नेपाल बाढी, पहिरो आगलागी, मौसमको विषमता, चट्याङ र भूकम्पजस्ता प्राकृतिक विपदहरूको उच्च जोखिममा रहेको देश हो । देशका भौगर्भिक, भौगोलिक, जल तथा मौसम र वातावरणीय अवस्थाले विपदका घटनाहरू हुने गरेका छन् ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका भूभागहरूमा वर्षायाममा बाढीपहिरो, डुबान, अतिवृष्टि वा अनावृष्टि, हावाहुरी, शितलहर र हिमपातजस्ता प्राकृतिक घटनाहरू भइरहन्छन् । भूकम्पीय दृष्टिले त नेपाल उच्च जोखिममा छँदै छ । जुनसुकै बेला जतिसुकै शक्तिशाली भूकम्प आउनसक्छ ।
नेपालका पहाडहरू करीब ५० लाख वर्षअघि मात्रै निर्माण भएका र संसारकै कान्छा मानिन्छन् । त्यसमा पनि चुरे क्षेत्रको पहाड त झन् १० लाख वर्षमात्रै पुराना मानिएका छन् ।
नेपालमा मनसुन याममा विशेषतः जुन १० देखि सेप्टेम्बर २३ सम्म अत्यधिक वर्षा हुने गरेको छ । छोटो समयमा हुने अधिक वर्षा, अपूरो र कमजोर बाढी नियन्त्रण संरचना, नदीमा भएको अतिक्रमण, भारतले सीमा क्षेत्रमा बनाएका तटबन्ध र सडकहरू नेपालको तराई क्षेत्र डुबानको प्रमुख कारण हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र संकट निवारण तथा पुनर्लाभ ब्यूरोका अनुसार बाढीपहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३०औँ स्थानमा रहेको छ ।
नेपाल समुद्री सतहबाट ५९ मिटरदेखि ८ हजार ८४८ मिटर उचाइसम्मका भूभागहरू रहेको देश हो । यसरी छोटो दूरीमा यस प्रकारको उचाइको अन्तरको कारणले पनि यहाँ पानीको बेग तीव्र हुने गर्दछ । नेपालको वार्षिक जलप्रवाह दर २ अर्ब २५ करोड घनमिटर छ । त्यसको ८० प्रतिशत पानी १० जुन देखि २३ सेप्टेम्बर (मनसुनको औसत अवधि) को बीचमा बग्छ । छोटो अवधिमा हुने धेरै वर्षाले स्वाभाविकरूपमा वितण्डा मच्चाउँछ । यस वर्ष पनि असारको चौथो हप्तामा अविरल वर्षाले देशभर थोरै दिनमा जनधनको धेरै क्षति भएको छ ।
राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ ३१ गतेदेखि असार २९ गतेसम्ममा नेपालमा बाढीपहिरो र डुबानका कारण ८५ जनाको मृत्यु भएको छ, ४६ जना बेपत्ता छन्, ५० जना घाइते भएका छन्, १३४ वटा घरमा क्षति भएको छ र १५ वटाभन्दा बढी जिल्लामा असर परेको छ ।
वर्षेनी यस्ता प्राकृतिक विपत्तिका घटना हुनुमा नदीहरूको प्रकृतिको पनि सहयोगी भूमिका छ । देशभरि ६ हजारभन्दा बढी नदीनाला छन् । तिनीहरूको कुल लम्बाइ करीब ४५ हजार किलोमिटर छ । नदीहरूको निकास मार्ग अत्यन्तै संवेदनशील छ । नदी किनाहरूमा मानिसको बसोबास छ । प्रतिघण्टा सय मिलिमिटर पानी पर्नुलाई क्लाउड ब्रस्ट ( बादल विस्फोट) भनिन्छ । यसरी पर्ने पानी नै बाढीपहिरोको मुख्य कारक हुन्छ ।
केही वर्षयता देशभर ग्रामीण सडक बनाउने होडबाजी चलेको छ । पहाडी क्षेत्रमा अव्यवस्थित र अवैज्ञानिरूपमा जथाभावी खनिएका ग्रामीण सडकहरूले विकासभन्दा बढी विनाश निम्त्याएका छन् ।
नेपालका पर्वतीय क्षेत्रमध्ये सुगमता, उत्पादन, हावापानीलगायत विविध कारणले महाभारत र चुरे पर्वतीय क्षेत्रमा मानिसको बसोवास अन्य पर्वतीय क्षेत्रको तुलनामा बढी छ । त्यस्ता कोमल भूबनोटयुक्त भिराला पहाडहरूमा दीर्घकालिन सोचविना द्रुत गतिमा सडक निर्माणको होड चलिरहेछ ।
छिटो बनाउने धुनमा ग्रामीण सडकमा डोजर, एक्स्क्याभेटर जस्ता गह्रौँ उपकरणको प्रयोग हुने गरेको छ । यसले कमलो र भिरालो प्रकृतिको चुरे तथा महाभारत पर्वतीय क्षेत्रका सयौँ स्थानमा वनजङ्गल र खेतीयोग्य जमिनमा क्षति पुगेको छ । स्थानीय बासिन्दाको हितलाई ध्यानमा राखेर उनीहरूलाई फाइदा पुग्नेगरी काम हुनुपर्ने थियो ।
कतिपय स्थानमा त काठ तस्करहरूको स्वार्थमा वनजङ्गल क्षेत्रलाई नै लक्षित गरी खनिएका ग्रामीण सडकहरूले विनाशको बाटो खोलेका छन् । सामुदायिक वनबाट अवैधरूपमा रुख काटेर फाइदा लिने उद्देश्यले मिलेमतो गरेर वनबाट रेखाङ्कन गराई सडक बनाएका घटना नेपालको चुरे क्षेत्रमा प्रशस्तै छन् ।
सन् १९७६ मा पहिलोपटक नेपालमा ग्रामीण सडक निर्माणका लागि एसियाली विकास बैंकले सहयोग गरेको थियो । त्यसपछि स्वीस विकास नियोग, जिटिजेड लगायतका संस्थाले ग्रामीण सडककामा सहयोग गर्न थाले । हाल आएर संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले आफ्नै स्रोत परिचालन गरेर ग्रामीण सडक निर्माण गर्न थालेका छन् ।
दुर्गम क्षेत्रमा बसोबास गर्ने वर्गको पहिचान गरेर उनीहरूलाई विकासको मूल प्रवाहमा जोड्न ग्रामीण सडक निर्माणको महत्व छ तर आवश्यक अध्ययनविना सडक बनाउँदा गम्भीर वातावरणीय असर देखिन थालेको छ ।
मानव श्रमबाट खनिएका सडकहरू वातावरणीय दृष्टिले अनुकूल मानिन्छन् । यस्ता सडकमा भूक्षय, पहिरो र बाढीको समस्या तुलनात्मकरूपमा कम पाइएको छ ।
आजकाल ठूला मेसिनहरूको प्रयोग हुन्छ । मानव श्रमबाट बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि व्यक्तिगत लाभका उद्देश्यले आधुनिक उपकरणको प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।
छिटो बनाउने धुनमा ग्रामीण सडकमा डोजर, एक्स्क्याभेटर जस्ता गह्रौँ उपकरणको प्रयोग हुने गरेको छ । यसले कमलो र भिरालो प्रकृतिको चुरे तथा महाभारत पर्वतीय क्षेत्रका सयौँ स्थानमा वनजङ्गल र खेतीयोग्य जमिनमा क्षति पुगेको छ । स्थानीय बासिन्दाको हितलाई ध्यानमा राखेर उनीहरूलाई फाइदा पुग्नेगरी काम हुनुपर्ने थियो ।
वनजङ्गल, खेतबारी, पानीका स्रोत, सुन्दर पर्यटकीय क्षेत्र लगायतका स्थानलाई क्षति नपुर्याई वातावरणीय र प्राविधिक दृष्टिले समेत अनुकूल हुनेगरी ग्रामीण सडक निर्माण हुनुपर्ने थियो ।
पहाडै, पहाडले भरिएको सुन्दर देश नेपालको पर्वतीय क्षेत्र केही वर्षयता विकासको नाममा कुरूप बन्दै गएको छ । कोमल भूबनोटयुक्त स्थानमा सडक निर्माण गर्दा दिगो र संरक्षणमुखी हरित सडकको अवधारणा कडाइका साथ लागु गर्नुपर्छ ।
तर, यसतर्फ ध्यान दिएको पाइँदैन । आजकाल जिल्ला यातायात गुरुयोजनामा नपरेका स्थानबाट सडक निर्माण गर्दा कममात्र सञ्चालनमा आउने, सम्भ्रान्त वर्गलाई फाइदा हुनेजस्ता मौसमी सडकको निर्माण हुने गरेको पाइन्छ ।
अवैज्ञानिक तरिकाले ग्रामीण सडक बनाउनुको अल्पकालीन र दीर्घकालीन असर परेको देखिन्छ । भूक्षय बढेको छ । वातावरणीय एवं जलाधारीय अवस्थामा ह्रास आएको छ । सडक बनाउँदा जथाभावी फालिएका ढुङ्गा, माटो, गिटीका कारण खेतीयोग्य भूमि पुरिएर उत्पादनमा ह्रास आएको छ । वनजङ्गलको विनाश बढेको छ । वन्यजन्तु र बहुमूल्य जडिबुटीहरू सङ्कटापन्न हुँदैछन् ।
सडकमा पानी बग्ने नाली बनाइएको छैन । टेवा पर्खाल छैन । वातावरण संरक्षणका उपायबारे अध्ययन छैन । इन्जिनियरिङ छैन । न्यूनतम प्राविधिक मापदण्ड पनि पूरा नगरी सडक खनिएका छन् । मर्मतसम्भार छैन । भेलको उचित निकास नहुँदा सडक नै नालामा परिणत हुने र सडकबाटै पहिरो खस्ने गरेको छ ।
वर्षातको समयमा त ग्रामीण सडकहरू भत्किएर गाडी नै नचल्ने अवस्थामा पुगेका हुन्छन् । स्थानीयस्तरमा सडकका नाममा ठूलो रकम खर्च हुने गरेको छ ।
ग्रामीण सडक निर्माणका क्रममा देखिएका समस्याहरू अध्ययन गर्दै सुधार गर्न आवश्यक छ । ग्रामीण सडक दिगो बनाउन सकेमात्र वास्तविक रूपमा यातायात सुविधा पुग्नेछ । सडक निर्माण, विस्तार, स्तरोन्नति तथा पुनस्र्थापनामा स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्न सकेमात्र लक्ष्य हासिल गर्न मद्दत पुग्नेछ ।
सडकको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरण परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गराउनु पर्दछ । योजना तर्जुमा गर्दा सबै सरोकारवालाको सहभागिता अनिवार्य गराउनुपर्छ ।
मनसुनजन्य प्रकोपका कारण मानवीय क्षति हुनेमा नेपाल दक्षिण एसियाली देशहरूमध्ये उच्च जोखिमयुक्त मुलुक मानिन्छ । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र स्थानीय बासिन्दाहरूबीच समन्वय र सहकार्य गर्दै प्राकृतिक वातावरण संरक्षणसहितको दिगो विकासको लहर चलाउन सकिन्छ ।
सडक निर्माणसँगै गरिब र सीमान्तकृत समुदायको लागि आयआर्जनका कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्छ । सडक संरक्षणका उपायहरू अपनाउँदै वातावरण संरक्षणमा पनि पर्याप्त ध्यान दिनु आवश्यक हुन्छ ।
पहाडै, पहाडले भरिएको सुन्दर देश नेपालको पर्वतीय क्षेत्र केही वर्षयता विकासको नाममा कुरूप बन्दै गएको छ । कोमल भूबनोटयुक्त स्थानमा सडक निर्माण गर्दा दिगो र संरक्षणमुखी हरित सडकको अवधारणा कडाइका साथ लागु गर्नुपर्छ । समयमै यसतर्फ ध्यान दिन सकिएन भने नेपालको पर्वतीय क्षेत्र भूक्षय, पहिरो, वन विनाशजस्ता वातावरणीय समस्याका कारण जीर्ण बन्दै जानेछ ।
विकासका नाममा अवैज्ञानिक ढङ्गले खनिएका ग्रामीण सडक विनाश निम्त्याउने माध्यममात्र बन्नेछन् । विगतमा जेजस्ता कमीकमजोरी भए पनि सुधार गर्दै अघि बढ्न सकिन्छ । अहिले सङ्घमा र सातैवटा प्रदेशमा एकल बहुमतका सरकार छन् । देशमा ७५३ वटा स्थानीय तहका सरकार छन् । यी सबैले आआफ्ना ठाउँबाट ध्यान पुर्याउन सक्छन् ।
मनसुनजन्य प्रकोपका कारण मानवीय क्षति हुनेमा नेपाल दक्षिण एसियाली देशहरूमध्ये उच्च जोखिमयुक्त मुलुक मानिन्छ । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र स्थानीय बासिन्दाहरूबीच समन्वय र सहकार्य गर्दै प्राकृतिक वातावरण संरक्षणसहितको दिगो विकासको लहर चलाउन सकिन्छ । विकासका नाममा हुने मानवीय क्षति कम गर्न सकिन्छ । मानवीय गतिविधिका कारणले हुने प्रकोपहरू न्युनीकरण गर्न सकिन्छ ।
आज हामी सबैका सामु प्रश्न खडा भएको छ– बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपका घटना आफैँ भएको कि हाम्रै असावधानीले निम्त्याएको ? यस प्रश्नबारे गम्भीरतापूर्वक मनन गरे समाधान निस्किने छ ।
प्रतिक्रिया