समेत सुरक्षा तैनाथी गर्नुपर्ने निष्कर्ष अध्ययन टोलीको छ ।

के भएको थियो ?

केही दिनअघि हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवनहरू बनाएको भन्ने समाचार आएको थियो । उक्त समाचार खण्डन गर्दै नेपालस्थित चिनियाँ दूतावासले चीनले नेपाली भूमि नमिचेको जिकिर गरेको थियो । दूतावासले नेपालले आफ्नो सीमा प्रमाणित गर्न सक्ने पनि जनाएको थियो ।

लगत्तै नेपाल सरकार, परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी चीनले निर्माण गरेका संरचनाहरू सीमानाबाट एक किलोमिटर टाढा चिनियाँ भूमिमै रहेको जनाएको थियो ।

विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा अतिक्रमण नगरेको बताएका थिए ।

प्रमुख प्रतिपक्षी दलले सरकारको विज्ञप्ति अपरिपक्व रहेको भन्दै आलोचना गरेको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पनि सरकारी टोली सीमा क्षेत्रको अनुगमनमा गएको थियो । सरकारी टोलीको प्रतिवेदनबारे कुनै कुरा सार्वजनिक भएको छैन ।

हुम्लाबाट कर्णाली प्रदेश सभामा निर्वाचित कांग्रेस नेता शाही एक टालीको नेतृत्व गर्दै सीमा क्षेत्र अध्ययनका लागि गएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ३१ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१