लक्ष्यमा चुकेका प्रशिक्षक पटवालको सफलता खेलाडीले बनाएको ‘कीर्तिमान’ ! | Khabarhub Khabarhub

लक्ष्यमा चुकेका प्रशिक्षक पटवालको सफलता खेलाडीले बनाएको ‘कीर्तिमान’ !



काठमाडौं –  २०७६ जेठ १७ गते नेपाली क्रिकेट टोलीको जिम्मेवारी पाएका उमेश पटवालले बुधबारदेखि बिदा हुने गरी दिएको राजीनामासँगै नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट बाहिरिएका छन् ।

कीर्तिपुरमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम अमेरिकाविरुद्धको खेल नै पटवालका लागि अन्तिम खेल हो ।

उनले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई राजीनामा पत्र पठाइसकेका छन् । ८ महिना नेपाली टोलीको प्रशिक्षकमा रहेर काम गरेका उनले नेपाल बसाई सुखद् रहेको प्रतिक्रिया दिए ।

अन्तिम पटक सार्वजनिक रुपमा पत्रकारसँग कुराकानी गरिरहेका उनले खुलैरै यो पनि भने, ‘म आफुलाई कसरी विश्लेषण गर्न सक्छु ? यो त तपाईले गर्ने कुरा हो नि!’

जेठ महिनामा नेपाली टोलीको मुख्य प्रशिक्षक पटवाल बनिरहँदा नेपाली टोली यहिँ वर्ष अस्ट्रेलियामा हुने टि–२० विश्वकप क्रिकेटमा पुग्ने सपना देखिरहेको थियो ।

त्यहीँ बेला नेपाली टोलीको नेतृत्व सम्हाल्न आएका उनले भनेका थिए, ‘समय छोटो छ । त्यसैले धेरै ठूलो सफलताको अनुमान लगाइ हाल्ने समय छैन । अहिलेका लागि नेपाली खेलाडीको योजना अस्ट्रेलियामा हुने विश्वकप खेल्ने छ । आशा छ त्यहाँ हामी पुग्छौं ।’

पटवालले आफ्नो पहिलो लक्ष्य बनाएको ट्वान्टी–२० विश्वकपको सपना एसिया फाइनलमै तुहियो । उनी जुन योजना अनुसार आएका थिए । त्यसैमा उनलाई असफलता हात परेपछि उनले हेरेको ठूलो प्रतियोगिता नै त्रिकोणात्मक शृङ्खला हो ।

१ बर्षका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा आईसीसीले उनलाई नेपाल पठाएको थियो । आफ्नो सम्झौताको ४ महिना अगाडि स्वदेश फर्किरहेका उनले भने,‘ मेरो प्रशिक्षणमा टिम रहँदा केही खेलाडीहरुको विश्व कीर्तिमानले पनि केही कुरा त बताउँछ जस्तो लाग्छ ।’

विश्वकप पुग्ने लक्ष्यसहित टोलीको नेतृत्व सम्हाल्न पुगेका उनले आफुले छाडेर जाँदा खेलाडीको कीर्तिमानीमा चित्त बुझाउनु परेको छ । त्यतिमात्रै होइन, विश्वकपमा छनोट नभएपछि उनले दिएको अभिव्यक्तिको नेपालमा खुबै आलोचना भएको थियो ।

‘नेपाली क्रिकेटको स्तर राम्रो छैन । विश्वकप खेल्न एक–दुई जना खेलाडी होइन । म्याच विनर चाहिन्छ । र त्यो नेपाली टोलीमा छैन,’ पटवालले विश्वकप छनोटबाट बहिरिएपछि भनेका थिए ।

८ महिना नेपाली टोलीको मुख्य प्रशिक्षक भएर काम गरेका उनकै कार्यकालमा निवर्तमान कप्तान पारस खड्काले राजीनामा दिए र अहिले कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् ।

उनले नेपालमा रहँदा राम्रो अनुभवव बटुल्ने अवसर पाएको बताउँदै नेपाली क्रिकेटले अझै लामो बाटो तय गर्न बाँकी रहेको बताएका छन् ।

‘नेपाल क्रिकेट टिम अहिले नयाँ जन्मिएको शिशु जस्तो नै हो । अगाडि बढ्न धेरै बाँकी छ । केही खेललाई हेरेर राम्रो गरेको या नराम्रो गरेको भनेर भन्न मिल्दैन,’ उनले भने ।

प्रशिक्षकबाट राजिनामा दिएपछि उनी नेपाल क्रिकेट संघ (क्यान) सँग असहमत रहेको भन्ने समाचार समेत आएका थिए । तर, उनले क्यानसँग कुनै बेमेल नरहेको स्पष्ट पारेका छन् ।

‘नेपाल क्रिकेट संघसँग केही बेमेल भएर मैले राजीनामा दिएको भन्ने कुरा सत्य होइन । म उनीहरुसँग केही कुराकानीमा नै छैन भने सम्बन्ध राम्रो हुने या नराम्रो हुने भन्ने कुरै आउँदैन,’ पटवालले भने ।

पटवालले लिग २ मा नेपालले राम्रा टोलीसँग खेल्दै अमेरिकालाई पराजित गर्नु सुखदर संकेत रहेको बताएका छन् ।
‘अहिले लिग टु मा अगाडि रहेको टिमलाई नै हराउन सकेका छौँ । त्यो राम्रो संकेत हो,’ उनले भने ।

पटवालले नेपालको खेल अस्थिर रहेको समेत बताएका छन् । उनले कुनै खेलमा राम्रो गरिरहेको र कुनै खेलमा एकदमै कमजोर प्रदर्शन देखाइरहेको बताएका छन् ।

त्यसलाई सुधार्न नेपालले आफुभन्दा बलिया टोलीहरुसँग खेल्नु पर्ने सुझाव उनले दिएका छन् ।

‘नेपालले कुनै खेलमा असाध्यै राम्रो देखिन्छ भने कुनै खेलमा असाध्यै नराम्रो पनि भइरहेको छ । नेपाली टिमले राम्रो सुधार गरेर जानुपर्ने छ,’ उनले भने, ‘राम्रोलाई अझ राम्रो गर्ने र नराम्रो कुरामा निराश नभई सुधार गर्नुपर्ने हुन्छ । त्यसका लागि राम्रो टिमहरुसँग धेरैभन्दा धेरै खेल खेल्नु नै राम्रो हो ।’

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : ३० बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको