सिन्धुपाल्चोक – चीनबाट अत्यावश्यकीय सामग्री आयातका लागि खुला गरिएको तातोपानी नाकामा जनप्रतिनिधलाई समेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
कोरोना जोखिम उच्च भएको भन्दै जनप्रतिनिधिलाई प्रतिबन्ध गरिएको उक्त नाकामा सामग्री ढुवानी गर्ने सवारीसाधनका पनि २० जना चालकलाई मात्र पास दिइने भएको छ ।
चिनियाँ अधिकारी र नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी सहभागी रहेको बैठकले चालकलाई मात्रै पास दिने निर्णय गरेको हो ।
सवारी पास, नाकाको सुरक्षासम्बन्धी निर्णयपछि दुवै पक्षबाट नाका सुचारु गर्ने तयारी भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए ।
चीनबाट नेपाल जोड्ने भोटेकोसी गाउँपालिका–२, तातोपानीस्थित मितेरी पुल पारी रहेको चिनियाँ यार्डस्थलसम्म मात्रै सवारी चालक पुग्न पाउनेछन् ।
त्यहाँ चिनियाँ सरकारी अधिकारीहरुले ‘स्प्रे’, स्वास्थ्य परीक्षण लगायतको आवश्यक व्यवस्था गरेपछि २० जना चालकको सवारी पास र यात्रा पुस्तिका बनाइनेछ।
गत बुधबार बेलुकी चीनबाट आवश्यक परीक्षण सकेर १९ बक्सा माक्स र १० बक्सा सेनिटाइजर नेपाल भित्रिएको थियो ।
कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै गत चैत्र १२ गते चीनका २ वटा नाका खुला गर्ने सरकारले निर्णय गरेको थियो ।
प्रतिक्रिया