कोरोना : चितवनमा मृत्युदर उच्च बन्दै « Khabarhub

कोरोना : चितवनमा मृत्युदर उच्च बन्दै


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक लाख ११ हजार ८०२ रहेको छ भने मृत्यु ६४५ पुगेको छ । यस हिसाबले नेपालको मृत्युदर ०.५७ प्रतिशत हुन आउँछ तर जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर बढी हो ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा कूल सङ्क्रमित सङ्ख्या दुई हजार ७९२ रहेको छ । त्यसमध्ये ३६ जनाको मृत्यु भएको हो । जिल्लामा एक हजार ६७२ जना निको भएका छन् भने एक हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको सङ्ख्या ६४ पुगेको छ । मृत्यु भएकामध्ये पनि सबैभन्दा धेरै भरतपुर अस्पतालमा रहेका छन् । भरतपुर अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये पाँच प्रतिशतको मृत्यु भएको छ ।

८१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् भने १४ प्रतिशत उपचाररत रहेका छन् । यस अवधिमा भरतपुर अस्पतालमा उपचार गरिएका ३०१ कोरोना सङ्क्रमितमध्ये १०२ जना चितवनभन्दा बाहिरी जिल्लाका रहेका छन् । चितवनबाहेक १२ जिल्लाका सङ्क्रमित यहाँ उपचार गर्न आउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी शुरु शुरुमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत युवा वर्गलाई सङ्क्रमण भएको भए पनि पछिल्लो समय पाको उमेरका दीर्घरोगी बढी प्रभावित भएकाले मृत्युदर बढेको बताउँछन् ।

युरोपमा समेत ७५ वर्ष माथिकाको मृत्युदर २५ प्रतिशत भएको भन्दै उनले माथिल्लो उमेर र दीर्घरोगी बढी प्रभावित हुने जानकारी दिए । यो रोगले कसैकसैलाई झुक्याउने गरेको उनको भनाइ छ । एकैचोटी निमोनिया भएर अस्पताल आउँदाआउँदै मृत्युसमेत हुने गरेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी होम आइसोलेसनमा रहेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढेको बताउँछन् । उनले भने, “ज्वरो, खोकी लागेपछि घरमै बस्नु ठीक हो कि भनेर घरमै बस्ने र अन्तिम अवस्थामा निमोनियासहित अस्पताल आउने धेरै भए ।”

उनका अनुसार घरमा आइसोलेसन बस्नेले आफ्नो स्वास्थ्यको खतराको चिह्न पहिचान गर्न नसक्दा जोखिम बढेको छ । घरमा आइसोलेसन बस्नेले ज्वरो, रगतमा अक्सिजनको मात्रा, स्वासप्रस्वासमा भएको समस्या आदिबारे जानकारी लिइरहनुपर्ने र यस्ता सूचक थोरै मात्रै तलमाथि भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उनले सुझाव दिए ।

पहिलेदेखि मिर्गौलाको डायलासिस गराइरहेका बिरामीले नियमित डायलासिस गराउन नपाउँदा पनि बढी जोखिमा बढेको अधिकारी बताउँछन् । यसै जिल्लामा स्वास्थ्य सेवा राम्रो भएका कारण यही सेवा उपभोग गर्नकै लागि बसोबास गर्ने पनि धेरै रहेको उनको भनाइ छ ।

यातायात, शिक्षा र स्वास्थ्यका हिसाबले उत्कृष्ट जिल्ला भएका कारण चितवन बसोबासको दृष्टिले मानिसको रोजाइमा पर्ने गरेको तर जिल्लामा रोगको प्रकोप पनि बढी हुने गरेको छ । भाइरल ज्वरो, डेङ्गु, स्क्रबटाइफसजस्ता रोगको प्रकोप पनि जिल्लामा बढी हुने गरेको छ । यातायातको सुविधाले मानिसको सहज आउजाउले पनि रोग भित्रिन मद्दत पुग्ने गरेको विज्ञ बताउँछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ३० बजे

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस