कोरोना भाइरसको संक्रमण रोक्न सरकारले अगाडि सार्‍यो ‘६ टी’को सुत्र | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले अगाडि सार्‍यो ‘६ टी’को सुत्र


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा उपचारका लागि ६ टीको फर्मुला (सुत्र) अगाडि सारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमित पत्ता लगाउनेदेखि संक्रमितहरुको उपचारका लागि ६ टीको सुत्र अगाडि सारिएको बताए ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा संक्रमितको पहिचान तथा उपचारका लागि अगाडि सारेको ६ टीको सुत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालकै शब्दमा–  

पहिलो टी: ट्राभल रेस्ट्रिक्सन

यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ ।

यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु ।

दोश्रो टी : टेस्टिङ्ग

यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौं । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।

तेश्रो टी : ट्रेसिङ्ग

ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौं भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।

चौथो टी : ट्र्याकिङ

सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, (सीसीएमसी) तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ ।

यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।

पाँचौ टी : ट्रिटमेन्ट

हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ । सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ ।

कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ ।

यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।

छैठौं टी: टुगेदर

कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, (सीसीएमसी) देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ ।

यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् । यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायत सबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौं ।

यस संक्रमणको नियन्त्रण र रोकथामको लागि आवश्यक पर्ने पीपीई, परीक्षणको लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको छ । सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नहरुलाई हामी सबैले नजिकबाट नियालीरहेकै छौं । तसर्थ हामीले देशमा आफुसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौं । दुरुपयोग नगरौं । आफुसँग भएका सामानको समुचित प्रयोग गरौं भन्ने हाम्रो अनुरोध छ । यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ । देशलाई महामारीबाट बचाउ । बाँकी बहस पछि गरौंला । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौं ।

यस्तो विषम परिस्थितिमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ । यहाँले निर्वाह गर्नुभएको रचनात्मक भूमिकाको म कदर गर्दछु । आगामी दिनमा यहाँहरुबाट कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि अझ सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।

कोरोना संक्रमण बिरुद्धको यो लडाईको अग्रमोर्चामा नेतृत्व गरिरहनु भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु नै हुनुहुन्छ । वहाँहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता हो । तसर्थ यो मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीको बारेमा अत्यन्त सचेत छ । उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरु यथेष्ट मात्रामा पु¥याउन हामी लागि परेका छौं । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी लगायत कोरोना संक्रमणको नियन्त्रणमा खटिने जनशक्तिलाई प्रोत्साहन स्वरुप सत प्रतिशतसम्म भत्ता र बिमाको समेत व्यवस्था गरिसकिएको छ ।

अहिले हामी सबै नै क्वारेन्टाइनमा छौं । घरभित्रै बसेका छौं । तर हाम्रो स्वास्थ्य तथा सुरक्षाको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तुहरुको व्यवस्था गर्न अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्तिहरु हुनुहुन्छ । राष्ट्र र जनताको सेवामा क्रियाशील वहाँहरुले गर्दा नै हामी घरभित्र सुरक्षित रहन पाएका छौं । वहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छौं साथै वहाँहरुको मनोबल उच्च बनाउने काममा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौं ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ५२ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका