नेकपा स्थायी कमिटी बैठक आज, दाहाल-नेपाल अडानले अप्ठ्यारोमा ओली | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक आज, दाहाल-नेपाल अडानले अप्ठ्यारोमा ओली


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ—  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरूले बताएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

तर, उनले अझै पनि अर्का अध्यक्ष दाहाललाई फकाउने प्रयास जारी राखेका छन् । बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस जारी राखेका छन् । तर पनि सफल हुन सकिरहेका छैनन् ।

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का अध्यक्ष दाहाललाई भेटेका छन् । सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन ।

यद्यपि छलफलका एजेण्डामा सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको बुझिएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा ओली सहभागी हुने बताएका छन् ।

आफू निकट नेताहरूले पनि बैठकमा सहभागी भएर प्रतिवाद गर्न सुझाएपछि ओलीलाई बैठकमा सहभागी हुन, आफ्नो कुरा त्यहीँ भन्न र कमिटीको निर्णयअनुसार चल्न दबाब बढेको छ ।

उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

दाहालले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । दोस्रो तहका नेताहरूले दाहाललाई भदौ २६ को सहमति पूर्णरूपमा कार्यान्वयन हुने गरी सहमत हुन आग्रह गरेका छन् । तर, दाहालले त्यसलाई पनि अस्वीकार गरेका छन् । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको दाहालको आरोप छ ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

निकटस्थहरूले पार्टी बहुमत—अल्पमतको खेलमा पुगेको भए एकीकरण हुनुअघिका पूर्वसमूहको अनुपात मिलाउन पनि ओलीलाई सुझाएका छन् । यस्तो अवस्थामा पूर्वएमालेभित्रको पनि नेपाल समूह अहिले दाहालतिरै भएकाले त्यो विषय उठान गर्ने मुडमा ओली नरहेको बताइन्छ ।

दाहाल—नेपाल पक्षले भने बहुमत—अल्पमतको खेल भन्ने आरोप अस्वीकार गर्दै पार्टी अनिर्णयको बन्दी भए बहुमतका आधारमा निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

एकता महाधिवेशन हुने घोषित मितिको करिब चार महिनाअघि बहुमत र अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा परेको समयमा दाहाल—नेपाल पक्षले बहुमतबाट निर्णय गर्न चाहेको छ । यसमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहमत देखिएका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिँदैन ।

चवालीस सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा प्रष्ट खुलेका सदय ११ जनामात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै ओलीलाई प्रतिकूल हुने निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

दाहाल—नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक पुस ५ मा बोलाइएको छ ।

यता प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध बलजफ्ती अघि बढेमा ‘आफूले झन् ठूलो एक्सन लिने’ चेतावनी दिएका छन् । अन्य नेताहरूले उनले भनेको ठूलो एक्सन पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने, संकटकाल घोषणा गर्ने, प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने लगायतका हुनसक्ने अनुमान गरेका छन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीको आरोप छ । दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ५८ बजे

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा  

काठमाडौं– एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई

सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई

सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २७ महिनापछि

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं– प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न