पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार « Khabarhub

पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ ।

शनिबार घिमिरेकै निवास पोखरा–३, नदीपुरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई प्रदान गरे ।

साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित पुरस्कार मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककार, अनुसन्धानकर्ता वा मुक्तकसँग सम्बन्धित संस्थालाई प्रदान गरिँदै आएको छ ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा र सरुभक्त सम्मानित भइसकेका छन् ।

वि. सं. १९९६ असोज १ गते जन्मेका साहित्यकार घिमिरे ६ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा क्रियाशील छन् ।

वि. सं. २०२२ सालमै गण्डकी बृहत् साहित्य सम्मेलनमा स्वर्ण पदक विजेता घिमिरे शिरोमणि सम्मानलगायतका साहित्यिक र शैक्षिक पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् । उनका अनवारण मुक्तकमाला, देशकाल, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन् ।

सम्मानित साहित्यकार तेजनाथ घिमिरेले स्रष्टाको दृष्टिले देखेका कुरा लेख्न नसकिने युगबाट देखेको लेख्न पाउने युगमा आउन पनि धेरै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाए ।

अझै पनि कलमजीवीहरुलाई पूर्ण स्वतन्त्रता प्राप्त हुन नसकेको बताउँदै घिमिरेले यसका लागि सबै स्रष्टा एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले उमेरले ८ दशक पार गरिसक्दा पनि साहित्य साधनामा लागिपरेका घिमिरेलाई सम्मान गरेर मुक्तक मञ्च आफैँ सम्मानित भएको धारणा राखे ।

घिमिरे उमेरले वृद्ध भए पनि सिर्जनाका हिसाबले युवावस्थामै रहेको उनको तर्क थियो । नेपाली मुक्तकका लागि मुक्तक मञ्चले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सरुभक्तले अल्पविरामले राष्ट्रिय मुक्तक पुरस्कारको स्थापना गरेर थप टेवा दिएको बताए ।

साहित्यकाररसंस्कृतिकर्मी तीर्थ श्रेष्ठले घिमिरेका सम्पूर्ण रचनाहरु एकीकृत रुपमा प्रकाशन हुनुपर्ने धारणा राखे । पुरस्कारका संस्थापक विष्णु अल्पविरामले असल मुक्तककारको सम्मान गर्ने उद्देश्यले स्थापित पुरस्कार तेजनाथ घिमिरेजस्तो मूर्धन्य स्रष्टालाई प्रदान गर्न पाउँदा आफू हर्षित भएको बताए ।

सल्लाहकार दीपक समीपको संयोजकत्वमा पूर्वअध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा घिमिरेलाई पुरस्कृत गरिएको हो ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज पौडेलले स्वागत र सचिव श्रीराम अधिकारीले सञ्चालन गरेका थिए ।

सोही अवसरमा सम्पन्न ५९ औं नियमित मुक्तक वाचनमा भरतराज पौडेल, के.आर. ढकाल, अनिता दाहाल, अल्पविराम, लक्ष्मण थापा, विपिन आचार्य, कृष्ण देवकोटा, विकास गौचनलगायतले मुक्तक वाचन गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : २५ बजे

जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके